ज्याक माः चिनियाँ अर्बपति तीन महिनासम्म किन हराएका थिए

ज्याक मा
Published

ज्याक मा चीनका सबैभन्दा धनी व्यक्ति बन्ने क्रममा थिए। तर सन् २०२० को नोभेम्बर महिनामा स्पष्टवक्ता ज्याक अचानक हराए।

उनले आफ्नो घरबाट सुरु गरेको अलिबाबा अहिले विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येमा पर्छ।

उक्त कम्पनी अहिले अनलाइन किनमेल, क्लाउड कम्प्युटिङ र आर्टिफिश इन्टेलिजन्स (एआई) जस्ता सेवाका माध्यमबाट करिब ८० करोड प्रयोगकर्तासँग जोडिएको छ।

धनाढ्य ज्याक मा आफ्नो रवाफिलो उपस्थिति र प्रचारबाजीका लागि परिचित थिए।

उनी आफ्ना हजारौँ कर्मचारीलाई भोज दिन्थे र उनीहरूको सम्मानमा 'यू रेज मी अप' जस्ता गीत पनि गाउँथे।

उनको पछिल्लो व्यवसाय एन्ट ग्रूपले अलिपे मोबाइल फाइन्यान्स एपको माध्यमबाट चीनको डिजिटल भुक्तानी बजारमा प्रभुत्व जमाएको छ।

विवादास्पद भाषण

परम्परागत संस्थाहरूको नियन्त्रणबाट टाढा लाँदै एन्ट ग्रूपले चीनको ब्याङ्कीङ क्षेत्रमा कायापलट गर्न खोजेको छ।

गत वर्ष अक्टोबर २४ तारिखका दिन एन्ट ग्रूप शाङ्घाईमा विश्वकै सबैभन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा थियो।

डिजिटल भुक्तानी

त्यसअघि ज्याकले एउटा कार्यक्रमलाई सम्बोधन गरेका थिए जसमा उनले चीनको वित्तीय प्रणालीको आलोचना गरेका थिए।

त्यसपछि ज्यानुअरी महिनाको अन्त्य तिरसम्म उनी सार्वजनिक रूपमा देखा परेनन्।

त्यसबीच उनलाई घरमै नजरबन्द गरिएको वा पक्राउ गरिएको हुन सक्ने हल्ला चल्यो।

केहीले त उनी जीवित रहेको विषयमै प्रश्न उठाए।

उच्च नेतृत्वबाट बोलावट

ज्याकको कथाबारे बीबीसी रेडिओ फोरको एउटा कार्यक्रमका लागि अनुसन्धान गरिएको छ।

अलिबाबाका संस्थापकले चिनिया ब्याङ्किङ प्रणालीलाई ''पोन-शप मेन्टलिटी'' (धितो राखी ऋण दिने मनोवृत्ति) बाट निर्देशित रहेको आरोप लगाएका थिए।

आधुनिक समयको डिजिटल वित्तलाई नियमन गर्ने विषयमा सरकारी निकायहरूले "रेल स्टेशन व्यवस्थापन गर्न तयारी पारिएको तरिका विमानस्थल व्यवस्थापन गर्न'' प्रयोग गर्न खोजेको दाबी गरेका थिए।

सी जिन्पिङ
तस्बिरको क्याप्शन, चिनियाँ राष्ट्रपति सी जिन्पिङ

उनको यो अभिव्यक्तिले चिनियाँ ब्याङ्किङ क्षेत्रलाई क्रूद्ध पार्‍यो र उनीहरूले त्यसबारे राष्ट्रपति सी जिन्पिङको ध्यानाकर्षण गराए।

लगत्तै ज्याक र उनका सहकर्मीहरूलाई नियामक निकायले छलफलका लागि भन्दै बोलायो र एन्ट ग्रूपको शेअर निष्कासन गर्ने योजनामा पनि रोक लगाइयो।

ज्याक माको कम्पनीको शेअर मूल्यमा निकै ठूलो गिरावट आयो।

अनि नियामक निकायसँगको बैठकपछि ज्याक कहीँकतै देखिएनन्।

'ठूलो आश्चर्य'

"त्यो दिन उनले सी जिन्पिङ नेतृत्वको चीनमा के भन्न र गर्न सकिन्छ भन्ने विषयमा कोरिएको अदृश्य सीमा पार गरे," विगतमा ज्याकको अन्तर्वार्ता लिएकी चीन विश्लेषक क्रिस्टिना बूट्रपले भनिन्।

"मलाई लाग्छ यो उनका लागि ठूलो आश्चर्यको विषय थियो। अवस्था यति नराम्रो हुन सक्छ भन्ने थाहा पाएको भए उनले त्यो सीमा कहिल्यै पनि पार गर्ने थिएनन्।"

ज्याक मा

सन् २०२१को ज्यानुअरीमा ज्याकले एउटा परोपकारी कार्यक्रमका लागि भिडिओ सन्देश सार्वजनिक गरे।

अर्को महिना उनलाई चीनको हाइनान प्रान्तस्थित एउटा टापुमा गल्फ खेल्दै गरेको देखियो।

बृहत्तर प्रविधि क्षेत्र

अलिबाबाले बजारमा एकाधिकार जमाएको विषयमा अनुसन्धान सुरु गर्दै चिनियाँ सरकारले ठूला प्रविधि कम्पनीहरूलाई नियमन गर्ने आफ्नो दृष्टिकोण पुनर्विचार गरिरहेको छ।

गत हप्ता एउटा सरकारी निकायले टेन्सेन्ट र बाइडुसहित १२ वटा कम्पनीलाई १० वटा फरक कारोबारका क्रममा एकाधिकारसम्बन्धी नियम तोडेको भन्दै जरिवाना गरेको बताएको थियो।

यसले बृहत्तर प्रविधि क्षेत्रमा विषय झन् चर्किँदै गएको सङ्केत गरेको हुन सक्छ।

विच्याट

हङ्‌कङ र शिन्जियाङमा मानवाधिकारसम्बन्धी आफ्ना नीतिलाई लिएर चीनले अमेरिकासहित विश्वका विभिन्न अन्य देशको अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धानको सामना गरिरहेको छ।

प्रविधि कम्पनीहरूमाथि लगाम लगाउन खोज्नुलाई केहीले स्थायित्वलाई प्राथमिकता राख्ने पहल र व्यावसायिक सफलतामाथि नियन्त्रणका रूपमा हेरिरहेका छन्।

line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनका सबभन्दा धनी व्यक्तिको माइकल ज्याक्सन नाच