इन्सुलिन रेजिस्टेन्स के हो र रमजानको उपवासले यसलाई कसरी असर गर्छ?

इन्सुलिन रेजिस्टेन्स
    • Author, सोमाए नसर
    • Role, बीबीसी न्यूज अरेबिक
  • Published

विगत दुई वर्षमा "इन्सुलिन रेजिस्टेन्स" अर्थात् शरीरले इन्सुलिन प्रतिरोध गर्ने अवस्थाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा धेरै नै कुराहरू भएका छन्।

यस्तो अवस्थाबाट जोगिने वा यसलाई नियन्त्रण गर्ने दाबी गर्दै व्यायाम र आहारसहित सुझाइएका किताबहरू प्रकाशित भएका छन् र भिडिओहरू शेअर भएका छन्।

यो शब्दावलीले धेरैभन्दा धेरैको ध्यानाकर्षण गरेको छ किनभने इन्सुलिन रेजिस्टेन्सले टाइप २ डायबिटिज लगायत थुप्रै गम्भीर समस्याहरू निम्त्याउन सक्छ।

इन्सुलिन रेजिस्टेन्स कसरी देखापर्छ र यसका लक्षणहरू के हुन् ? के यो निको हुनसक्छ? के उपवास बस्दा यसको नियन्त्रणका लागि मद्दत पुग्छ?

रक्त कोषहरू

इन्सुलिन के हो?

प्यान्क्रियाज (अग्न्याशय) ले स्राव गराउने मानव शरीरको एउटा महत्त्वपूर्ण हर्मोन इन्सुलिन हो।

यसको काम शरीरमा ग्लुकोजको स्तर नियमन गर्ने हो। शरीरमा ग्लुकोज कति राख्ने र ऊर्जाका लागि कति प्रयोग गर्ने भन्ने काम इन्सुलिनले गर्छ।

प्यान्क्रियाजले एकदमै थोरै इन्सुलिन उत्पादन गर्‍यो भने त्यसले थुप्रै स्वास्थ्य समस्या निम्त्याउँछ र शरीरले राम्ररी काम गर्न सक्दैन।

मानव शरीर

इन्सुलिनले शरीरमा यी तरिकाले काम गर्छ:

  • मानिसले खाएको खानेकुरालाई शरीरले ग्लुकोजमा परिवर्तन गर्छ जुन शरीरका लागि ऊर्जाको प्राथमिक स्रोत मानिन्छ
  • ग्लुकोज रगतमा जान्छ जसले प्यान्क्रियाजलाई इन्सुलिन उत्पादनका लागि सङ्केत गर्छ
  • इन्सुलिनले रगतमा रहेको ग्लुकोजलाई मांसपेशी, बोसो र कलेजोको कोशिकामा प्रवेश गर्न मद्दत गर्छ ताकि त्यो शरीरमा ऊर्जाका लागि प्रयोग गर्न सकियोस् वा पछिका लागि भण्डारण गर्न पनि सकियोस्
  • जब ग्लुकोज शरीरको कोशिकामा प्रवेश गर्छ यसको मात्रा रगतमा घट्छ र यसले प्यान्क्रियाजलाई इन्सुलिन उत्पादन रोक्न सङ्केत गर्छ
इन्सुलिन

इन्सुलिन रेजिस्टेन्सको अर्थ के हो?

इन्सुलिन रेजिस्टेन्स एउटा जटिल प्रक्रिया हो जसमा मांसपेशी, बोसो र कलेजोमा रहेका कोशिकाले इन्सुलिनलाई प्रतिक्रिया जनाउँदैनन्।

यसले गर्दा शरीरमा रगतबाट प्रभावकारी रूपमा ग्लुकोज लिन र भण्डारण गर्न यिनीहरूलाई रोक्छ।

त्यसपछि प्यान्क्रियाजले रगतमा भएको ग्लुकोजको अत्यधिक मात्रालाई परास्त गर्न थप इन्सुलिन उत्पादन गर्छ। यो अवस्थालाई हाइपरइन्सुलिनेमिया भनिन्छ।

