युक्रेन युद्ध: ९२ युक्रेनी सैन्य अधिकारीविरुद्ध रुसले चलायो मुद्दा

अलेक्जान्डर बस्ट्रिके रुसी अनुसन्धान समितिका प्रमुख हुन
तस्बिरको क्याप्शन, अलेक्जान्डर बस्ट्रिकिन रुसी अनुसन्धान समितिका प्रमुख हुन्
Published

मस्कोले युक्रेनी सशस्त्र फौजका ९२ सदस्यमाथि मानवताविरुद्धको अपराधमा मुद्दा चलाएको रुसी अनुसन्धान समितिका प्रमुखले बताएका छन्।

अलेक्जान्डर बस्ट्रिकिनले रुसी सरकारी समाचारसंस्था रोशिस्काया गज्येटासँग बोल्दै १,३०० वटा फौजदारी अनुसन्धान सुरु भएको बताएका छन्।

उनले एउटा अन्तर्राष्ट्रिय न्यायाधिकरण गठन गर्ने प्रस्ताव अघि सारेका छन्।

रुसका परम्परागत साझेदारहरू इरान, सिरिया र बोलिभिया उक्त ट्राइब्यूनलको पक्षमा हुने उनको अपेक्षा छ।

युक्रेनले पनि युद्ध अपराधसम्बन्धी घटनामा छुट्टै अनुसन्धान सुरु गरिरहेको छ।

अभियोग

बस्ट्रिकिनका अनुसार अहिलेसम्म ९२ जनाविरुद्ध अभियोग दर्ता भइसकेको छ भने थप ९६ जनाको खोजी भइरहेको छ।

खोजी गरिएकामध्ये ५१ जना फोर्स कमान्डर हुन्।

रुसी ट्याङ्क

उक्त रुसी पत्रिकासँग बोल्दै उनले ती युक्रेनीहरूले "शान्ति र मावताको सुरक्षाविरुद्ध अपराध" गरेको बताएका छन्।

बीबीसीले उक्त अन्तर्वार्तामा गरिएका दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

किएभले पनि त्यसबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेको छैन।

युक्रेनमा पनि अनुसन्धान

रुसले युक्रेनमा अतिक्रमण गरेपछि रुसी सैनिकहरूले गरेका भनिएका २१,००० वटा भन्दा धेरै युद्ध अपराध र आघातका घटनाबारे अनुसन्धान भइरहेको युक्रेनले यही महिना बताएको थियो।

रुसी आक्रमण सुरु भएपछि युक्रेनमा मे महिनामा युद्ध अपराधसम्बन्धी पहिलो मुद्दामा सुनुवाइ भएको थियो।

एक युक्रेनी सर्वसाधारण नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै उक्त मुद्दामा एउटा अदालतले रुसी सेनाका एक ट्याङ्क कमान्डरलाई आजीवन कारावासको सजाय सुनाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य

'अपराधस्थल'

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनलाई "अपराधस्थल"को रूपमा व्याख्या गर्दै अनुसन्धानकर्ता र विधिविज्ञान विज्ञहरूलाई युक्रेन पठाएको छ।

क्रेम्लिनले आफूविरुद्ध लागेकोायुद्ध अपराधसम्बन्धी अनि नागरिकलाई निसाना बनाइएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ।

युक्रेन आफैँले आफ्ना पूर्वाधारहरूमा बम हानेर नागरिकहरूको हत्या गरेको आरोप रुसको छ। यद्यपि अन्तर्राष्ट्रिय नेताहरूले त्यस्तो आरोपको खण्डन गर्दै आएका छन्।

के संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त हुनेगरी सुनुवाइको सम्भावना छ भन्ने प्रश्नमा बस्ट्रिकिनले पश्चिमा विश्वले खुला रूपमा "युक्रेनी राष्ट्रवाद"लाई प्रायोजन गरेको बताउँदै त्यसो हुनेमा "निकै संशय लागेको" बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: '१,००० जना भएको ठाउँमा रुसी क्षेप्यास्त्र प्रहार'

मस्कोले लगाएका अरू आरोप

रुसी आक्रमणलाई न्यायोचित देखाउने प्रयासमा मस्कोले बारम्बार युक्रेनमा नवनाजीहरू हावी भएको दाबी गर्दै त्यहाँ "विशेष सैन्य कारबाही" गरिएको तर्क गर्दै आएको छ।

बस्ट्रिकिनले आफूले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय न्यायाधिकरणमा "युक्रेनको विषयमा स्वतन्त्र धारणा" भएका देशहरू -- विशेषतः सिरिया, इरान र बोलिभिया -- हुनुपर्ने बताएका छन्।

सिरिया र इरानले रुसी आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा गत मार्च महिनामा प्रस्तुत प्रस्तावविरुद्ध मतदान गरेका थिए।

बोलिभिया मतदानमा सहभागी भएको थिएन।

युक्रेनको खार्किभमा रुसी आक्रमणपछि सफाइ गर्दै एक महिला
तस्बिरको क्याप्शन, रुसले युक्रेनका विभिन्न आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार तथा बम आक्रमण गर्ने गरेको छ

बस्ट्रिकिनले सयौँ युक्रेनी सैन्य र राजनीतिक व्यक्तित्वबाहेक युक्रेनी स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूविरुद्ध पनि अनुसन्धान भइरहेको बताएका छन्। ती स्वास्थ्य अधिकारीहरूले "आम विनाश" का अस्त्रहरू विकास गरेको उनको आरोप छ।

यूके, संयुक्त राज्य अमेरिका, क्यानडा, द नेदरल्यान्ड्स र जोर्जाबाट आएका सन्दिग्ध 'भाडाका सैनिकहरू' विरुद्ध पनि अनुसन्धान भइरहेको उनले उक्त रुसी पत्रिकालाई बताए।

जुन महिनामा युक्रेनको पक्षमा लडाइँमा सहभागी भएको आरोपमा ब्रिटेनका दुई र मोरक्कोका एक नागरिकलाई रुसी पक्षले पूर्वी युक्रेनमा मृत्युदण्ड दिएको थियो।

ती तीन जनाविरुद्ध भाडाका सैनिक भएको आरोप लागेको थियो। यद्यपति वै ब्रिटिश नागरिकका परिवारले उनीहरू लामो समयदेखि युक्रेनी सेनामा कार्यरत भएको बताएका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाको विमानसँग आकाशमा यसरी भयो जम्काभेट
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: १०० दिनमा के भयो?