पन्जशिर: तालिबानविरुद्ध उभिएको अफगानिस्तानको एक मात्र प्रान्त

अफगानिस्तान
तस्बिरको क्याप्शन, पन्जशिर रक्षाका लागि उभिएकाहरूसँग पूर्व अफगान सेनाका सैन्य सवारीहरू छन्
Published
पढ्ने समय: ४ मिनेट

अफगानिस्तानको राजधानी काबुलभन्दा लगभग १५० किलोमिटर उत्तर पूर्वमा तालिबानको शासनविरुद्ध बलियो गढ छ।

भिरालो पर्वतले घेरिएको अफगानिस्तानको एउटा उपत्यका जसले पछिल्लो ४० वर्षमा विभिन्न सैन्य बलहरूलाई भित्रिन दिएको छैन।

पन्जशिर उपत्यकाले सन् १९८० को दशकमा सोभियत सङ्घ र अफगान सरकारी सैन्य बलले गरेका कैयौँ आक्रमणहरूको प्रतिकार गर्दै सोभियत सङ्घले गरेको कब्जाको विरोध गरेको थियो।

उक्त क्षेत्र सन् १९९६ देखि २००१ का बीच तालिबानविरुद्ध पनि उभियो।

"पछिल्लो दुई दशकमा यो क्षेत्रलाई अफगानिस्तानको सबैभन्दा सुरक्षितमध्ये एक मानिन्थ्यो," बीबीसी अफगानका मरियम अमानले भनिन्।

अफगानिस्तानका ३४ प्रान्तमध्ये तालिबानले कब्जा जमाउन नसकेको एक मात्र प्रान्त पन्जशिर उपत्यका हो।

पन्जशिर उपत्यका

तर अहिले भने इस्लामिक समूहले त्यहाँ आफ्नो पकड स्थापित गर्नका लागि फौज परिचालन गर्न लागेको जनाएको छ।

"हामी दोस्रो पटक तालिबानको सामना गर्न तयार छौँ," पन्जशिर इकोनोमिक्स डिपार्टमेन्टका प्रमुख अब्दुल रहमानले भने।

उनको भनाइमा तालिबानले अपदस्थ गरेको अशरफ गनी सरकारका प्रथम उपाध्यक्ष रहिसकेका अमरुल्ला सालेहले समर्थन जनाए।

उनले राष्ट्रपति गनीको अनुपस्थितिमा आफू "अफगानिस्तानको वैधानिक अन्तरिम राष्ट्रपति" रहेको स्वघोषणा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

1px transparent line

अफगानिस्तानको गुप्तचर निकायका पूर्वप्रमुख समेत रहिसकेका सालेहले अफगान नागरिकहरूलाई तालिबानविरुद्ध प्रतिरोधमा सहभागी हुन अपिल गरेका छन्।

"म तालिबानसँग एउटै छतमा कहिल्यै रहने छैन। कहिल्यै पनि," उनले ट्विटरमा लेखेका छन्।

तालिबानविरुद्ध यो सन्देशले कैयौँ अफगानहरूलाई आकर्षित पार्ने अमान बताउँछिन्।

सन् १९८० को दशकमा पन्जशिरको रक्षार्थ खटिएकाहरूले ध्वस्त पारिदिएको सोभियत सङ्घको बख्तर बन्दको भग्नावशेष
तस्बिरको क्याप्शन, सन् १९८० को दशकमा पन्जशिरको रक्षार्थ खटिएकाहरूले ध्वस्त पारिदिएको सोभियत सङ्घको बख्तर बन्दको भग्नावशेष

प्राकृतिक गढ

एनएफआरका वैदेशिक सम्बन्धका प्रमुख अली नजारीले हजारौँको सङ्ख्यामा रहेको फौजका साथ पन्जशिरको रक्षा गर्नका लागि तयार रहे पनि आफूहरूले शान्ति र विकेन्द्रीकृत सरकारमा आधारित बस्ती चाहेको बताउँछन्।

कुनै समस्या उत्पन्न भए भूगोल उनीहरूको पक्षमा हुनेछ।

पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन्।

बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर-पश्चिम पाकिस्तानबीच रहेको हिन्दुकुश पर्वत शृङ्खला नजिक छ।

उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन्। र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ।

तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन।

सन् १९९०को दशकमा मुजाहीदिन फौज
तस्बिरको क्याप्शन, सन् १९९०को दशकमा मुजाहीदिन फौज

"यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन," बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भन्छन्।

"न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पुर्‍याउँछ।"

उक्त क्षेत्रमा १५०,००० देखि २००,००० बासिन्दाहरू छन् जसमध्ये लगभग सबैले पर्सिअन बोल्छन् र ताजीक जातिका हुन्।

यो वर्षौँदेखि तालिबान विरोधी जनसङ्ख्या हो।

'प्रतिरोधको प्रतीक'

अहमद शाह मसूद र उनका पिता देखिएको होर्डिङ बोर्ड
तस्बिरको क्याप्शन, अहमद शाह मसूद र उनका पिता देखिएको होर्डिङ बोर्ड

