केपी शर्मा ओली: नयाँ मिर्गौलाले 'काम गर्न थाल्यो', प्रधानमन्त्रीको स्वास्थ्यस्थिति 'स्थिर'

ओली
Published
पढ्ने समय: २ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो।

शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। प्रत्यारोपण प्रक्रियामा १६ चिकित्सक सहभागी भए।

नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको प्रा. डा. प्रेमराज ज्ञवालीले बीबीसीलाई बताए।

स्वास्थ्यस्थिति कस्तो छ?

शल्यक्रियापश्चात् बुधवार अपराह्ण एउटा छोटो पत्रकार सम्मेलनमा बोल्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"उहाँका सबै मुख्य सूचकाङ्क राम्रो अवस्थामा छन् र प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ," उनले भने।

प्रधानमन्त्रीलाई हाल 'प्रत्यारोपण उपचार कक्ष'मा राखेर उपचार गरिराखिएको जनाइएको छ।

अस्पतालका अनुसार ओलीलाई मिर्गौला दान गर्ने महिलाको पनि स्वास्थ्यस्थिति सामान्य छ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने "उहाँकी भान्जी समीक्षा संग्रौलाजीको स्वास्थ्य स्थिति पनि सामान्य रहेको" अस्पतालको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Dr Gyawali
Prem Gyawali/Facebook
वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो...
प्रा. डा. प्रेमराज ज्ञवाली
शल्यचिकित्सक

ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन्। शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले बीबीसीसँग भनेका थिए, "वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।"

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए। बाह्र वर्षअघि ओलीले भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए।

कसले गरे प्रत्यारोपण?

शिक्षण अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण र शल्यक्रियाको प्रक्रियामा १६ चिकित्सक सहभागी थिए।

प्रत्यारोपण शल्यचिकित्सामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल थिए।

प्रत्यारोपण चिकित्सा टोलीमा प्रा. दिव्या सिंह शाहसहित छ चिकित्सक तथा एनेस्थेसिया तथा क्रिटिकल केअर टोलीमा चार चिकित्सक थिए।

ओली
तस्बिरको क्याप्शन, ओली सोमवार अस्पताल भर्ना भएका थिए
ओली

यसअघि कसरी भएको थियो उपचार?

मिर्गौलाको समस्या देखिएपछि ओलीले देश तथा विदेशमा परीक्षण तथा उपचार गराएका थिए।

त्यसै क्रममा गत वर्ष अगस्ट महिनामा उनी डेढ साताका लागि सिङ्गापुर गएका थिए।

बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सिङ्गापुरमा गरिएको परीक्षणमा ओलीको मिर्गौलाको क्रियाशीलता राम्रो भएको देखिएको बताएका थिए।

तर त्यसको केही समयपछि ओली पुन: उपचारका लागि सिङ्गापुर गए।

पछि नेपालमै उनको डायलिसिस गरियो। गत नोभेम्बर महिनामा उनको अपेन्डिक्सको शल्यक्रिया पनि गरिएको थियो।

यसअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएको र उपचारका लागि पटकपटक विदेश गएका भए पनि ओलीले यस पटक स्वदेशमै प्रत्यारोपण गराउने निर्णय गरेका थिए।

नेपालमा मिर्गौला प्रत्यारोपण कस्तो अवस्थामा छ?

शिक्षण अस्पताल
तस्बिरको क्याप्शन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूका अनुसार सन् २००८ बाट नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सुरु भएको हो।

हालसम्म शिक्षण अस्पतालमा मात्रै झन्डै ७०० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। विभिन्न निजी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण गरिन्छ।

डा. ज्ञवालीका अनुसार सामान्यतया जीवित अङ्गदाताका हकमा प्रत्यारोपण सफल हुने सम्भावना ९० देखि ९५ प्रतिशतजति हुन्छ। शिक्षण अस्पतालमा सफलता अझै उच्च अर्थात् ९८ प्रतिशत छ।

यसअघि शिक्षण अस्पतालमै आठ पटक दोस्रो पटक गरिएको मिर्गौलाको प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी डा. ज्ञवालीले दिएका थिए।

त्यसमा भने शत प्रतिशत सफलता प्राप्त भएको बताइएको छ।

"प्रधानमन्त्री जस्तो मान्छेले विश्वको जुनसुकै स्थानमा गएर प्रत्यारोपण गराउन सक्नु हुन्थ्यो। तर उहाँले नेपालमै गराउने जुन अठोट गर्नु भयो त्यसले गम्भीर अर्थ राख्छ," ज्ञवालीले भने।