डाफ्नी कारुआना गलित्च्या: 'हत्या गरिएकी पत्रकार आमाका लागि न्यायको सङ्घर्ष'

डाफ्नी कारुआना गलित्च्या
तस्बिरको क्याप्शन, डाफ्नी कारुआना गलित्च्या
    • Author, म्याथ्यू कारुआना गलित्च्या
    • Role, खोजपत्रकार
  • Published

केही महिनाको अन्तरालमा मैले एउटा कोठामा मेरी आमाको हत्याको अनुसन्धान गर्ने व्यक्तिसँग बस्नुपरिरहेको हुन्छ।

हाम्रो परिवारले उनलाई पहिलो पटक छ वर्षअघि भेटेको थियो जतिखेर उनी आमालाई गिरफ्तार गर्न हाम्रो घर आएका थिए।

मेरी आमाले एक प्रधानमन्त्रीका उम्मेदवारबारे व्यङ्ग्यात्मक ब्लग लेखेकी थिइन्। निर्वाचन हुने दिन त्यो प्रकाशित भएपछि ती उम्मेदवारका एक समर्थकले प्रहरीमा उजुरी दिएका थिए।

त्यसैले मध्यरातमा पक्राउ पुर्जीसहित एक गुप्तचरलाई पठाइएको थियो। उहाँको अपराधलाई गैरकानुनी अभिव्यक्ति मात्र भन्न सकिन्थ्यो।

म विश्वको अर्को कुनामा काम गरिरहेको थिएँ। मानिसहरूले मलाई आमा राति साढे एक बजे प्रहरी हिरासतबाट छुटेको भिडिओ पठाइरहेका थिए। त्यसमा आमाले बुवाको शर्ट लगाउनुभएको थियो।

त्यसको केही घण्टापछि वहाँ फेरि आफ्नो वेवसाइटमा आफूले झेलेको दुर्व्यवहारबारे लेख्न थाल्नुभयो। नयाँ प्रधानमन्त्रीका असुरक्षा र आफ्नै आवरणबारे ठट्टा गर्दै वहाँले लेख्नुभएको थियो।

"म पूरै भद्रगोलपूर्ण अवस्थामा रहेकोमा माफी चाहन्छु। तर जब एउटा हत्यारा टोली दस्ता तपाईँलाई पक्रन रातमा घरमा छिर्छ...केश कोर्ने, अनुहारमा पाउडर लाउने र ढङ्गको कपडा छानेर लगाउने कुरा तपाईँको मस्तिष्कमा आउने अन्तिम कुरा हुने रहेछ," उनले लेखेकी थिइन्।

र, त्यसरात मेरी आमालाई पक्रने उही व्यक्ति अहिले आमाको हत्याको अनुसन्धान गर्ने भूमिकामा छन्।

म्याथ्यू र डाफ्नी
तस्बिरको क्याप्शन, म्याथ्यू आफ्नी आमा डाफ्नीसँग

मारिएको दिन मेरी आमा डाफ्नी कारुआना गलिजाले आफ्नो खाता पुन: सक्रिय पार्न भन्दै ब्याङ्क पुगेकी थिइन्। उनको खाता एक मन्त्रीको आग्रहमा रोक्का गरिएको थियो।

त्यतिखेर भर्खर ५३ वर्ष लागेकी मेरी आमा आफ्नो ३० वर्षे पत्रकारिता जीवनको उत्कर्षमा थिइन्।

उनको कारको सीटमुनि राखिएको झन्डै आधा किलोको बम दूरनियन्त्रित प्रविधिको प्रयोग गरेर विस्फोट गराइएको थियो।

सरकार समर्थकहरूले उनको हत्यामा उत्सव मनाए। त्यसले मलाई टर्किश-आर्मेनियन पत्रिकाका सम्पादक ह्रान्ट डिन्कमाथि गरिएको गोली प्रहारको सम्झना गरायो।

अरूले आमाको हत्याको योजना मैले बनाएको आशयको कुरा गरे।

केहीले भने मेरी आमाले स्वेच्छाले जीवन दाउमा पारेको बताए। त्यस्तै अपमानजनक टिप्पणी सिरियामा अपहरणपश्चात् शिरोच्छेदन गरिएका अमेरिकी पत्रकार जेम्स फोलीका बारे पनि गरिएको थियो।