तालिबान विरोधी व्यक्तित्वहरूमा अहमद शाह मसूद एक मुजाहिदीन गुरिल्ला थिए।

अमेरिकामा सेप्टेम्बर ११ को आक्रमणको दुई दिनअघि अलकायदाले उनको हत्या गरेको थियो।

उनले सन् १९८० देखि १९९० बीच उक्त क्षेत्रको स्वायत्तताका लागि लडेका थिए।

"लाएन अफ पन्जशिर" (पन्जशिरको अर्थ "पाँच सिंह" हो) का रूपमा परिचित उनको तस्बिर अफगानिस्तानको राजधानीका कैयौँ स्थानहरूमा देख्न सकिन्छ।

"अहमद शाह मसूदले पन्जशिरलाई अफगान-सोभियत युद्ध (१९८०को दशक) मा गढको रूपमा प्रयोग गरेका थिए," अमान बताउँछिन्।

मुजाहीदिन र तालिबानका विभिन्न गुटबीच सन् १९९० को बीचदेखि सन् २००१ सम्म (जति बेला तालिबान सत्ताबाट बाहिरिएको थियो) भएको युद्धका बेला पनि उक्त उपत्यका महत्त्वपूर्ण रहेको उनी बताउँछिन्।

"सन् २००१ मा मसूदको मृत्युपछि पनि यस क्षेत्रले तालिबान विरुद्धको लडाइँमा प्रतिरोधको आफ्नो विरासत [...] कायम राखेको छ।"

अहमद शाह मसूदको मृत्यु धेरै अफगानका लागि वियोगान्त घटना थियो
तस्बिरको क्याप्शन, अहमद शाह मसूदको मृत्यु धेरै अफगानका लागि वियोगान्त घटना थियो

धेरै अफगानहरूका लागि मसूद सम्मानित व्यक्तित्व हुन्। उनलाई राष्ट्रपति हमिद कर्जाइले राष्ट्रनायक घोषणा गरेका थिए।

सन् २०१२ देखि उनको मृत्यु भएको दिनलाई सहिद दिवस र अहमद शाह मसूद दिवसका रूपमा मनाइन्छ।

उपराष्ट्रपति सालेहले उनी प्रतिको आफ्नो झुकाव स्पष्ट पारेका छन्।

"म मेरो नायक अहमद शाह मसूद, कमान्डर, महान् व्यक्ति र मार्गदर्शकको आत्मा र विरासत लाई कहिल्यै धोका दिन्न," हालसालै उनले ट्विटरमा लेखे।

"म कुनै पनि हालत र अवस्थामा तालिबान आतङ्कवादीहरूसँग झुक्ने छैन।"

सन् १९९६मा पन्जशिर र काबुलकोबीचमा मुजाहीदिन फौज
तस्बिरको क्याप्शन, सन् १९९६मा पन्जशिर र काबुलकोबीचमा मुजाहीदिन फौज

पन्जशिरका एक पुराना बासिन्दा मसूद सन् १९९० को नर्दन अलाएन्स भनिने उत्तरी गठबन्धनको हिस्सा थिए।

केहीले उनी युद्ध अपराधी रहेको बताउने गरेका छन्।

सन् २००५ मा ह्युमन राइट्स वाचले गरेको अनुसन्धानले अफगानिस्तान युद्धका बेला उनको नेतृत्वमा रहेको सैन्य बलले गरेका कारबाहीमा "अहमद शाह मसूद धेरै दुर्व्यवहारमा सहभागी भएको" जनाएको थियो।

'यो दिन आउँछ भन्ने हामीलाई थाहा थियो'

गत हप्ता पन्जशिरमा गस्ती गर्दै अफगान सुरक्षा फौज
तस्बिरको क्याप्शन, गत हप्ता पन्जशिरमा गस्ती गर्दै अफगान सुरक्षा फौज

तर यसपालि तालिबानविरुद्ध नेतृत्व गर्ने व्यक्ति उनका ३२ वर्षे छोरा अहमद मसूद हुन्।

सालेह र मसूदको अगस्ट १६ तारिखमा खिचिएको तस्बिर सामाजिक सञ्जालहरूमा देखिएका छन् र त्यसमा उनीहरूबीच गठबन्धन रहेको देखिन्छ।

बिहीवार द वासिङ्टन पोस्ट पत्रिकामा प्रकाशित एउटा विचारमा मसूदले आफ्ना लडाकुहरूलाई अफगान सेना र विशेष फौजको समर्थन रहेको उल्लेख गरेका छन्।

अहमद मसूद
तस्बिरको क्याप्शन, अहमद मसूद

"हामीले आंशिक रूपमा बुवाको समयदेखि नै जम्मा गरेको हातहतियार भण्डारण गरेका छौँ किनभने यो दिन आउन सक्छ भन्ने हामीलाई थाहा थियो," उनले थपे।

तर उनले आफूहरूलाई थप सहयोग आवश्यक रहेको बताएका छन्।

"तालिबानविरुद्ध मुजाहिदिनको प्रतिरोध अब सुरु हुन्छ तर हामीलाई सहयोगको खाँचो छ," मसूदले लेखेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्तव्यस्त काबुल विमानस्थलभित्र यसरी पठाइयो अफगान बालिकालाई