अमेरिका: अश्वेत युवालाई गोली हान्ने प्रहरीमाथि 'गैरन्यायिक हत्या'को मुद्दा चलाइने

किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ
तस्बिरको क्याप्शन, किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ
Published

अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएका छन्।

ती प्रहरी अधिकारी किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ।

पोटरले चाहिँ २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको बताएकी छन्।

उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

डन्टे राइटमा
तस्बिरको क्याप्शन, डन्टे राइट

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या "सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग" भएको बताएका छन्।

पोटर र प्रहरी प्रमुख टिम गानन्‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन्।

उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ।

उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो।

त्यहाँ गत वर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोप लागेका एकजना श्वेत पूर्वअधिकारीमाथि सुनुवाइ हुने क्रममा त्यहाँ तनाव बढेको थियो।

मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ।

डन्टे राइटको हत्याको विरोधमा प्रदर्शनहरू भएका छन्
तस्बिरको क्याप्शन, डन्टे राइटको हत्याको विरोधमा प्रदर्शनहरू भएका छन्

उक्त मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ।

राइटको हत्यापछि उक्त क्षेत्रका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए र रात्रिकालीन कर्फ्यु लगाएका थिए।