जबसम्म प्यान्क्रियाजले कोशिकाको कमजोर प्रतिक्रियालाई जित्न पर्याप्त इन्सुलिन उत्पादन गर्छ, रगतमा चिनीको मात्रा स्वस्थकर तहमै रहन्छ।

यद्यपि, इन्सुलिन वृद्धिमा कोशिकाको प्रतिरोध भयो भने त्यसले रगतमा ग्लुकोजको मात्रा धेरै बनाउँछ जसले समय हुँदै जाँदा टाइप टु डायबिटिज र अन्य स्वास्थ्य समस्याको अवस्था निम्त्याउँछ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका कन्सल्टेन्ट फिजिसियन फ्राङ्कलिन जोसेफले इन्डोक्राइनोलोजी, डायबिटिज र इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेका छन्। उनी 'डाक्टर फ्राङ्कस् वेट लस क्लिनिक' का संस्थापक पनि हुन्। उनले इन्सुलिन रेजिस्टेन्स "जेनेटिक, जीवनशैली र वातावरणीय कारणहरूबाट हुने एउटा जटिल अवस्था" भएको बताएका छन्।

तर ठ्याक्कै कारण चाहिँ व्यक्ति व्यक्तिमा फरक पर्छ।

फ्राङ्कलिन जोसेफ

उनी यसका कयौँ कारणहरू रहेको बताउँछन्:

  • मोटोपना: शरीरमा धेरै बोसो हुँदा वा खराब फ्याट हुँदा त्यो इन्सुलिन रेजिस्टेन्ससँग प्रत्यक्ष जोडिन्छ
  • शारीरिक गतिविधि नहुनु: नियमित रूपमा शारीरिक गतिविधि धेरै नहुँदा पनि इन्सुलिन रेजिस्टेन्स बढ्छ
  • वंशाणुगत: केही मानिसमा वंशाणुगत रूपमै इन्सुलिन रेजिस्टेन्स बढी हुन्छ
  • खराब खाना: प्रशोधित खाना, कार्बोहाइड्रेट र चिनीले पनि इन्सुलिन रेजिस्टेन्स गराउँछ। यी खानेकुराहरूले रगतमा चिनीको मात्रा ह्वात्तै बढाइदिन्छ र त्यसले समयसँगै इन्सुलिनको उत्पादन बढ्दै जान्छ
  • तनाव: तनावका कारण बन्ने कोर्टिसोलजस्तो हर्मोनले पनि इन्सुलिनको क्षमतालाई असर गर्छ र त्यसकारण रगतमा चिनीको मात्रा अनुगमन गर्न नसक्दा त्यसले इन्सुलिन रेजिस्टेन्स गराउँछ
  • निद्रामा बाधा: कम निद्रा वा गहिरो निद्रा नपर्दा पनि त्यसले इन्सुलिन संवेदनशीलतालाई असर गर्छ। कम निदाउँदा त्यसले हर्मोनको तहलाई असर गर्छ र त्यसले पनि इन्सुलिन रेजिस्टेन्स बढाउँछ।
  • केही खास स्वास्थ्य समस्या: पोलिसिस्टिक ओभरी सिन्ड्रोम अर्थात् पीसीओएसजस्ता स्वास्थ्य समस्या र कलेजोमा बोसोसम्बन्धी रोगले पनि इन्सुलिन रेजिस्टेन्सको जोखिम बढाउँछ
  • उमेर ढल्किँदै जानु: उमेर बढ्दै जाँदा मानिसको कोशिकाले इन्सुलिनप्रति कम प्रतिक्रिया जनाउँछन् जसले इन्सुलिन रेजिस्टेन्सको अवस्था निम्त्याउँछ
रमजान

रमजान उपवास

रमजानको महिनामा धेरै मुस्लिमहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म उपवास बस्छन्।

परोपकारी संस्था डायबिटिज यूकेले स्वास्थ्य समस्या भएका मानिसहरूलाई उपवास बस्दा सचेत रहन आह्वान गरेको छ।

"डायबिटिज भएका बिरामीहरूले आफ्नो चिकित्सकको टोलीसँग सल्लाह गरेर मात्रै उपवास बस्नु महत्त्वपूर्ण हुन्छ," युनिभर्सिटी हस्पिटल बर्मिङ्घमका क्लिनिकल डाइरेक्टर प्राध्यापक वासिम हनिफले भने। उनी डायबिटिज, इन्डोक्राइनोलोजीका प्राध्यापक हुन्।

