युक्रेन-रुस युद्धः चेचन्यादेखि एलेप्पो अनि युक्रेनसम्म प्रतिरोधको सामना गर्ने पुटिनको रणनीति

सन् २००० को दृश्य
तस्बिरको क्याप्शन, चेचेन युद्ध
    • Author, जेरमी बोवेन
    • Role, बीबीसी न्यूज, किएभ
  • Published

मैले यो लेखिरहँदा किएभको केन्द्र र यसका धेरै उपनगरहरू अछुतै छन्। साइरन र चेतावनीहरू भने बारम्बार आइरहन्छन्।

यहाँका हरेक व्यक्तिलाई थाहा छ- यो अवस्थामा जुनसुकै बेला परिवर्तन हुनसक्छ। त्यस्तो परिवर्तन तपाईँले यो सामग्री पढ्दै गर्दा पनि हुनसक्छ।

युक्रेनी सहर खार्किभले रुसी युद्ध कस्तो हुन्छ भन्ने केही महसुस गरिसकेको छ।

मारिऊपोल र पूर्वका अन्य सहरहरूको अवस्था पनि त्यस्तै छ।

रुसले कुनै पनि प्रतिरोधलाई गोलाबारुदले नै जवाफ दिने गर्छ।

रुसी सैन्य सिद्धान्तले आफ्ना शत्रुहरूलाई नष्ट गर्न भारी हतियारको प्रयोग र हवाई बमबारी गर्नु भन्छ।

घर-घर वा कोठा-कोठामा लड्न मानिसहरू पठाउनुको साटो उनीहरू त्यस्तै गर्ने गर्छन्।

खार्किभ र अन्य सहरहरूमा गम्भीर क्षति भएको छ र हामीलाई थाहा भएसम्म त्यहाँ धेरै मानिसहरू हताहत भएका छन्।

एउटा भिडिओमा खार्किभको स्थानीय सरकारको भवन क्षेप्यास्त्र आक्रमणमा क्षतविक्षत भएको देखाइएको थियो।

चेचेन्यामा रुसी हमलापछिको दृश्य
तस्बिरको क्याप्शन, चेचेन्यामा रुसी हमलापछिको दृश्य

सायद त्यस्ता कुरा देखाएर राष्ट्रपति भ्लादिमिर पुटिन किएभलाई सन्देश पठाइरहेका हुन सक्छन्- पूर्वतिर हेर किनकि तिमीले पनि त्यस्तै बेहोर्नु पर्ने हुनसक्छ।

रुसीहरू सामेल भएका र मैले देखेका अन्य युद्धका आधारमा मेरो निराशाजनक निष्कर्ष के हो भने यो अझै खराब बन्नसक्छ।

'जमिन हल्लिरहेको थियो'

सन् १९९० को दशकमा रुसी गणतन्त्र चेचन्याले विद्रोह गर्दा रुसी सेनाले ग्रोज्नीमा पुर्‍याएको र सन् २०१५ मा पुटिनले हस्तक्षेप गरेदेखि सिरियामा पुगेको क्षति बराबरको आदेश अहिलेसम्म पुटिनले दिएका छैनन्।

मैले सन् १९९४-१९९५ को शीतकालीन मौसममा चेचन्या युद्ध सुरु हुँदादेखि त्यसबारे समाचार संप्रेषण गरेको थिए।

युक्रेनमा जस्तै त्यसबेला पनि स्थलगत कारबाहीमा रुसी सेनाले गम्भीर गल्तीहरू गरेका थिए।

बख्तरबन्द फौजलाई चेचन्याका विद्रोहीहरूले साँघुरा सडकहरूमा एम्बुसमा पारेर नष्ट पारिदिएका थिए।

धेरै सैनिकहरू लड्न र मर्न चाहँदैन थिए।

युक्रेनमा आक्रमण गर्नु अघि सैन्य विश्लेषकहरूले रुसी सेना अब धेरै व्यावसायिक भएको मूल्याङ्कन गरेका थिए।

