युक्रेन अतिक्रमण: रुसमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धको पीडा खेप्दै सर्वसाधारण नागरिक

पछिल्ला दिनमा रुसी मुद्रा रुबलको मूल्य अमेरिकी डलरको तुलनामा निकै घटेको छ
तस्बिरको क्याप्शन, पछिल्ला दिनमा रुसी मुद्रा रुबलको मूल्य अमेरिकी डलरको तुलनामा निकै घटेको छ
    • Author, एनस्टासिया स्टोग्नोई, मस्को र साइमन फ्रेजर, लन्डन
    • Role, बीबीसी न्यूज
  • Published

"यदि मिल्थ्यो भने म रुस छाड्थेँ। तर म मेरो जागिर छाड्न सक्दिनँ," आन्द्रेले भने।

ब्याजदर निकै बढाइएकाले अब उनले ऋण तिर्न पनि सक्नेछैनन्।

उनीजस्तै दशौँ लाख रुसी मानिसले पश्चिमा देशहरूले रुसविरुद्ध लगाएको आर्थिक प्रतिबन्धको असर बेहोर्न थालेका छन्। छिमेकी युक्रेनमा अतिक्रमण गरेको भन्दै रुसविरुद्ध व्यापक प्रतिबन्धहरू लगाइएको छ।

"विदेशमा नयाँ ग्राहकहरू खोजेर अनि पहिलो किस्ता तिर्न भनेर जोगाइरहेको पैसा लिएर रुसबाट बाहिरिने मेरो योजना छ," ती ३१ वर्षीय औद्योगिक डिजाइनरले भने।

"मलाई यहाँ डर लागेको छ - पार्टी लाइनविपरीत बोलेकोमा मानिसहरू पक्राउ परेका छन्। मलाई लाज लागेको छ। शक्तिमा रहेकाहरूलाई मैले भोट हालेको पनि होइन।"

अन्तर्वार्ता लिइएका अरूको जस्तै उनको पनि पूर्ण नाम हामीले प्रयोग गरेका छैनौँ। त्यस्तै उनको तस्बिर पनि सुरक्षाका कारणले हामीले प्रयोग गरेका छैनौँ। कतिपय नामहरू परिवर्तन गरिएका छन्।

रुसी आक्रमणमा परेको युक्रेनको समर्थनमा पश्चिमा प्रतिबन्धहरू लगाइएका छन्।
तस्बिरको क्याप्शन, रुसी आक्रमणमा परेको युक्रेनको समर्थनमा पश्चिमा प्रतिबन्धहरू लगाइएका छन्।

हाल रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूलाई आर्थिक युद्धको सङ्ज्ञा पनि दिइएको छ। तिनको उद्देश्य उक्त देशलाई पूरै एक्लो पार्नु र त्यहाँ गहिरो आर्थिक मन्दी उत्पन्न गर्नु हो। यी अभूतपूर्व कदमहरूले क्रेम्लिनको सोचाइमा फेरबदल ल्याउने पश्चिमा नेताहरूको आशा छ।

सर्वसाधारण रुसीहरू आफ्नो बचत निमिट्यान्न हुने डरमा छन्। तिनको जीवनमा उथलपुथल आइसकेको छ।

केही रुसी ब्याङ्कहरूलाई भिजा तथा मास्टरकार्डको पहुँचबाट अलग्ग्याइएको छ, अनि एपल पे तथा गुगल पे पनि चल्दैनन्।

पैँतीस वर्षीय मस्कोस्थित एक परियोजनामा व्यवस्थापक छन्। उनको निम्ति यसको अर्थ मेट्रोरेल प्रयोग गर्नबाट समेत वञ्चित हुनुपर्ने अवस्था हो।

"म जहिले पनि फोनबाट पैसा तिर्थेँ। अब त्यसले काम गरेन। अरू मानिसलाई पनि त्यस्तै समस्या आइपर्‍यो। मेट्रोको भुक्तानी प्रणाली भीटीबी ब्याङ्कले सञ्चालन गरेको रहेछ। उसमाथि पनि प्रतिबन्ध लागेकोले उसले गुगल पे वा एपल पे स्वीकार गर्न सकेन।

"मैले मेट्रो कार्ड किन्नुपर्‍यो," उनले बीबीसीलाई भने। "मैले पसलमा पनि भुक्तानी गर्न सकिनँ - कारण उही थियो।"

मेट्रोलाई पैसा तिर्न अनि पसलमा किनमेल गर्न पनि रुसीहरूलाई कठिन भइरहेको छ (file photo)
तस्बिरको क्याप्शन, मेट्रोलाई पैसा तिर्न अनि पसलमा किनमेल गर्न पनि रुसीहरूलाई कठिन भइरहेको छ

सोमवार रुसले ब्याजदर दोबरभन्दा धेरै पार्दै २० प्रतिशत पुर्‍यायो।

रुबलको चर्को अवमूल्यन भएपछि ब्याजदर बढाइएको थियो। स्टक बजारमा गिरावट हुने डरले खोलिएको छैन।