"डायबिटिज भएका मानिसले उपवास बस्नु एकदमै खतरनाक हुन्छ किनभने यसले थुप्रै स्वास्थ्य समस्या निम्त्याउन सक्छ।"

प्राध्यापक जोसेफले केही अध्ययनले उपवास बस्दा त्यसले इन्सुलिनको संवेदनशीलतामा सुधार ल्याउने बताएका छन्। खासगरी इन्सुलिन रेजिस्टेन्स र डायबिटिज टाइप टु भएका व्यक्तिको हकमा त्यस्तो हुने सुझाइएको छ।

सँगै केही मानिसले भने उपवास बस्ने अवधिभर वजन कम भएको र शरीरको बोसोमा परिवर्तन आएको महसुस गरेका छन्। यी परिवर्तनहरूले खासगरी मोटोपना भएका व्यक्तिहरूमा इन्सुलिन संवेदनशीलता र मेटाबोलिजम्‌मा असर पारेको छ।

रमजानमा उपवास बस्दा इन्सुलिन रेजिस्टेन्स र मेटाबोलिजम्‌मा व्यक्तिपिच्छे फरक तरिकाले असर गर्ने उनी बताउँछन्। ती मानिसहरूको उमेर, लिङ्ग, पहिल्यैदेखिको स्वास्थ्य अवस्था, खाने बानी र कति शारीरिक अभ्यास गर्ने गरेको छ भन्नेमा भर पर्ने उनी बताउँछन्।

"रमजानमा उपवास बस्नेहरू जसमा डायबिटिज र अन्य मेटाबोलिक अवस्था छ उनीहरूले आफ्नो शरीरलाई नजिकबाट नियाल्नुपर्छ र स्वास्थ्यकर्मीबाट सहायता खोज्नुपर्छ। ताकि उपवास बस्दाको अवस्थामा उपवासको सुरक्षित अभ्यास होस् र स्वास्थ्यमा सक्दो ख्याल पुगोस्।"

चन्द्रमा

स्वास्थ्यमा पुग्ने फाइदा बढी होस् भन्नका लागि, "चाहे त्यो निश्चित घन्टा उपवास (इन्टरमिटेन्ट फास्टिङ) बस्दा होस् वा रमजानको उपवास बस्दा नै किन नहोस्, स्वस्थ खाने बानी अपनाउनुपर्छ ” भन्ने सुझाव छ पोषणविद् रीम अल-अब्दल्लतको।

पोषणविद् रीम अल-अब्दल्लत

इन्सुलिन रेजिस्टेन्सबाट पीडितहरूका लागि निश्चित अवधि केही नखाएर उपवास गर्नु ठीक हुन्छ?

इन्टरमिटेन्ट फास्टिङ अर्थात लामो समय उपवासको धारणाले पछिल्लो वर्षहरूमा विश्वभरि नै धेरैको ध्यान तानेको छ। चिकित्सक र पोषणविद्हरूले नै यसका फाइदाबारे बोल्ने गरेका छन्।

यसले धेरै घन्टा नखाने अर्थात् कम घन्टामा खाने र लामो समय पेट खाली राख्ने अवधारणा अपनाउँछ।

डाक्टर नीतिन कपूर भारतको तामिलनाडु राज्यको क्रिस्टियन मेडिकल कलेज युनिभर्सिटीमा इन्डोक्राइनोलोजीका प्राध्यापक हुन्।

केही मेडिकल अध्ययनहरूले इन्टरमिटेन्ट फास्टिङको मेटाबोलिक फाइदा भएको देखाएको उनी बताउँछन्। तर यो सबैका लागि नसुहाउने र कुनै पनि डाइट व्यक्तिअनुसार फरक हुने बताउँछन्।

कुनै पनि डाइट अथवा उपवास "लामो समयसम्म जारी राख्नुपर्ने" उनी बताउँछन्।

"के तपाईँ यो जीवनभरिका लागि गर्नसक्नु हुन्छ?" उनी प्रश्न गर्छन्।

"तपाईँ १५ किलोग्राम वजन घटाउन चाहनुहुन्छ तर जब डाइट रोक्नुहुन्छ तपाईँ पुरानै अवस्थामा फर्किनुहुन्छ।"

