जर्मन विमान कम्पनी लुफ्थान्साले उडान छोडेका यात्रुलाई किन मुद्दा हाल्यो

विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सस्तो टिकटका लागि लामो यात्राको एउटा भागमा पुगेपछि यात्रा छोडिदिने प्रचलन बढ्दो छ

जर्मन वायुसेवा कम्पनी लुफ्थान्साले एक यात्रुलाई बीचमै उडान छोडेकोमा मुद्दा हालेको छ।

तर त्यो मुद्दा त्यति अतिशयोक्तिपूर्ण लाग्दैन।

समाचार संस्था सीएनएनले प्राप्त गरेका अदालतमा बुझाइएका कागजातहरूमा कम्पनीले ती पुरुष यात्रु (कानुनी कारणले नाम उल्लेख गरिएको छैन) फ्र्याङ्क्फर्ट हुँदै अमेरिकाबाट ओस्लो जाने विमानको अन्तिम यात्रामा नियतवश विमान नचढेको विमान सेवा प्रदायकको दाबी छ।

'स्किपल्यागिङ' भनिने सस्तो टिकट पाउनका लागि यात्राको बीचमै यात्रा तोड्ने प्रचलन बढ्दै गएको बताइन्छ।

यो मुद्दालाई विमान कम्पनीले चालेको कडा कदमका रूपमा हेरिएको छ।

'लुकेको' उडान

कुनै विमान कम्पनीले एक ठाउँबाट अर्को ठाउँमा जाँदा बीचमा केहीबेर रोक्न प्रयोग गर्ने महत्त्वपूर्ण सहरहरूमा यस्ता अप्रत्यक्ष उडान हुने गर्छन्।

ती स्थानमा जाने उडानका टिकटको मूल्य खर्चमा नभई मागका आधारमा निश्चित हुने भएकाले प्रत्यक्षभन्दा अप्रत्यक्ष उडान सस्तो पर्न सक्छ।

विमानस्थल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कुनै ठाउँमा प्रत्यक्ष उडानको टिकट किन्नुभन्दा त्यो सहर हुँदै जाने अरू टिकट किन्नु र अन्तिम यात्रा छोड्नु सस्तो पर्न जान्छ

एअरफेयरवाचडग.कमकी विषयवस्तु सम्पादक ट्रेसी स्टेवार्टले बीबीसीलाई भनिन्, "उदाहरणका लागि मानौँ कि सियाटल र कोलम्बसबीचको सीधा उडानको मूल्य आलस्का एअरलाइन्सले २५० अमेरिकी डलर लिन्छ।"

"अमेरिकी एअरलाइन्स त्यो बाटो सीधा उडान गर्दैनन्, तर आलस्कासँग प्रतिस्पर्धा गन शिकागोमा बीचमा रोक्ने गरी त्यही मूल्यको टिकट बेच्न सक्छ।"

स्टेवार्ट भन्छिन् सियाटलदेखि शिकागो जान सीधा उडानको मूल्य धेरै पर्छ त्यसैले अमेरिकाको अप्रत्यक्ष उडान लिएर पछिल्लो यात्रा यात्रुले छोड्न सक्छन्।

एक विज्ञ भन्छन्, "यो यस्तो छिद्र हो जुन सजिलै दुरुपयोग हुन सक्छ"

यो बारम्बार भइरहन्छ?

बीबीसीले अन्तरवार्ता गरेका विश्लेषक भन्छन् "यो बीचमा उडान छोड्नु नौलो काम होइन।"

र यस्तो गर्ने यात्रुहरूको संख्या बढ्दो छ।

"कैयौँ विमान कम्पनीहरूले आफ्नो सञ्चालन खर्च कटौतीका लागि दशकौंसम्म उनीहरूको मुख्य कार्यालय रहेका विमानस्थल हुँदै जाने यात्रुहरूका लागि सस्तो टिकट दिँदै आएका छन्," जेभी एभिएशन कन्सलटेन्टका विश्लेषक जन ग्र्यान्ट भन्छन्।

