रमजानको जस्तो लामो व्रतले व्रतालुको शरीरमा कस्तो असर पार्न सक्छ?

मानव शरीर
तस्बिरको क्याप्शन, मुस्लिमहरूले ३० दिनसम्म रमजानको अवसरमा सूर्योदय देखि सूर्यास्तसम्म व्रत बस्छन्
    • Author, अहमेन खवाजा
    • Role, बीबीसी
  • Published
  • पढ्ने समय: ५ मिनेट

प्रत्येक वर्ष दशौँ लाख मुस्लिमहरूले ३० दिनसम्म रमजानको अवसरमा सूर्योदय देखि सूर्यास्तसम्म खानपिन नगरी व्रत बस्ने गर्छन्।

पछिल्ला वर्षहरूमा उत्तरी गोलार्द्धमा रमजान गर्मी याममा परेको थियो।यो वर्ष चाहिँ वसन्त याममा परेको छ।

अर्थात् केही देशहरूमा दिन छोटा हुन्छन् अनि देश हेरीकन झिसमिसे बिहानदेखि साँझसम्म करिब १२ देखि १७ घण्टाको अवधि हुन्छ। के यसले व्रतालुको शरीरलाई राम्रो गर्छ त? तीस दिन यसरी उपवास बस्दा शरीरमा कस्तो प्रभाव पर्छ?

सुरुका केही दिन - सबभन्दा कठिन

खानेकुरा
तस्बिरको क्याप्शन, व्रत बस्दा पहिले शरीरले कलेजोमा जम्मा भएका ग्लुकोजको प्रयोग गरेर ऊर्जा प्रदान गर्छ

सबभन्दा पछिल्लो पटक खाना खाएको करिब ८ घण्टा बितेपछि मात्र प्राविधिक हिसाबमा तपाईँको शरीर ‘व्रत’को चरणमा पुग्छ।

यति समयमा पेटले खानेकुराबाट पोषक तत्व सोस्ने काम सक्छ।

त्यसपछि शरीरले कलेजो तथा मांसपेशीमा जम्मा भएका ग्लुकोजको प्रयोग गरेर ऊर्जा प्रदान गरिरहन्छ।

ग्लुकोजको भण्डार रित्तिएपछि शरीरले बोसोजस्ता चिल्लो पदार्थको उपयोग गरेर ऊर्जा निकाल्छ।

मानिस
तस्बिरको क्याप्शन, शरीर व्रतसँग अभ्यस्त नभएसम्म सुरुका केही दिन सबभन्दा कठिन हुन्छन्

शरिरले चिल्लो पदार्थ प्रयोग गर्न थालेपछि त्यसले मानिसको तौल घटाउन सघाउँछ, कोलेस्टरल स्तर घट्छ तथा डाइबिटिजको जोखिम कम हुन थाल्छ।

तर रगतमा चिनीको मात्रा घट्दा कमजोरी र थकान हुन थाल्छ।

टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने तथा सास गन्हाउने हुन थाल्छ।

यतिबेला चर्को भोक लागेको अनुभव हुन्छ।

३-७ दिन - पानीको मात्रा कम हुने तर्फ सजग

जब शरीर व्रतसँग अभ्यस्त हुँदै जान्छ, चिल्लो पदार्थ प्रयोग हुन्छ र चिनी तत्वमा परिणत हुन्छ।

व्रतका समयमा तरल पदार्थ नपिएको अवस्थामा बीचबीचमा पानी लिइरहनुपर्छ नत्र पानीको मात्र कम हुँदै गएर 'डिहाइड्रेशन'को अवस्था निम्तन्छ।

पानी
तस्बिरको क्याप्शन, व्रतको अवधिमा पनि पानी पिउनु जरुरी हुन्छ

व्रतालुको खानामा उचित परिमाणमा ‘ऊर्जा दिने खाना’ जस्तो कि कार्बोहाइड्रेट तथा केही चिल्लो पदार्थ हुनुपर्छ।

साथै सन्तुलित आहार हुनेगरी केही प्रोटिन, नुन तत्व र पानी पनि हुनुपर्छ।

८-१५ दिन – अभ्यस्त बन्दै

तेस्रो चरणमा आइपुग्दासम्म व्रतालुले आफ्नो मनस्थितिमा सुधार हुँदै आएको पाउँछन् जब शरीर व्रतप्रति अभ्यस्त बन्दै जान्छ।

