शिन्जो आबे: जापानका पूर्व नेताका आरोपित हत्याराले ‘निश्चित संस्थाविरुद्ध तुस राखेका थिए’

जापान हमलाकारी
Published

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले 'निश्चित संस्था' विरुद्ध ईख राखेको बताएका छन्।

ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा रहेको ठानेको र त्यसकै कारण उनलाई गोली हानेको बताएका छन्।

सो समूहको नाम नखुलाईकन प्रहरीले त्यस्तो जानकारी दिएको हो।

एउटा राजनीतिक अभियानमा सम्बोधन गरिरहँदा गोली हानिएका आबेको शुक्रवार बिहान अस्पतालमा निधन भएको थियो।

यामागामीले उनलाई घरेलु बन्दुकले गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

६७ वर्षका आबे जापानका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री थिए।

बन्दुक सम्बन्धी अपराध एकदमै दुर्लभ रूपमा हुने जापानमा भएको उनको हत्या मानिसहरूलाई स्तब्ध बनाएको छ।

आक्रमणको केही बेर अघि लिइएको तस्बिरमा हमलाकारी आबेको पछाडि देखिन्छन्
तस्बिरको क्याप्शन, आक्रमणको केही बेर अघि लिइएको तस्बिरमा हमलाकारी आबेको पछाडि देखिन्छन्

माथिल्लो सदन अन्तर्गत आइतवारका लागितय गरिएको उपचुनावमा लिबरल डिमेक्रेटिक पार्टीको पक्षमा अभियानमा सहभागी भइरहँदा आबेमाथि गोली प्रहार भएको थियो।

लिबरल डेमेक्रेटिक पार्टीका नेता रहेका जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आबेको निधनको खबरले आफू 'निशब्द' भएको भन्दै जापानको लोकतन्त्रले 'हिंसासामु कहिले पनि घुँडा नटेक्ने' बताएका छन्।

उनले थप सुरक्षा व्यवस्थासहित शनिवार चुनावी अभियान सञ्चालन हुने र आइतवारको मतदान जारी रहने बताए।

बन्दुकधारीले भाग्ने प्रयास गरेनन्

प्रहरीले हमलाकारीले आबेलाई नै निशाना बनाउनुको कारणका बारेमा अनुसन्धान गरिरहेका छन्।

उनीहरूले हमलाकारी एक्लैले यो काम गरेका हुन कि होइनन् भन्ने पनि छानबिन गरिरहेको जनाएका छन्।

एक जना राजनीतिक उम्मेदवारको पक्षमा दक्षिणी सडक नारामा सडकको चोकमा उभिएर सम्बोधन गरिरहेका बेला हमलाकारीले आबेलाई पछाडिबाट गोली प्रहार गरेका थिए।

जापान

उक्त घटनास्थलमा खिचिएका तस्बिरमा गोली हान्नुअघि उनी आबे नजिकै उभिरहेको देखिन्छ।

प्रत्यक्षदर्शीहरूले एक जना व्यक्तिले ठूलो बन्दुक बोकेर आबेभन्दा केही मिटर पर हिँडेको र दुई पटक गोली चलाएको देखेको बताएका छन्।

विश्वास नै गर्न नसकिने घटना भएको देखेर छेउछाउमा उभिएका व्यक्तिहरू चिच्याइरहँदा आबे भुईँमा ढलेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, शिन्जो आबेः जब पूर्वप्रधानमन्त्रीमाथि गोली चलेको आवाज सुनियो

त्यसपछि सुरक्षा अधिकारीहरू ती बन्दुकधारीमाथि हाम फालेका थिए। तर हमलाकारीले भाग्ने कुनै प्रयास गरेनन्।

हमलाकारीले के भनेका छन्

आबेको हत्यामा प्रयोग गरिएको बन्दुक धातु र काठले बनेको प्रहरीले जनाएको छ र त्यो एक प्रकारको टेपले बेरिएको थियो।

पछि सन्दिग्ध हमलाकारीको घरमा कैयौँ अरू घरेलु बन्दुक र विस्फोटक सामग्री फेला परेको थियो।

प्रहरीले हमलाकारी बेरोजगार रहेको जनाएका छन्।

समाचार संस्था रोर्यटसका अनुसार हमलाकारीले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्न चाहेको बताएका छन्।

आक्रमणमा प्रयोग गरिएको हतियार
तस्बिरको क्याप्शन, आक्रमणमा प्रयोग गरिएको हतियार

घटनास्थलको भिडिओमा उनले खैरो रङ्गको टी-सर्ट र ट्राउजर लगाएको देखिन्छ।

रक्षा मन्त्रालयका सूत्रहरूलाई उद्धृत गर्दै जापानी प्रसारक एनएचकेले भनेको छ, "सन्दिग्ध सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् र उनले आफैँले बनाएको बन्दुकले गोली हानेका थिए। सन् २००५ देखि ३ वर्षसम्म उनी जापानको सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए।"

अनुसन्धानकर्ताहरूका अनुसार हमलाकारीले एउटा धार्मिक समूहका नेतामाथि आक्रमण गर्ने योजना सुरुमा बनाएका थिए।

आबेको शव टोक्यो लगियो

गोलीका कारण आबेको घाँटी र मुटुमा गम्भीर चोट लागेको थियो। हमला भएको केही मिनेट उनको चेत कायमै रहेको र प्रतिक्रिया जनाइरहेको भनिएपनि उपचारका लागि लैजाँदासम्म उनको महत्त्वपूर्ण अङ्गले प्रतिक्रिया जनाउन छाडेका चिकित्सकहरूले बताएका थिए।

शिन्जो आबे
तस्बिरको क्याप्शन, शिन्जो आबे सबैभन्दा लामो समय सत्ता सम्हाल्ने जापानी प्रधानमन्त्री थिए

उनलाई शुक्रवार नै चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

शनिवार स्थानीय समय अनुसार ६ बजे आबेको शव बोकेको एउटा ठूलो वाहन अस्पतालबाट उनको टोक्योस्थित निवासका लागि गएको देखिएको थियो।

संवाददाताहरू भन्छन् बन्दुक सम्बन्धी हिंसाहरू एकदमै दुर्लभ हुने जापान पछिल्लो हत्याकाण्डले स्तब्ध भएको छ।

तर राजनीतिक नेताहरूले आइतवार हुने राष्ट्रिय सभाको चुनावको अभियानलाई निरन्तरता दिने बताएका छन्।