प्राध्यापक जोसेफ इन्टरमिटेन्ट फास्टिङबारे अझै अनुसन्धान भइरहे पनि केही अध्ययनहरूले भने यसले इन्सुलिन संवेदनशीलता सुधार्न मद्दत गर्ने बताउँछन्।

“उदाहरणका लागि सन् २०१५ को सेल मेटाबोलिजम् नामक जर्नलमा प्रकाशित अध्ययनले एक दिन बिराएर गरिने उपवासमा मोटोपना नभएका व्यक्तिमा इन्सुलिन संवेदनशीलतामा सुधार हुने तर वजनमा फेरबदल नहुने पत्ता लगाएको थियो।”

इन्टरमिटेन्ट फास्टिङले वजन घटाउन सक्छ र त्यो इन्सुलिन संवेनशीलता र मेटाबोलिजम् सुधारमा जोडिएको हुनसक्छ।

सुगरको मात्रा

इन्सुलिन रेजिस्टेन्सका लक्षणहरू

इन्सुलिन रेजिस्टेन्सको प्रारम्भिक लक्षण सुरुमा ख्याल नगर्न सकिन्छ।

यद्यपि इन्सुलिन रेजिस्टेन्स छ भन्ने कुराको संकेत दिने केही लक्षणहरू हुन्छन्।

प्राध्यापक जोसेफका अनुसार यी लक्ष्णमा धेरै भोक लाग्नु, थकित हुनु, वजन घटाउन कठिन हुनु, छालामा रहेका दाग गाढा हुनु (खासगरी घाँटी, काखी र जाङ्घमा), रक्तचाप उच्च हुनु, ट्राइग्लिसेराइडको मात्रा उच्च हुनु (नराम्रो कोलेस्ट्रोल), एचडीएल कोलेस्ट्रोल कम हुनु (राम्रो कोलेस्ट्रोल) र पोलिसिस्टिक ओभरी सिन्ड्रोम पीसीओएस पर्छ।

उनले इन्सुलिन रेजिस्टेन्सबाट टाइप टु डाइबिटिज हुन लागेको हो भने रगतमा ग्लुकोजको मात्रा एकदमै बढ्ने र अन्य लक्षण पनि मानिसहरूले अनुभव गर्नसक्ने बताए।

जस्तै पिसाब लागिरहने, पानी प्यास लाग्ने र धमिलो देख्ने ती लक्षणमा पर्छन्।

प्राध्यापक जोसेफले यी लक्षण र संकेतहरू "एकदेखि अर्को व्यक्तिमा फरक पर्ने र इन्सुलिन रेजिस्टेन्स भएका सबै मानिसले त्यही अनुभव नगर्ने"मा जोड दिए।

"साथै, यी सङ्केतहरू अन्य स्वास्थ्य समस्याको पनि हुनसक्ने भएकोले त्यसबारे पत्ता लगाउन चिकित्सककै परामर्श लिनुपर्छ।

"इन्सुलिन रेजिस्टेन्स सुरुमै पत्ता लगाउने र त्यसको व्यवस्थापन टाइप टु डाइबिटिज र मुटुसम्बन्धी रोगजस्ता जटिल समस्याबाट जोगिन महत्त्वपूर्ण हुन्छ।”

रगतमा सुगरको मात्रा

थप गम्भीर अवस्थाहरू निम्याउनसक्ने सम्भावना के हुन्छ?

प्राध्यापक जोसेफले इन्सुलिन रेजिस्टेन्स भएका मानिसहरूमा यदि उक्त अवस्थाको उपचार समयमै नगरे वा व्यवस्थापन नगरे अन्तत: टाइप टु डाइबिटिज हुने सम्भावना ७० देखि ८० प्रतिशत रहने सम्भावना विभिन्न अध्ययनहरूले देखाएको बताएका छन्।

“तर यो वंशाणुगत, मोटोपना, शारीरिक अभ्यास नहुनु, खान्की, उमेर र जातजातिजस्ता थुप्रै कुरामा भर पर्छ।

"दक्षिण पूर्वी एसिया जस्तो खास समूहमा टाइप टु डाइबिटिज हुने सम्भावना ककेशियनहरूमा भन्दा बढी हुन्छ,” उनले थपे।

ग्लाइसेमिक प्रणाली के हो?