Presentational grey line

डाफ्नी कारुआना गलित्च्याको हत्याकाण्ड

  • अक्टोबर २०१७: खोजपत्रकार डाफ्नी कारुआना गलिजाको कार बम विस्फोटनमा मृत्यु
  • प्रधानमन्त्री जोसेफ मस्क्याटले हत्या 'क्रूर' भएको बताए। तर मृतकका परिवारले माल्टाका नेताहरूलाई अन्तिम संस्कारमा सहभागी हुने अनुमति दिएनन्
  • डिसेम्बर २०१७: तीनजना मानिस पक्राउ परे। भाडाका हत्यारा प्रयोग गराइएको आशङ्काबीच अभियोजन प्रक्रिया सुरु
  • जुलाई २०१८: माल्टा सरकारद्वारा एउटा अनुसन्धान समिति गठन। नेतृत्व गर्ने न्यायाधीशद्वारा प्रधानमन्त्री र उनकी श्रीमतीलाई डाफ्नी कारुआना गलिजाले लगाएको भ्रष्टाचारको आरोपमा सफाइ
  • अगस्ट २०१८: डाफ्नी कारुआना गलिजाका परिवारद्वारा घटनाको सार्वजनिक रूपमा अनुसन्धान हुनुपर्ने माग
Presentational grey line

किन यी हत्याराहरू चिन्नु धेरै महत्त्वपूर्ण छ?

"तथ्य र विचारको खुला प्रवाह, पत्रकारको प्रतिष्ठा र व्यावसायिकताले समाजलाई निष्पक्ष र खुला बनाउँछ," हामी शोकमै रहँदा भेट्न आएका युरोपेली पत्रकारहरूलाई सम्बोधन गर्दै मेरा भाइले भनेका थिए।

"त्यसले समाजलाई मूल्यवान् र धैर्यवान् बनाउँछ। अर्को शब्दमा भन्नुपर्दा बस्नलायक समाज बनाउँछ।"

हाम्री आमाको हत्यापछि हामीसँग सबै खालका मानिसले सहानुभूति, समर्थन र दु:ख प्रकट गरिरहेका थिए।

एउटा साथीले भनेको कुराले मलाई अचम्ममा मात्र पारेन विचार गर्न पनि बाध्य पार्‍यो। "असल मानिसहरू जताततै छन्, मात्र हामीले तिनलाई भेट्नुपर्छ।"

स्वतन्त्र र खुला समाजमा बस्ने रहर, सबैलाई समान हुने कानुनी शासन, मानवाधिकारको सम्मानको अपेक्षा संसारका सबै मानिसमा हुन्छ। तर त्यस्तो आशामा चर्कोपन र चिसोपन देखिन्छ।

रोगजस्तै हुने केही खराब मानिसहरू हामीबीच नै छन् भन्ने थाहा पाउँदासम्म कहिलेकाहीँ धेरै ढिलो भइसकेको हुन्छ।

मेरा भाइहरू, बुवा र मैले आमाको मृत्युपछि सङ्कल्प गर्‍यौँ- वहाँको हत्याको न्याय, अनुसन्धानमाथि न्याय हुनेगरी यस्तो घटना फेरि दोहोरिन नदिने सङ्कल्प गर्‍यौँ।

त्यसबाहेक अरू कुराका लागि समय पनि थिएन।

म्याथ्यू (बायाँ) र उनका भाइ पोल हत्या
तस्बिरको क्याप्शन, म्याथ्यू (बायाँ) र उनका भाइ पोल हत्या

बेलाबखत परिवारभित्र हामी सरकारी अधिकारीहरूको अकर्मण्यताबारे कुरा गर्थ्यौँ।

उनीहरूको उत्पन्न गराउने निराशा र उनीहरूको निष्कृयताबारे चुप लागेर बस्न सकिँदैनथ्यो।

द चिल्ड्रेन अफ टर्किशका खोज पत्रकार उगुर मुम्कूले मलाई बताएअनुसार बम विस्फोटनमा आफ्ना बुवाको ज्यान गएपछि प्रहरी प्रमुखले अनुसन्धान गर्नेबारे आफ्नो निर्लज्ज टिप्पणी गरेको थियो - "हामीले केही गर्न सकेनौँ। हाम्रो अगाडि ईँट्टाको पर्खाल छ।"

प्रत्युत्तरम दिँदै उनीहरूकी आमाले भनेकी थिइन्, "त्यसो भए पूरा पर्खाल नभत्कँदासम्म एउटा र अर्को गर्दै ईँट्टा झिकिरहनूस्।"

हाम्री आमाको निधनपछि हामीहरूले गरिराखेको पनि त्यही नै हो।

सुरुमा मेरो सोच जेजति गर्न सकिन्छ गरौँ भन्ने थियो। अहिले मलाई लागेको छ - लक्ष्यजतिकै महत्त्वपूर्ण कुरो त्यो प्राप्त गर्ने बाटो पनि हो।।

हामीले स्वतन्त्र अभिव्यक्तिको सम्मानका लागि राज्यलाई आफ्ना सामान्य दायित्व पूरा गर्न भनेका छौँ- हामीलाई न्याय देऊ।

हामी स्वतन्त्रताविरोधी रोगलाई मास्न लागि परेकाहरूलाई साथ दिइरहेका छौँ जसले विश्वलाई मानवाधिकारको रक्षा गर्न सिकाओस्।

छानबिन

डाफ्नी कारूआना गलित्च्याको हत्याको छानविन माग गर्दै भएका प्रदर्शन
तस्बिरको क्याप्शन, डाफ्नी कारूआना गलित्च्याको हत्याको छानविन माग गर्दै भएका प्रदर्शन