1px transparent line

रुसी सैनिकहरू व्यावसायिक हुनसक्छन् तर रुसी आक्रमण फेरि एक पटक बन्दोबस्तीका अवरोध, रणनीतिक गल्ती र त्रसित किशोर सैनिकयुक्त एवम् सुस्त भएको छ।

ती सैनिकहरूलाई उनीहरू युद्धमा जाँदैछन् भनिएको थिएन र सन् १९९५ मा चेचन्याका विद्रोहीको जस्तै प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन्।

चेचेन्यामा रुसले विद्रोहीलाई आफ्नो 'फायरपावर' अर्थात् भीषण गोलाबारुदको प्रयोग गरेर जवाफ दिएको थियो।

केही सातामा गोलाबारी र हवाई हमलाले ग्रोज्नीको केन्द्र भग्नावशेषमा परिणत भयो।

ग्रोज्नीमा सन् १९९५ मा रिपोर्टिङ गर्दै जेरमी बोवेन
तस्बिरको क्याप्शन, ग्रोज्नीमा सन् १९९५ मा रिपोर्टिङ गर्दै जेरमी बोवेन

त्यो कंक्रिट र स्टिलबाट बनेको एउटा विशिष्ट सोभियत सहर थियो।

एक दिन बारम्बार हवाई हमलाले प्रभावित भएका बेला म चेचेन प्रतिरोधको केन्द्र मिनुत्का स्क्वायरमा थिएँ।

प्राय: नागरिकहरू सुरक्षित बङ्करमा रहेका थिए र प्रत्येक पटक उनीहरू पानी र खाना खोज्न बाहिर निस्कदाँ जोखिममा थिए।

त्यो दिन मिनुत्का स्क्वायरमा क्लस्टर बमले चेचेन लडाकुहरू मारिए र भवनहरूमा आगो लाग्यो।

चौबीस घण्टापछि सहरको सम्पूर्ण मुख्य मार्ग क्षेप्यास्त्र प्रहारबाट प्रभावित भयो र धुवाँ तथा आगोले ढाक्यो।

हामीले छायाङ्कन गरिरहेको ठाउँमा जमिन हल्लिरहेको थियो।

सिरियाको अनुभव

वर्षौँको युद्धसम्बन्धी रिपोर्टिङका क्रमा ग्रोज्नीबाहेक मैले देखेको सबैभन्दा विध्वंसक क्षेत्र भनेको सिरिया हो।

त्यसको पनि विध्वंसक शक्ति रुससँग सम्बन्ध रहेको छ।

सिरिया
तस्बिरको क्याप्शन, सिरिया

पुटिनको बसर अल-असदको सत्तालाई बचाउन सिरियामा हस्तक्षेप गर्ने निर्णय रुसलाई विश्व शक्तिमा पुनर्स्थापित गर्ने तर्फको एउटा ठूलो कदम थियो।

त्यहाँ रुसी गोलाबारुदको निर्दयी प्रयोगबाट विद्रोहीविरुद्ध सत्ताका लागि निकै महत्त्वपूर्ण दुईवटा निर्णायक विजय प्राप्त भयो।

त्यसमध्ये पहिलो विजय सन् २०१६ को अन्त्यतिर एलेप्पोमा प्राप्त भयो।

1px transparent line

उक्त सहरको पूर्वी भाग युद्धभरि धेरैखाले विद्रोहीद्वारा नियन्त्रित थियो तर रुसी गोलाबारुद र हवाई हमलापछि उक्त क्षेत्र ध्वस्त भयो।

असद शासनलाई सिरियालीमाथि गोलाबारी गर्न कुनै प्रोत्साहनको आवश्यकता थिएन, तर रुसीहरूले विनाशकारी शक्तिलाई धेरै ठूलो स्तरमा पुर्‍याए।

रुस र इरानमा आधार बनाएका रणनीतिक बमवर्षकहरूले विनाशकारी हमलाहरू गरे।

सिरियामा विद्रोही नियन्त्रित क्षेत्रहरूलाई घेरा हाल्ने र उनीहरूलाई घेरामा पार्ने रणनीति प्रयोग गरिएको थियो।

