शिन्जो आबे: गोली लागेर निधन भएका जापानी पूर्वप्रधानमन्त्री नेपाल भ्रमणका लागि 'इच्छुक थिए'

विद्या भण्डारीका साथमा आबे
तस्बिरको क्याप्शन, राष्ट्रपति विद्या भण्डारीका साथमा आबे
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे पदमा रहेकै बेला नेपाल आउन "इच्छुक रहेको" तर "समय र आवश्यक प्रबन्ध मिल्न नसक्दा" उनको भ्रमण हुन नसकेको जापानका लागि नेपालकी निवर्तमान राजदूतले बताएकी छन्।

आबेको गोली प्रहारबाट ६७ वर्षको उमेरमा शुक्रवार हत्या भएको थियो।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।

गम्भीर घाइते भएका उनको पछि अस्पतालमा मृत्यु भएको बताइएको छ।

नेपालप्रति लगाव

केही महिनाअघि मात्र आफ्नो कार्यकाल सकिएर नेपाल फर्किएकी जापानका लागि निवर्तमान नेपाली राजदूत प्रतिभा राणाका अनुसार आबेको नेपाल र नेपालीप्रति "विशेष लगाव" थियो।

उनले आबेले सन् २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमणका मौकामा देखाएको "व्यवहारले त्यसलाई पुष्टि गर्ने" बताइन्।

राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१९ मा जापानका सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन गएकी थिइन्। उनी नै आबेलाई भेट्ने सबैभन्दा उच्च पदमा रहेको अन्तिम नेपाली हुन्।

नेपाली राजदूत राणाका साथमा आबे
तस्बिरको क्याप्शन, पूर्व नेपाली राजदूत राणाका साथमा आबे

उक्त भ्रमणको स्मरण गर्दै राणाले बीबीसीसँग भनिन्, "उहाँले नेपाललाई विशेष माया गर्नुहुन्थ्यो। उहाँको नेपालप्रति सफ्ट कर्नर छ भन्ने हाम्रो राष्ट्रपतिज्यूको भ्रमणका बेलामा देखियो।"

"राजगद्दी आरोहण समारोहको त्यस्तो व्यस्त समयमा पनि उहाँले नेपाली प्रतिनिधिमण्डललाई भेट्न समय निकाल्नु भयो। मैले त पाँच मिनेटका लागि भए पनि समय मिलाइदिन जापानीहरूलाई आग्रह गरेकी थिएँ, उहाँले १५ मिनेट समय दिनुभयो र नेपाल-जापान सम्बन्धका विभिन्न विषयमा कुराकानी गर्नुभयो।"

नेपाल भ्रमणको चाहना

आफूले जापानमा रहँदा पटकपटक आबेलाई भेट्ने अवसर पाएको राणा बताउँछिन्।

"उहाँले वर्षमा एक पटक सबै देशका राजदूत महिलाहरूलाई छुट्टै भेटघाटको कार्यक्रम राख्नुहुन्थ्यो। त्यो पनि उहाँकै निवासमा," राणा भन्छिन्।

"त्यसक्रममा मैले उहाँसँग भेट्ने र व्यक्तिगत रूपमै छलफल गर्ने मौका पनि पाएकी थिएँ।"

राणाका भनाइमा आबेले नेपालको भ्रमण गर्ने इच्छा राखेका थिए। तर त्यो सफल हुन सकेन।

आबे

त्यसको कारणबारे उनी भन्छिन्, "जापानबाट नेपालमा ठूलो जहाज पनि अवतरण गर्न नसकिने अवस्था भयो। मैले दिल्लीमा गएका बेलामा भए पनि मिलाउने कोसिस गरेँ।"

"तर कोभिडका कारण व्यवस्थापन गर्न सकिएन। नेपाली प्रधानमन्त्रीको जापान र जापानीको नेपाल भ्रमण गराउने भनेर हामीले परराष्ट्र मन्त्रालयबाट पनि केही कुरा अघि बढाएका थियौँ। तर उहाँ आउन पाउनु भएन।"

उनले आबेको निधनले आफूलाई बेचैन बनाएको बताइन्।

"म त्यो घटना सुनेदेखि निकै बेचैन र दु:खी भएकी छुँ, आफ्नै देशको प्रधानमन्त्रीको त्यस्तो अवस्था भएजस्तो अनुभूति भइरहेको छ।"

'अभिभावक गुमाएजस्तो भयो'

जापान बस्ने नेपालीहरूले पनि आबेको निधनले आफूहरूलाई निकै बेचैन बनाएको र पीडा अनुभव भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ: शिन्जो आबेमाथि गोली प्रहार भएको ठाउँको दृश्य

गैर आवासीय सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेल भन्छन्, "यहाँ जापानी र आप्रवासी प्रत्येक मानिसका मनमा अहिले डर पैदा भएको छ।"

"जापानीहरू निकै सोच विचार गरेर बोल्ने भएकाले हामी नेपाली जस्तो फ्याट्ट कुराहरू अभिव्यक्त गरिहाल्दैनन् तर सबैको मनमा एकखाले त्रास छ।"

उनी जापानलाई सुरक्षित देश मानिने र पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू समेत व्यक्तिगत रूपमा सुरक्षा नलिइकन हिड्ने गरेको बताउँछन्।

जापानमा रहेका नेपालीहरू
तस्बिरको क्याप्शन, जापानमा रहेका नेपालीहरू

त्यस्तो स्थानमा पनि गोली हानेर पूर्वप्रधानमन्त्रीको हत्या हुनु "अपत्यारिलो" घटना भएको उनले बताए।

"अहिले यहाँ सबैको आँखामा आँसु भरिएको देखिन्छ, जापानीहरू रआप्रवासीमा पनि," शुक्रवार बेलुका उनले बीबीसीसँग भने।

उनका बुझाइमा आबे कुनै पनि निर्णय लिइहाल्ने र राष्ट्रवादी नेता थिए। अनि, नेपालीमाझ पनि उनी निकै लोकप्रिय देखिन्थे।

"उहाँले कोभिडका बेलामा जसरी जापानी र विदेशी भन्ने भेदभाव नगरीकन सबैलाई समान व्यवहार गर्नुभयो र ऋण दिने कुरामा आप्रवासीलाई पनि समान व्यवहार गर्नुभयो," पौडेलले भने।

"त्यसले गर्दा नेपालीका लागि पनि उहाँ परिवारको सदस्य सरह र अभिभावक जस्तै हुनुहुन्थ्यो। हामीलाई अभिभावक गुमाएको जस्तो पीडा भएको छ।"

नेपाल-जापान सम्बन्ध

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

तर त्यसअघि पनि नेपाल र जापानबीच आपसी सम्बन्ध रहेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, शिन्जो आबेः जब पूर्वप्रधानमन्त्रीमाथि गोली चलेको आवाज सुनियो

परराष्ट्र मन्त्रालयका अनुसार अठारौँ शताब्दीको अन्त्यतिरबाट नेपाल र जापानबीच सम्पर्क बढेको थियो।

नेपालले सन् १९६५ मा टोक्योमा आफ्नो दूतावास खोलेको थियो भने जापानले सन् १९६७ मा काठमाण्डूमा दूतावास खोलेको हो।

नेपाल र जापानलाई नजिकबाट जोड्ने एउटा प्रमुख कुरा भनेको जापानमा बौद्धमार्गी हुनु र बुद्धको जन्मस्थल नेपालमा हुनु भएको कतिपयको बुझाइ छ।

त्यस बाहेक नेपाललाई सहयोग गर्ने दातृ निकायमा जापान पनि एउटा अग्रणी र प्रमुख मानिन्छ।