क्रेम्लिनले प्रतिबन्धसँग जुझ्न सक्ने आवश्यक स्रोत आफूसँग भएको बताएको छ। तर त्यो विवादित छ।

धेरै मानिसले ब्याङ्कबाट पैसा झिक्न खोजेपछि सप्ताहान्तमा केन्द्रीय ब्याङ्कले संयम अपनाउन अपील गर्‍यो।

"डलर पनि छैन, रुबल पनि छैन, केही छैन! हुन त रुबल पाइन्छ तर मलाई त्यसमा चासो छैन," मस्कोको एउटा एटीएम अगाडि लाइनमा रहेका युवक आन्तोन (नाम परिवर्तन) ले भने।

"अब के गर्ने थाहा छैन। हामी उत्तर कोरिया वा इरानमा परिणत भइरहेको मलाई डर लागेको छ।"

विदेशी मुद्रा किन्न अघिल्लो साताको तुलनामा ५० प्रतिशत बढी पैसा पर्न थालेको छ। तथापि पाउन कठिन छ।

सन् २०२२ को सुरुमा एक डलरको बदलामा ७५ रुबल अनि एक यूरोको बदलामा ८० रुबल आउँथ्यो। अहिले त्यो एक डलरको तुलनामा ११३ रुबल र एक यूरोको तुलनामा १२७ रुबल पुगिसक्यो।

रुस
तस्बिरको क्याप्शन, आइतबार सेन्ट पिटर्सबर्ग सहरस्थित एउटा एटिएम बाहिर मानिसहरूको लाइन

मस्कोस्थित नगद झिक्ने एउटा लाइनमा उभिएका ४५ वर्षीय इभ्गेनी (नाम परिवर्तन) सबै पैसा झिकेर कर्जा तिर्न चाहन्छन्।

"सबै जना चिन्तित छन्। जीवन झन् खराब हुन्छ जस्तो लाग्छ। युद्ध भयानक हुन्छ।"

पैँतीस वर्षीय मरात भन्छन्: "मैले आजै मात्र पैसा झिक्ने निर्णय गरेँ। कुनै समस्या भएन। आवश्यक पर्ला भनेर रुबल झिकेँ।

"हुन त म भविष्यवाणी गर्न सक्दिनँ, तर जीवन झन् खराब होला जस्तो लाग्छ। समयले नै बताउला।"

रुबल
तस्बिरको क्याप्शन, डलरको तुलनामा रुबल प्राप्त गर्न सहज छ तर त्यसको व्यापक अवमूल्यन भएको छ

नगदको सङ्कट मस्कोमा मात्र सीमित छैन: पर्म, कोस्त्रोमा, बेल्गोरोद र अन्य प्रान्तीय सहरमा पनि मानिसहरू डलर वा यूरो किन्न दौडधुप गरिरहेका छन्।

ब्याङ्कहरूले तरलता अभाव नभएको बताइरहेका छन् - विश्लेषकहरू पनि यसमा सहमत छन् कि सबै जना एकैपटक ब्याङ्कमा पैसा झिक्न नजाऊन् भन्ने उद्देश्यले एटीएममा नगद अभाव भएको हुनसक्छ।

क्रेम्लिनले चाहिँ यस्ता आर्थिक प्रतिबन्ध लाग्नेछन् भनेर रुसले अपेक्षा गरिसकेको र त्यसका निम्ति तयार रहेको बताएको छ। तर व्यापार व्यवसायलाई महामारीको बेलामा जस्तै अतिरिक्त सहयोग दिनेबारे भने उसले केही बताएको छैन।

तर सर्वसाधारण रुसीहरूले आफ्नो जीवनमा पर्ने प्रभाव अब चाँडै नै बेहोर्न थाल्ने ठानिन्छ।

अहिले नै मस्कोका बासिन्दाहरूले खानेकुरा किन्ने पसलमा भिड लागेको बताउन थालेका छन्। अभाव होला भन्ने डरले त्यस्तो भएको बताइन्छ।

आफ्ना बचतको मूल्य घट्नुका साथै कैयौँ रुसीहरूले रोजगारी गुमाउन सक्छन्।

सन् २०१४ मा पुटिनले क्राइमियालाई गाभेपछिका दिनहरूमा नगद झिक्न घण्टौँ लाइन लाग्नु परेको स्मरण रुसीहरूले फेरि गर्न थालेका छन्।

त्यतिखेर एक डलरको बदला ३०-३५ रुबल आउँथ्यो - जुन परिमाण अहिले त सोच्न पनि सकिँदैन।

मस्कोस्थित बीबीसी रसियनकी अमालिया जटारीको रिपोर्टिङ सहयोगसहित।

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्धः 'कलम र कीबोर्ड छोडेर मानिसहरूले बन्दुक बोकेका छन्'
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्ध गर्न यूकेबाट स्वदेश फर्किँदैछन् यी युक्रेनी
भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: यसरी पेट्रोल बम बनाइरहेका छन् युक्रेनी महिलाहरू