चिनियाँ खेलौना निर्माता बने रातारात अर्बपति

पप मार्ट

तस्बिर स्रोत, Pop Mart

Published

एक चिनियाँ खेलौना निर्माता शुक्रवार रातारात अर्बपति बनेका छन्। उनको कम्पनी पप मार्ट शेयर बजारमा सूचीकृत भएपछि उनको सम्पत्ति बढेको हो।

स्थापना भएको केही वर्षमै उन्नति गर्दै वाङ निङको पप मार्ट सात अर्ब अमेरिकी डलरको कम्पनी बन्न सफल भएको हो।

पप मार्टले भित्र के छ भनेर हेर्न नमिल्ने गरी सङ्कलनयोग्य खेलौनाहरू प्रति खेलौना आठ डलर जतिको मूल्यमा विक्री गर्छ।

हङकङको स्टक बजारमा शुक्रवार सूचीकृत भएको कम्पनीमा वाङको ५० प्रतिशत जति शेयर छ र फोर्ब्स पत्रिकाका अनुसार उनको सम्पत्ति तीन अर्ब २० करोड डलर भएको छ।

बेइजिङमा मुख्यालय रहेको पप मार्टले शेयर बजारबाट ६७ करोड ४० लाख डलर उठाएको छ जुन थप खेलौना पसलहरू खोल्न र विदेशमा व्यापार विस्तार गर्न प्रयोग गरिने बताइएको छ।

शेयर बजारमा सूचीकृत भएकै दिन यसको शेयर मूल्य पहिलो दिन नै दोबर भएको थियो।

पप मार्टले चीन बाहेक २१ देशमा खेलौना विक्री गर्छ र यसका ग्राहकहरू १८ देखि ३५ वर्षका र ७५ प्रतिशत महिला भएको बताइन्छ।

"चिनियाँ युवायुवतीहरू आफ्नो घर र टेबुल हेर्दा राम्रा देखिने खेलौनाहरूले सजाउन चाहन्छन्।

त्यस्तै किन्दा के पाइन्छ भन्ने जिज्ञासाले पनि मानिसहरूलाई उत्साहित बनाउँछ," चाइना मार्केट रिसर्च ग्रुपका शाउन रेन भन्छन्।

चीनमा युवायुवतीले यस्तै खेलौना, डिजाइनर जुत्ता र कम्प्युटर गेम्समा धेरै खर्च गर्ने अलिबाबाको एउटा प्रतिवेदनमा जनाइएको छ।

पप मार्टको विक्री गत वर्ष तेबर बढेको कम्पनीले दाबी गरेको छ। कम्पनीले खेलौना निर्माणका लागि वाल्ट डिज्नी र युनिभर्सल स्टुडियोजसँग अनुमति लिएको छ भने अरूले निर्माण गरेको खेलौना पनि विक्री गर्छ।