ग्लाइसेमिक इन्डेक्स एउटा यस्तो प्रणाली हो जसले रगतमा चिनीको मात्रामा पुग्ने असरका आधारमा खानेकुराको वर्गीकरण गर्छ।

हामीले खाएको खानेकुराले हाम्रो रगतमा ग्लुकोजको मात्रा छिट्टै, मध्यम वा विस्तारै कसरी खपत हुन्छ भन्ने कुराको सङ्केत गर्छ।

शरीरमा विस्तारै टुक्रिने प्रकृतिको कार्बोहाइड्रेटमा थोरै ग्लाइसेमिक इन्डेक्स हुन्छ। केही तरकारी, फलफूल, गुलियो नमिसाइएको दुध, होलमिल ब्रेड र सग्लो अन्नयुक्त सिरियलहरूमा पनि कम ग्लाइसेमिक इन्डेक्स हुन्छ। अर्का तर्फ, चिनी, चिनीजन्य खानेकुरा, पेय पदार्थ, आलु, सेतो भात भनेका ग्लाइसेमिक इन्डेक्स धेरै भएका खानेकुरा हुन् जसले रगतमा चिनीको मात्रा ह्वात्तै बढाउँछ।

यद्यपि, ग्लाइसेमिक इन्डेक्सकै आधारमा कुनै खानेकुरा स्वस्थ हो कि होइन भन्न सकिँदैन। धेरैजसो चक्लेटहरूमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ तर क्यालोरी धेरै हुन्छ। साथै, ग्लाइसेमिक इन्डेक्स धेरै भएका खानेकुरा अस्वस्थकर हुन्छ भन्ने पनि छैन। उदाहरणका लागि खरबुजा जस्तो फलमा ग्लाइसेमिक इन्डेक्स धेरै हुन्छ तर त्यो स्वस्थकर हुन्छ। त्यसैले खानेकुरा स्वस्थ र सन्तुलित छ भन्नेमा ध्यान दिनुपर्छ।

इन्सुलिन जाँच

के इन्सुलिन रेजिस्टेन्स उल्टिन सक्छ?

“जीवनशैली परिवर्तन गर्दा वा औषधिले पनि इन्सुलिन रेजिस्टेन्स उल्टिन सक्ने वा कम्तीमा त्यसमा उल्लेख्य रूपमा सुधार आउँछ,” प्राध्यापक जोसेफ भन्छन्।

रगतमा चिनीको मात्रा

इन्सुलिन रेजिस्टेन्स हुनेहरूलाई "आफ्नो खान्कीमा एकदमै ध्यान दिन र त्यसका लागि गुलियो र स्टार्च धेरै भएका खानेकुरा नखान" पोषणविद् रीम अल-अब्दल्लतको सुझाव छ।

जोसेफ र अल-अब्दल्लतको दोस्रो सुझाव भनेको नियमित शारीरिक अभ्यास गर्नु भन्ने छ।

वजन घटाउने र त्यो पनि पेट वरपरको मोटोपना घटाउँदा पनि इन्सुलिन संवेदनशीलतामा सुधार आउन सक्छ।

पोषणयुक्त खानेकुरा

प्राध्यापक जोसेफका अनुसार क्रोनिक स्ट्रेसको व्यवस्थापन पनि एकदमै महत्त्वपूर्ण हुन्छ: “ध्यान, योग, गहिरो स्वास लिने अभ्यास, प्रकृतिमा समय बिताउने जस्ता विधि अपनाएर तनाव व्यवस्थापन गर्ने स्वस्थकर तरिका खोज्न सकिन्छ।”

पर्याप्त मात्रामा निदाउनु पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

व्यायाम

अन्तिममा, मेटफोरमिनजस्तो औषधिहरूले इन्सुलिन रेजिस्टेन्स र टाइप टु डाइबिटिजजस्ता अवस्था कम गर्न मद्दत गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।