कोभिड उत्तर कोरिया: खोप सहयोग दिने अमेरिकी प्रस्तावमा उत्तर आएन

जो बाइडन
Published

कोरोनाभाइरस सङ्क्रमणसँग जुझिरहेको उत्तर कोरियाले अमेरिकाको खोप सहयोगको प्रस्तावको जवाफ नदिएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार झन्डै २५ लाख मानिस ''ज्वरो''बाट ग्रस्त छन् र त्यहाँ देशैभर लकडाउन गरिएको छ।

परीक्षण र खोपको आपूर्ति सीमित रहेकाले उक्त देश ठूलो जोखिममा रहेको ठानिएको छ।

दक्षिण कोरियामा गरिएको पत्रकार सम्मेलनका क्रममा बाइडनले खोप उपलब्ध गराउने प्रस्ताव गरेका थिए।

''उत्तर कोरियालाई मात्रै होइन, हामीले चीनलाई पनि खोप दिने प्रस्ताव गरेका छौँ र हामी तत्काल त्यसो गर्न तयार छौँ ,'' बाइडनले भनेका थिए।

''तर हामीले कुनै उत्तर प्राप्त गरेका छैनौँ,'' उनले थपे।

उत्तर कोरियाले यसअघि खोप उपलब्ध गराउने कोभ्याक्सको प्रस्ताव पनि अस्वीकार गरेको थियो।

एप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ र खोपबारे पैरवी गर्ने दुई अन्य समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो।

उत्तर कोरियाले दक्षिण कोरिया र अन्य राष्ट्रले गरेको खोप सहयोग प्रस्ताव पनि अस्वीकार गरेको बताइएको छ।

उत्तर कोरियामा पहिलो पटक मे १२ मा कोभिड सङ्क्रमण पुष्टि गरिएको हो

नुनपानी र जडीबुटी चिया प्रयोग

उत्तर कोरियाले देशका नाका बन्द गरेर सफल रूपमा कोभिड भित्रिन नदिएको दाबी गर्दै आएको थियो।

तर विज्ञहरूले भने उक्त देशमा कोभिड सङ्क्रमण देखा परेको केही समय भइसकेको विश्वास आफूहरूको रहको बताएका छन्।

सरकारी सञ्चारमाध्यमहरूले जडीबुटी चिया पिउन, नुनपानीले कुल्ला गर्न र पीडा कम गर्ने औषधि प्रयोग गर्न सल्लाह दिएका छन्।

उत्तर कोरियाका नेता किम जङ-अनले औषधि वितरणमा अधिकारीहरूले गडबड गरेको आरोप लगाएका छन्।

किम जङ-अनले मास्क लगाएको पहिलो तस्बिर हालै मात्र सार्वजनिक भएको छ
तस्बिरको क्याप्शन, किम जङ-अनले मास्क लगाएको पहिलो तस्बिर हालै मात्र सार्वजनिक भएको छ

कोभिडको निकै सङ्क्रामक ओमिक्रोन भेरिअन्टले सृजना गरेको लहर नियन्त्रण गर्न चीनले पनि सङ्घर्ष गरिरहेको छ।

त्यहाँ करोडौँ मानिस कुनै न कुनै किसिमको प्रतिबन्धात्मक व्यवस्थामा बस्न बाध्य छन्।

दक्षिण कोरियामा भएको पत्रकार सम्मेलनका क्रममा बाइडनले उपयुक्त परिस्थितिमा किमसँग भेट्न आफू इच्छुक रहेको बताएका थिए।

"यो उनी इमानदार अनि गम्भीर छन् कि छैनन् भन्नेमा भर पर्छ," बाइडनले भने।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन २०१८ मा किमसँग एउटा सम्मेलनमा ऐतिहासिक वार्ता गरेका थिए।

पछि उनी उत्तर कोरियाको भूमिमा टेक्ने पहिलो अमेरिकी राष्ट्रपति समेत बने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियामा किम जङ-अनको १० वर्षे शासन