क्याम्ब्रिजस्थित एडेनब्रुक्स अस्पतालका एनेस्थेसिया तथा सघन उपचारका कन्सल्ट्यान्ट डाक्टर रजिन महरुफ भन्छन् यसका अन्य फाइदा पनि छन्।

खानेकुरा
तस्बिरको क्याप्शन, धेरै क्यालरीयुक्त खानेकुराले शरीरमा नकारात्मक असर पर्नसक्छ

“हामी सामान्य दैनिक जीवनमा अधिक क्यालरी ग्रहण गरिरहन्छौँ। यसले शरीरलाई आफ्नो मर्मत गर्नेजस्ता कैयन् काम गर्न अवरोध उत्पन्न हुनसक्छ,” उनले भने।

“यस्ता अवस्थालाई व्रतले सुधार गराउँछ। शरीरले आफ्ना अन्य काममा ध्यान दिन पाउँछ।”

“त्यसैले व्रत बस्दा यस्ता फाइदाका अतिरिक्त सङ्क्रमणबाट जोगिन र त्यसको प्रतिरोध गर्न पनि सघाउ पुग्छ।”

१६-३० दिन – शरीरको आन्तरिक सफाइ

रमजनाको आधा समय बित्दै गर्दा व्रतालुको शरीर व्रतसँग पूर्ण अभ्यस्त भइसक्छ।

कलेजो, कोलन, मिर्गौला तथा छाला 'डिटक्सिफिकेशन' वा विषाक्त पदार्थको सरसफाइको प्रक्रियाबाट गुज्रनेछन्।

“यो चरणमा अङ्गहरूको कार्य उच्च स्तरमा फर्किसक्छ। तपाईँको स्मरणशक्ति तथा एकाग्रतामा सुधार आउँछ र तपाईँमा धेरै ऊर्जा सञ्चार हुनेछ,” डा महरुफले भने।

“तपाईँको शरीर ऊर्जाकै निम्ति प्रोटिन उपयोग गर्ने तर्फ लाग्नु हुँदैन। त्यो भनेको ऊर्जाकै लागि मांसपेशीको खपत हुने चरण हो। त्यस्तो अवस्था केही दिन तथा हप्तासम्म लम्बिने लामो समयको निरन्तर भोको रहने स्थितिबाट पैदा हुन्छ।”

“किनकी रमजान भनेको सबेरै बिहानदेखि बेलुकीसम्मको मात्र व्रत हो, त्यसमा ऊर्जा दिने खाना खान र तरल पदार्थ पिउने यथेष्ट अवसर हुने गर्छन्। त्यसले तौल घटाउन तर मांसपेशी दुरुस्तै राख्न सघाउँछ।”

उसोभए स्वास्थ्यका लागि व्रत उचित हो?

डा महरुफ भन्छन् हो, तर केही शर्त छन्।

“व्रत हाम्रो स्वास्थ्यका लागि ठीक हो किनभने यसले हामीलाई के र कहिले खाने भन्ने विषयमा केन्द्रीत हुन सघाउँछ। तर एक महिनाभरि केही अवधि व्रत बस्नु त ठीकै होला तर यस्तो निरन्तर गरिरहन भने हुँदैन।”

परिवारसँग खानपान
तस्बिरको क्याप्शन, रमजान भनेको सबेरै बिहानदेखि बेलुकीसम्मको मात्र व्रत हो, त्यसमा ऊर्जा दिने खाना खान र तरल पदार्थ पिउने यथेष्ट अवसर हुने गर्छन्

“आफ्नो तौल घटाउनका निम्ति निरन्तर भोको बस्नु ठीक किन हुँदैन भने त्यसबाट अन्तत: शरीरलाई ऊर्जाका निम्ति मांसपेशीको उपयोग गर्नेतर्फ अग्रसर गराउँछ।”

“यो अस्वस्थकर हो।”

रमजानको अतिरिक्त उनले ५:२ डाइट भनिने – एक सातामा केही दिन व्रत बस्ने र अरू दिन स्वस्थ्यकर खाने – अभ्यास पनि उचित विकल्प हुने बताए। त्यसो गर्नु निरन्तर महिनौँसम्म व्रत बस्नुभन्दा उचित हुने उनले बताए।

“सही तरीकाले बस्ने हो भने रमजानको व्रतका बेला तपाईँको शरीरलाई हरेक दिन आवश्यक ऊर्जा आपूर्ति भइरहन्छ। जसको अर्थ भनेको तपाईँको तौल त घट्छ तर मूल्यवान् मांसपेशीका तन्तुहरू नष्ट नगरिकनै।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।