यात्रु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विज्ञहरूको दावी छ विमान कम्पनीहरूले त्यसरी बीचमा उडान छोड्नेहरूप्रति आँखा चिम्लिँदै आएका छन्

उनी थप्छन्,"सीट भरिँदासम्म बीचमा यात्रा छोड्ने यात्रुहरूप्रति विमान कम्पनीहरूले आँखा चिम्लिँदै आएका थिए।"

तर केही वर्ष यता केही वेबसाइटहरूले सस्तो टिकटमा यात्रा गर्न चाहनेहरूलाई सघाउन थालेका छन्।

विमान कम्पनीहरूले अमेरिकी विमान सेवा प्रदायक युनाइटेडले स्कीपल्यागेड.कममाथि "अनुचित प्रतिस्पर्धा" गरेको आरोपमा सन् २०१४ मा मुद्दा हालेको थियो- यो मुद्दा शिकागोको एउटा अदालतले अधिकार क्षेत्रको प्रश्न उठाउँदै रद्द गरिदिएको थियो।

विमान कम्पनीको दाबी छ यस्तो व्यवहारले उनीहरूलाई दुई प्रकारको घाटा परेको छ। पहिलो त अन्तिम गन्तब्यको देशले राजश्व गुमाएको छ र खाली रहने सीटको अधिकतम उपयोग हुनेछैन।

उदाहरणका लागि लुफ्थान्साले मुद्दा हालेका यात्रु बर्लिन पुग्न चाहन्थे। त्यो उनले फ्र्याङ्कफर्ट ओस्लो उडान नउडेर अर्को जहाज लिएर पुगे।

जर्मन विमान कम्पनी लुफ्थान्साले ती व्यक्तिमाथि करार उल्लङ्घन गरेको आरोपमा मुद्दा हाल्दै २३ सय डलर क्षतिपूर्ति माग गरेको छ जुन उसले ती व्यक्तिले जहाजको उडान छोडेका कारण लागेको भार भनिएको छ।

विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लुफ्थान्साले आफ्नो उडानको एक भाग स्वेच्छाले छोडिदिएका एक यात्रुमाथि मुद्दा हालेको छ

तर बर्लिनको एक अदालतले डिसेम्बरमा त्यो दावी रद्द गरिदिएको थियो।

लुफ्थान्साका एकजना प्रवक्ताले पुनरावेदन गर्ने बताएका छन्।

स्टेवार्टको विश्वास छ, "लुफ्थान्साले उडानमा परेको भारको क्षतिपूर्ति भन्दा कानूनी कामका लागि धेरै पैसा खर्च गरिरहेको छ। तर यसबाट एउटा सन्देश जाओस भन्ने हाम्रो चाहना हो।"

अघिल्ला अवसरमा कम्पनीहरूले त्यस्तो नियतबस उडान छोड्नेहरूको सित्तैँमा पाउने माइलेज शून्यमा झारिदिने गरेका थिए।

के यसले यात्रुलाई नराम्रो गर्ला?

उडान जानकारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विमान कम्पनीहरूले अन्तिम समयमा योजना रद्द गर्दा यात्रुहरूलाई निराश बनाइदिन सक्छ

यस्तो यात्रा गर्ने यात्रुहरूले थोरै सामान बोकेर मात्र यात्रा गर्नुपर्ने हुन्छ किनभने सामान अधिकांशत गन्तव्य मुलुकसम्मै पुग्नेगरी व्यवस्था गरिएको हुन्छ।

विज्ञहरूका अनुसार तर फाइदा अझ पनि धेरै हुन सक्छ।

स्टेवार्ट भन्छन्, "उडानमा पैसा बचाउन चाहनेको आलोचना गर्न गाह्रो छ। खासगरी विमान टिकट प्रणालीमा खोट भएपछि त्यस्तो समस्या स्वाभाविक हुन्छ।"