उपनिर्वाचन सम्पन्न, दाङ र पोखरामा विस्फोटन

उपनिर्वाचन
तस्बिरको क्याप्शन, सङ्खुवासभाको खाँदबारी नगरपालिका- ३ को वडाध्यक्ष पदका लागि मानेभन्ज्याङ मतदान केन्द्रमा मतदान गर्दै एक वृद्धा
Published

सैँतीस जिल्लाका विभिन्न क्षेत्र र एकाइमा शनिवार भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

दुई वर्षअघि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको पद विभिन्न कारणले रिक्त भएपछि उपनिर्वाचन गरिएको हो।

केही स्थानमा छिटपुट घटना भए पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बीबीसी संवाददाताहरूले जनाएका छन्।

निर्वाचन आयोगले मतदान भएका स्थानमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको बताएको छ।

कहाँकहाँ भयो मतदान?

प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बागलुङ २ (२), भक्तपुर १ (१) र दाङ ३ (२) मा उपनिर्वाचन भएको हो।

उपनिर्वाचन
तस्बिरको क्याप्शन, सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालय मतदान केन्द्रमा वडाध्यक्ष पदका लागि मतदान भएको थियो

त्यसबाहेक धरान उपमहानगरपालिका तथा मकालु, पिपरा र फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खुर्पानाथ गाउँपालिकामा उपप्रमुखमा पनि उपनिर्वाचन भयो।

स्थानीय तहका ४३ वटा वडामा अध्यक्ष छान्न पनि मतदान भयो।

जननिर्वाचित प्रतिनिधिको मृत्यु तथा अन्य विभिन्न कारणवश रिक्त रहेका स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गरिएको हो।

आयोगले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदमा मतदान गराउन २४७ वटा मतदानस्थल र ५३७ वटा मतदानकेन्द्र तोकेको थियो।

उपनिर्वाचन
तस्बिरको क्याप्शन, बागलुङ-२ (२) को प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ढोरपाटन नगरपालिका-१ स्थित उत्तरगङ्गा माध्यमिक विद्यालय मतदान केन्द्रमा शनिबार मतदान गर्दै एक महिला

सहभागिता

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभातर्फ रिक्त रहेको कास्की क्षेत्र नम्बर २ मा उनकी पत्नी विद्या भट्टराई नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचनमा सहभागी भएकी छन्।

अधिकारी तत्कालीन नेकपा एमाले पार्टीबाट निर्वाचित भएका थिए।

त्यहाँ नेपाली कांग्रेसले खेमराज पौडेल र साझा पार्टीले रजनी केसीलाई उठाएको छ।

त्यस्तै प्रदेशसभातर्फ भक्तपुर १ (१) बाट निर्वाचित हरिशरण लामिछाने, बागलुङ २ (२) बाट निर्वाचित टेकबहादुर घर्तीमगर र दाङ ३ (२) बाट निर्वाचित भएका उत्तरकुमार वलीको निधन भएकाले ती स्थानमा उपनिर्वाचन भएको हो।

लामिछाने र वली एमाले र घर्ती जनमोर्चाबाट निर्वाचित भएका थिए। उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेश सभा तर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल प्रतिस्पर्धामा छन्।

उपनिर्वाचनमा आधाभन्दा बढी महिलासहित कुल ४,५४,११४ व्यक्ति मताधिकारका लागि योग्य थिए।

दाङमा बम विस्फोटन

दाङस्थित बीबीसी संवाददाता वसुन्धरा गौतमका अनुसार उपनिर्वाचनलाई लक्षित गरी विस्फोटन गराइएको थियो।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षका लागि भएको मतदानलाई लक्षित गरी बाहुनडाँडामा विस्फोटन गराइएको हो।

बिहान ठूलो विस्फोटन भएपछि सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बीबीसीलाई जानकारी दिए।

विस्फोटनबाट कुनै क्षति भने नभएको रिजालले बताए।

त्यस्तै कास्की क्षेत्र नम्बर २ को मतदानस्थलनजिकै शनिवार बिहान बम पड्किएको थियो।

त्यहाँ कोही हताहत नभएको भए पनि केही बेर मतदान रोकिएको अधिकारीहरूले बताएका छन्।

line

तस्बिरमा मतदान

उपनिर्वाचन
तस्बिरको क्याप्शन, हेलिकप्टर दुर्घटनामा परेर पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्युभएपछि कास्कीको क्षेत्र नम्बर २ रिक्त भएको थियो
उपनिर्वाचन
तस्बिरको क्याप्शन, बाँकेमा स्थानीय तहमा मतदान भएको हो
उपनिर्वाचन
तस्बिरको क्याप्शन, मोरङमा वृद्धवृद्धाले पनि मतदान गरे
उपनिर्वाचन
तस्बिरको क्याप्शन, बाजुरामा मतदान गर्न जाँदै वृद्धवृद्धा
उपनिर्वाचन
तस्बिरको क्याप्शन, दाङमा प्रदेशसभाका लागि मतदना भयो
उपनिर्वाचन
तस्बिरको क्याप्शन, मोरङमा बिहानदेखि नै मतदाताहरू पङ्क्तिबद्ध भएका थिए