"स्वतन्त्रता खासमा विवेकको स्वतन्त्रताबाट जन्मिन्छ," लेखक यामिन रसिदले माल्दिभ्सस्थित आफ्नो घरबाहिर मारिनुभन्दा पाँच दिनअघि हामीलाई भनेका थिए।

"मन आधारभूत रूपमा स्वतन्त्र नरहेसम्म तपाईँ अन्य स्वतन्त्रताले के गर्नुहुन्छ?" उनको प्रश्न थियो।

मेरी आमाझैँ उनको हत्याले हाम्रा देशमा अन्य स्वतन्त्रताप्रति सम्मान नरहेको देखाउँछ।

स्वतन्त्रताको सङ्घर्ष हामी अर्थात् पछाडि पारिएका परिवारजन, प्रेमीप्रेमिका, हत्या गरिएका वा बन्धक बनाइएका पत्रकारका साथीहरूको मात्रै हैन।

यो महान् जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ। तर हामी एक्लैले त्यसको भार थेग्न सक्दैनौँ।

हामीलाई साथ दिन सबैतिरका राम्रा मानिसहरूको साथ चाहिन्छ।

Presentational grey line

विश्व प्रेस स्वतन्त्रता दिवस

  • विश्व प्रेस स्वतन्त्रता दिवसको आरम्भ संयुक्त राष्ट्रसङ्घले सन् १९९३ मा गरेको थियो। यो मे ३ मा मनाउने गरिन्छ
  • सन् २०१९ को नारा 'गलत सूचनाको समयमा पत्रकारिता र निर्वाचन' रहेको छ।
  • यो दिवस मनाउनुको उद्देश्य विश्वभरि प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा गर्नुका साथै त्यसको प्रतिरक्षा गर्नु पनि हो। यसै अवसरमा आफ्नो जिम्मेवारीका क्रममा ज्यान गुमाउने पत्रकारहरूको सम्झना गर्दै उनीहरूप्रति सम्मान व्यक्त गर्नु पनि हो
  • गत वर्ष ९५ जना पत्रकार तथा सञ्चारकर्मीहरूले सुनियोजित हत्या, बम विस्फोटन वा दोहोरो आक्रमणमा परेर ज्यान गुमाएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले जनाएको छ
Presentational grey line

मलाई थाहा छ यस यात्रामा हामीहरू धेरै छौँ। साउदी स्तम्भकार जमाल खशोग्जी समेत सबैतिर प्रिय थिए।

उनलाई घृणा गर्ने मानिस त उनको हत्यारा मात्र थियो।

मेरी आमासहित यी सबै हत्यामा राज्यले जिम्मेवार मानिस खोज्न अर्थपूर्ण कदम चालेका सङ्केत निकै कम छन्।

सन् २०१८ मा मारिएका पत्रकार जमाल खशोग्जी
तस्बिरको क्याप्शन, सन् २०१८ मा मारिएका पत्रकार जमाल खशोग्जी

त्यसैले हामीले पहिलो ईँट्टा निकालेर प्रयास सुरु गरेका छौँ। माल्टाले सार्वजनिक छानविन सुरु गरेर देशको महत्त्वपूर्ण पत्रकारको हत्या हुनेगरी कहाँनिर गल्ती भयो भन्ने पत्ता लगाओस् भन्ने चाहन्छौँ।

त्यसपछि हामी अर्को ईँट्टा झिक्न लाग्नेछौँ।

मेरी आमा त्यस्तो बलिदान नदिएर जीवितै रहेको कल्पनाले दिनदिनै मलाई सताउँछ।

मानवाधिकारवादी संस्थाहरूले भनाइमा क्रूरतापूर्वक बन्धक बनाइएकी अजेरी पत्रकार खादिजा इस्माइलोभा भन्छिन्, "यदि हामी साँच्चिकै कसैलाई माया गर्छौँ भने हामी हाम्रो प्रियजन ऊ जे हो त्यही रहोस् भन्ने चाहन्छौँ। डाफ्नी त्यही थिइन्- योद्धा र नायिका।"

मेरी आमाले कहिल्यै थाहा नपाउने कुरा के हो भने उनको मृत्युले माल्टा र त्यसबाहिर हजारौँलाई आफ्नो साहस देखाउन प्रेरित गर्‍यो।

र, मलाई त्यसरी पनि सोच्न मन लाग्छ कि यस्ता घटनाले एक वा अर्को रूपबाट अन्य थुप्रै पत्रकारहरूलाई संरक्षण गरिराखेको छ।

Presentational grey line

खोजपत्रकार म्याथ्यू कारुआना गलित्च्या सन् २०१७ मा कारबम विस्फोनटमा मारिएकी पत्रकार डाफ्नी कारुआना गलित्च्याका छोरा हुन्।

Presentational grey line