नेपालमा हात्तीपाइले विरुद्धको अभियान कति प्रभावकारी?

हात्तीपाइले रोग
तस्बिरको क्याप्शन, हात्तीपाइलेको परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा बस्छ
Published

वार्षिक करोडौँ रुपियाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्य क्षेत्रका विज्ञहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा उक्त अभियान सुरु गरेको हो।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतीका अनुसार धेरै मानिसलाई अझै पनि हात्तीपाइले रोगविरुद्धको औषधिबारे थाहै नभएका कारण गलत धारणा व्याप्त छ।

वासस्थान वरिपरि सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनु पर्ने र शरीरको कुनै अङ्ग सुन्निन थाले रगत परीक्षण गराइहाल्नु पर्ने उनको सुझाव छ।

डा अरुणा उप्रेतीले भनिन्, "हात्तीपाइले रोग उन्मूलन गर्न गाह्रो नै पर्छ, वास्तवमा। रोगीहरूको खुट्टा सुन्निएको तस्वीर देखेर मानिसहरू औषधि खानै डराउने गर्छन्। यस्तो हुँदैन भनेर जनचेतना जगाउन आवश्यक छ।"

चिकित्सकहरूका अनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हुने हात्तीपाइले रोग लागेपछि जीवनभरि निको हुँदैन।

यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नै पर्ने चिकित्सकहरू बताउँछन्।

गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोगी, मुटुरोगी एवम् मृगौला, जन्डिस र कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामीहरू र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक अरू सबैले यो औषधि सेवन गर्न सक्छन्।

सन् २००३ मा ६१ जिल्लाबाट सुरु भएको सो अभियान हाल २४ जिल्लामा जारी छ।

धेरै जिल्ला हात्तीपाइले रोगमुक्त हुनु अभियानको सफलता भएको स्वास्थ्य मन्त्रालय इपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा भीम आचार्यको दाबी छ।

सन् २००३ मा १३ प्रतिशत नेपालीमा देखिएको हात्तीपाइले रोगको उन्मूलनको लागि नि:शुल्क वितरण गरिएको औषधि खान डराएकालाई अभियानमा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरूले घरघरमै पुगेर औषधि सेवन गर्न आग्रह गरिरहेको अधिकारीहरुले बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, फेरि सिटामोलको उत्पादन