संसदीय दलको नेता बनेपछि प्रचण्डले भने - 'संसद् जीवित तुल्याउँछु, नयाँ सरकार गठन गर्छु'

प्रचण्ड
तस्बिरको क्याप्शन, संसदीय दलको नेता निर्वाचित भएपछि सञ्चारकर्मीसँग बोल्दै
Published

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।

संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, "राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।"

उनले भने, "सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर मेरो ध्यान हुनेछ।"

उनले ठुलो चुनौतीको समयमा जिम्मेवारी पाएको बताए।

संसदीय दलको बुधवार बसेको बैठकले उनलाई चयन गरेको बैठकमा सहभागी सांसद रामकुमारी झाँक्रीले बताइन।

उक्त बैठकमा ११५ जना सांसद सहभागी भएको सांसद महेश्वर गहतराजको दाबी छ।

यस अघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए।

ओलीलाई उक्त समूहले कारबाही गरेर मङ्गलवार पार्टीको अध्यक्षबाट निष्कासित गरेको थियो।

प्रचण्ड
तस्बिरको क्याप्शन, संसदीय दलको बैठकमा नेताहरू

संसद्मा नेकपाका ९० जना सांसदले केपी शर्मा ओली विरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमा पनि प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।

केपी ओली समूहले प्रचण्ड माधव समूहले गरेका निर्णयलाई अवैधानिक भन्दै आएको छ।

प्रचण्ड माधव समूहले पार्टीको केन्द्रीय समिति बैठक डाकेर मङ्गलवार पार्टी अध्यक्षमा माधवकुमार नेपाल थपेको थियो।