खाद्यान्नको विश्वव्यापी मूल्य १० वर्षकै उच्च: राष्ट्रसङ्घ

Woman in field of wheat checking the quality.
Published

गत वर्ष ३० प्रतिशतभन्दा बढी वृद्धि भएपछि विश्व खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ।

तथ्याङ्कले विश्वभर खाद्यान्न र वनस्पति तेलको मूल्य बढेको देखाउँछ। तरकारीको र तेलको मूल्य अक्टोबरमा करिब १० प्रतिशतले बढेर हालसम्मकै उच्च बनेको हो।

आपूर्तिमा अवरोध, वस्तुको उच्च मूल्य, कल कारखाना बन्द हुनु र राजनीतिक तनावले मूल्य वृद्धिमा असर पारेको जनाइएको छ।

एफएओका अनुसार अनाजको मूल्य एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेको छ।

मूल्य वृद्धिमा गहुँको प्रमुख भूमिका रह्यो। क्यानडा, रुस र अमेरिकाजस्ता प्रमुख निर्यातकर्ता देशहरूमा उब्जनी खराब भएपछि पछिल्लो १२ महिनामा लगभग ४० प्रतिशतले मूल्य बढेको हो।

"खाद्यान्नको हकमा, हामी यस्तो अवस्थाको सामना गरिरहेका छौँ जहाँ भन्न सकिन्छ कि यो जलवायु परिवर्तनको प्रभाव हो। यसले अन्ततः उत्पादनमा गिरावट ल्याइरहेको छ," कर्टिन बिजनेस स्कूलका कृषि व्यवसाय विज्ञ पिटर ब्याटले बीबीसीलाई भने।

Woman holding handful of brown rice.

"हामीले धेरै ठाउँहरूमा उत्पादनका खराब वर्षहरू बिताएका छौँ।"

पाम, सोया, सूर्यमुखी र रेपसेड तेलको मूल्यमा भएको वृद्धिले वनस्पति तेलको मूल्य सूचकाङ्कमा वृद्धि एफएओले जनाएको छ।

पाम तेलको मामलामा, आप्रवासी कामदारहरूको अभावका कारण मलेसियामा उत्पादन घटेपछि मूल्य बढेको उल्लेख गरिएको छ।

श्रमिकहरूको अभावले विश्वका अन्य भागहरूमा पनि खाद्यान्नको उत्पादन र ढुवानी लागत बढाउन योगदान पुर्‍याएको छ।

ब्याटले भने: "उत्पादनको निर्यातमा पनि समस्या आएको छ। उदाहरणका लागि - अस्ट्रेलियामा खाना लैजानका लागि धेरै जहाजहरू आइपुगेका छन्। तर, कोभिड-१९ का कारण हामी टोलीलाई भित्र्याउन सक्दैनौँ।"

Slices of bread

ढुवानीमा अवरोधका कारण पनि दूधको मूल्य बढिरहेको छ। गत वर्षको तुलनामा दुग्ध उत्पादनहरूको मूल्यमा करिब १६ प्रतिशत वृद्धि भएको छ।

म्याक्वेरी युनिभर्सिटीकी ब्रिजिट बुसिचियाका अनुसार विश्वव्यापी बजारमा अनुमानले पनि मूल्य अस्थिरतामा योगदान पुर्‍याइरहेको छ: "१९९० को दशकदेखि, कमोडिटी फ्यूचर ट्रेडिङको विनियमनले संस्थागत लगानीकर्ताहरूको ठूलो जमातलाई यस बजारमा प्रवेश गर्न सम्भव बनाएको छ।"

यसले खाद्यान्न आयातमा निर्भर देशहरूमा विशेष प्रभाव पारेको छ।

"अनाजको वितरणमा इजिप्ट वा अन्य मध्य पूर्वी देशहरूमा तनाव देखिनु जायज छ," उनले भनिन्।

बुसिचियाले खाद्यान्नको बढ्दो मूल्यले विशेष गरी गरिबहरूलाई पिरोलेको बताइन्। किनकि पिछडिएका समूहहरू गरिबी रेखाभन्दा अझै पर धकेलिन्छन् जसका कारण सामाजिक र राजनीतिक तनाव बढ्ने सम्भावना रहन्छ।