उनीहरूमाथि हवाई र सैन्य आधारहरूबाट तोप प्रहार गर्ने तथा अन्त्यमा रक्षकहरू र भाग्न नसकेको कुनै पनि नागरिकलाई घेरामा पारेर थुन्ने गरियो।

त्यहाँ धेरै मानिसहरू मारिए।

सिरिया
तस्बिरको क्याप्शन, सिरिया

पूर्वी एलेप्पो नियन्त्रणमा आएको केही सातापछि म त्यहाँ जान सफल भएको थिए।

त्यसबेला उक्त क्षेत्रमा कैयौँ माइलसम्म विध्वंस मात्र देखिन्थ्यो।

मैले त्यो विध्वंसले नछोएको कुनै पनि भवन देख्न पाइनँ।

मैले सिरियाको राजधानीको छेउको पूर्वी गुटाको विद्रोहीले कब्जा गरेका सहर र खेतबारीमा पनि यस्तै रणनीतिले काम गरेको देखेको छु।

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line

२०१८ मा त्यस क्षेत्रका विद्रोहीको आत्मसमर्पण दमास्कसका लागि लडाइँको अन्त्य थियो। त्यसअघि उक्त क्षेत्र विद्रोहीको कब्जामा जानसक्ने जस्तो देखिन्थ्यो।

सन् २०१३ मा अमेरिकाले एक सहरमा रासायनिक हतियार प्रयोग गर्दा पनि असद शासनमाथि हमला नगर्ने निर्णय गरेपछि त्यो परिवर्तन भयो।

सन् २०१५ मा रुस युद्धमा प्रवेश गरेपछि लामो युद्ध निर्णायक रूपमा असद शासनको पक्षमा परिणत भयो।

पूर्वी गुटाका विद्रोहीहरूले हवाई हमला र गोलाबारीबाट बच्न भूमिगत सुरुङको सहर नै बनाए।

तर घेराबन्दी र भारी हवाई गोलाबारीले लडाईँहरू जित्छ।

खार्किभ
तस्बिरको क्याप्शन, खार्किभ

त्यो किनभने आफ्नो क्षेत्रको रक्षाका लागि खटिएकाहरू मारिन्छन् र थकित हुन्छन्।

अनि नागरिकहरू जतिसुकै अवहेलित भए पनि यस्तो डर र दुःखको सिकार हुन्छन् कि उनीहरूले आत्मसमर्पणका लागि ल्याइएको राहतलाई स्वागत गर्छन्।

किएभमा सबैको मष्तिष्कमा अहिले उठेको एउटै प्रश्न के हो भने रुसीहरूले खार्किभ, मारिऊपोल र बाँकी क्षेत्रको जस्तो नभइ चेचन्या र सिरियाको जस्तो पनि गर्लान् कि नगर्लान्?

के अर्थोडक्स तीर्थस्थलहरूको पवित्रताले चेचन्या र सिरियामा मुस्लिमहरू माथिको आक्रमणमा अनुपस्थित रहेको संयम उत्पन्न गर्ला?

रुसको इतिहासमा युक्रेनको महत्वबारे पुटिन आफैँले लेखेका छन्।

के उनी युक्रेनलाई पुन: प्राप्त गर्न उसैलाई नष्ट गर्न तयार होलान्?

यदि प्रतिबन्धहरू र युक्रेनी प्रतिरोधले उनको शासनको स्थिरतालाई खतरामा पारेमा के उनले थप चरम उपाय अपनाउलान्?

पहिलेका उदाहरणहरूले के देखाउँछन् भने रुसी सेनाले आफ्नो स्थल सेनाको क्षमतामा कमजोरीहरूको क्षतिपूर्ति ठूला तोपहरूबाट गर्न सक्छ।

तर युक्रेनीहरू यहाँ त्यस्तो नहोस् भनेर प्रार्थना गरिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?