कोरोना भाइरस भारतः कोभिड महामारीका कारण अन्तिम संस्कार गर्ने स्थानमा ठूलो चाप

अस्पतालका बेड
    • Author, कीर्ति दुबे
    • Role, बीबीसी संवाददाता
  • Published

कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ।

भर्खरै ब्रजिललाई उछिन्दै भारत विश्वमा दोस्रो धेरै प्रभावित देश बनेको छ।

सङ्क्रमणको सुनामीले देशलाई हल्लाइदिएको छ र अस्पतालहरूलाई किनारमा पुर्‍याइदिएको छ। त्यहाँ दैनिक १,००० जनाको कोभिड-१९ का कारणले मृत्यु हुने गरेको छ।

"दैनिक ५०-६० जनाको अन्त्येष्टि गर्छौँ"

भारतको निकै प्रभावित राज्य महाराष्ट्रमा बढ्दै गएको मृत्युका कारण दाहसंस्कारका लागि स्मशानघाटहरूले अतिरिक्त समय दिइरहनुपरेको छ।

एम्बुलेन्स

पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन्, "अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ।"

प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ।

"हामीसँग छवटा फ्रिज मात्र छन्, तर धेरै शव ल्याइन्छ। मानिसहरूले आफन्तको शव लिएर बाहिर पर्खिनुपर्छ।"

वरुणका अनुसार उनको कामको जिम्मेदारी आठ घन्टा हो तर कामको बोझ निकै बढी छ।

आफ्नो तोकिएको सरकारी समय सकिए पनि उनले कैयौँ घण्टा अतिरिक्त समय काम गर्छन्।

अन्त्यष्टि
तस्बिरको क्याप्शन, राजकोटमा सङ्क्रमणबाट ज्यान गुमाएको अन्त्यष्टि मास्क, पन्जा वा पीपीइ नलगाएरै गरिँदै छ

उनी अन्त्येष्टि प्रक्रियाका क्रममा लगाउन भनेर पीपीई दिइएका थोरै कर्मचारीहरूमध्ये एक हुन्।

सङ्क्रमण फैलिँदै गएको गुजरातजस्ता राज्यमा सरकारद्वारा सञ्चालित शवदाहगृहमा काम गर्नेहरू मास्क वा पन्जा नलगाएरै कोभिड पीडितको दाहसंस्कार गर्न बाध्य छन्।

कर्मचारीहरूले बीबीसीलाई बताएअनुसार एम्बुलेन्समा यात्रा गरेका बेला उनीहरूले अस्पतालहरूबाट कहिलेकाहीँ पन्जा पाउँछन् अन्यथा उनीहरूसँग सुरक्षा सामग्री हुँदैन।

समाचारसंस्था रोएटर्सले कैयौँ प्रमुख सहरमा कोभिड-१९ को आधिकारिक मृत्यु तथ्याङ्कभन्दा मसानघाट र समाधिस्थलमा निकै धेरै सङ्ख्यामा शव पुग्ने गरेको उल्लेख गरेको छ।

पश्चिमी राज्य गुजरातस्थित एउटा शवदाहगृहमा लगातार ग्यास र काठ बालेर शव जलाउनु पर्दा त्यसको धातुको भाग पग्लिन थालेको छ।

'१२ घण्टा पर्खिनुपर्ने बाध्यता

तर शवदाहगृहका कर्मचारीहरूले मात्र पीडा भोग्नुपरेको होइन।

अन्त्यष्टि
तस्बिरको क्याप्शन, निगमबोध घाटमा आफन्तको अन्त्यष्टि हेर्दै एक नातेदार

परिवारका सदस्यहरूले पनि आफ्ना प्रियजनको निम्ति शय्या खोज्दै एउटा अस्पतालबाट अर्कोमा दौडिँदादौडिँदै तिनको मृत्यु भएपछि अन्तिम संस्कारका लागि लामो समय पर्खिनुपर्ने अवस्था छ।

केही अस्पतालहरूले देशमा शवदाहगृहहरूमा चाप बढेकाले शव दिन ढिलाइ गर्ने गरेको बताइएको छ।

गुजरातका हेमन्त जादवले बताएअनुसार भाइको मृत्युपछि शव पाउन उनले १२ घण्टाभन्दा बढी समय पर्खिनुपरेको थियो।

भाइसँग फोनमा कुरा गर्दा उनको स्वास्थ्यमा सुधार भइरहेको जस्तो जादवलाई लागेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ भारतः 'हामीले पहिला नदेखेको कोरोना भाइरस सुनामी'

उनले भने, "उसलाई सन्चो हुने र ऊ घर फर्किन्छ जस्तो लागेको थियो, तर अस्पतालबाट उसको मृत्यु भएको खबर पायौँ।"

मानिसहरूलाई टोकन नम्बर दिइन्छ र उनीहरूले शवगृहबाहिर लामो समय पर्खिनुपर्छ।

हालै एक नातेदारको अन्त्येष्टि गरेका शक्तिलाल त्रिवेदीले टोकन पाए पनि छ घण्टापछि पालो आएको सुनाए।

अवस्था किन भयावह?

भारत एप्रिल महिनाको सुरुबाट घातक दोस्रो लहरको चपेटा परेको छ।

एम्बुलेन्स

भारतमा एप्रिल १५ तारिखयता दिनहुँ दुई लाखभन्दा धेरै सङ्क्रमित देखा परेका छन्। जुन गत वर्ष सङ्क्रमण उच्चबिन्दुमा पुग्दाको भन्दा धेरै सङ्ख्या हो।

त्यसबेला दैनिक सरदर ९३,००० जना सङ्क्रमित हुने गरेका थिए।

राजधानी दिल्लीसहित नराम्ररी प्रभावित मुम्बई, लखनऊ र अहमदाबादजस्ता सहरका अस्पतालहरूले कोभिडका बिरामीको उपचार गर्न सङ्घर्ष गर्नु परिरहेको छ।

कैयौँ राज्यहरूमा कोभिड वार्ड र आईसीयूमा शय्याको ठूलो अभाव रहेको बताइएको छ।

व्यापक मागका कारण परीक्षण परिणाममा ढिलाइ हुँदा रोगको पहिचान र उपचार समयमा हुन नसक्ने अवस्था बढिरहेको चिकित्सकहरूले जनाएका छन्।

भारतमा कोभिडको प्रकोप

विज्ञहरू दोस्रो लहरको चेतावनीलाई भारत सरकारले बेवास्ता गरेको र रोकथाम तथा नियन्त्रणको निम्ति थोरै काम गरेको बताउँछन्।

उनीहरू त्यसको उदाहरणको रूपमा क्रिकेट हेर्न मास्क नलगाएर जम्मा भएको भिड, कोभिड सुरक्षाका आधारभूत नियम पालना नगरेको देखिने ठूला चुनावी र्‍याली र गङ्गा नदीमा स्नान गर्न दशौँ लाख मानिसहरू कुम्भमेलामा सहभागी भएका घटनाहरू औँल्याउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?