नेपाल-चीन अभ्यास 'आंतकवादमा केन्द्रित'

चीन नेपाल
तस्बिरको क्याप्शन, चीनका रक्षामन्त्री चाङ्ग वानचुआनको भ्रमण लगत्तै संयुक्त तालिम आयोजना हुन लागेको हो
    • Author, फणीन्द्र दाहाल
    • Role, संवाददाता, बीबीसी नेपाली सेवा
  • Published

नेपाल र चीनबीच पहिलो पटक हुन लागेको १० दिने संयुक्त सैन्य अभ्यास आतंकवादको सम्भावित जोखिमका बिषयमा केन्द्रित हुने सैन्य अधिकारीहरुले जनाएका छन्।

आइतबारबाट शुरु हुने उक्त तालिममा चिनीयाँ जनमुक्ति सेना र नेपाली सेनाको एउटा सानो समूहले भाग लिंदैछन्।

उत्तरी छिमेकी चीनको सेनासँग नेपाली सेनाले गर्न लागेको पछिल्लो तालिमलाई भारतमा चासो साथ हेरिएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

नेपाली सेनाले भने उक्त तालिम अन्य देशहरुसँग भइरहेका संयुक्त सैन्य अभ्यास जस्तै प्रकृतिको भएको प्रतिक्रिया दिएको छ।

संख्या

अधिकारीहरुले उक्त तालिममा सहभागी हुने दुबै देशका सैनिकहरुको संख्या अझै खुलाएका छैनन्।

तर नेपाली सेनाका प्रवक्ता झंकर बहादुर कडायतले सानो संख्यामा दुई देशका सैनिकहरु तालिममा सहभागी हुने बीबीसीलाई बताए।

चीन नेपाल
तस्बिरको क्याप्शन, पछिल्लो दशकमा नेपालले चीनसँग तालिम आदान प्रदान पनि बढाएको देखिन्छ

उनले भने, "खासै ठूलो संख्याका सहभागीहरु यो तालिममा छैनन् र काठमाण्डू वरपर नै तालिम गतिविधिहरु गर्ने कार्यक्रम छ।"

नेपाली सेनाले चिनीयाँ सेनासँगको यो संयुक्त तालिमका क्रममा प्रति-आतंकवाद सम्बन्धी सीप, विभिन्न सैनिक कारवाहीका अनुभव र ज्ञानको आदानप्रदान हुने जनाएको छ।

'सगरमाथा फ्रेन्डशिप २०१७' नाम दिइएको यो संयुक्त तालिम गर्ने घोषणा गएको डिसेम्बरमा चिनियाँ जनमुक्ति सेनाले गरेको थियो।

चिन्ता

उक्त तालिमलाई नेपालमा बढ्दै गएको चिनीयाँ प्रभावका रुपमा कतिपय भारतीय सञ्चारमाध्यम तथा नेपाल मामिलाका विज्ञहरुले अर्थ्याएका थिए।

बीबीसी हिन्दीसँग कुरा गर्दै भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताले चीनले सैनिक सहायतामा वृद्धि गर्ने, विभिन्न उपकरणहरु दिने लगायतका घोषणा गरेर नेपाली सेनासँगको सम्बन्ध बढाउँदै लगेको बताए।

नेपाल भारत
तस्बिरको क्याप्शन, भारतीय सेनासँग नेपाली सेनाले बटालियन तहको संयुक्त सैन्य अभ्यास गर्दै आएको छ

त्यसबाहेक नेपाली राजनीतिमा पनि चीनको चासो बढ्दै गएको भन्दै उनले भारतले सावधानीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गरे।

उनले भने, "एकातिर चीनले नेपाललाई आफ्नो युआन देखाइरहेको छ र दिइरहेको छ, भारतसँग चीनको जति क्षमता छैन त्यही भएर भारतले सुझबुझ पूर्ण ढंङ्गले अघि बढ्नुपर्छ, आगामी दिन अझै पेचिलो बन्नेछ।"

नेपाली अधिकारीहरुले चाहिं चीनसँगको पछिल्लो तालिम नेपाली सेनाले अन्य मित्र राष्ट्रहरुसँग गरिरहेकै तालिमको निरन्तरता भएको बताएका छन्।

निरन्तरता

नेपालले भारत, अमेरिका र ब्रिटेनसँग संयुक्त तालिम गरिसकेको र चीनसँगको तालिम पनि त्यस्तै प्रकृतिको भएको नेपाली सेनाका प्रवक्ता झंकर बहादुर कडायत बताउँछन्।

नेपाल ब्रिटेन
तस्बिरको क्याप्शन, नेपालले ब्रिटिश सेनासँग पनि संयुक्त अभ्यासहरु गर्ने गरेको छ

नेपाली सेनाले भारतीय सेनासँग सन् २०११ देखि गर्दै आएको सूर्यकिरण नामक संयुक्त सैन्य अभ्यास विदेशी सैनिकहरुसँग गरिरहेको अभ्यास मध्ये ठूलो मानिन्छ।

बर्षेनी दुई पटक हुने उक्त अभ्यास पछिल्लो पटक फागुनको अन्तिम सातामा भारतको पिथौरागढमा भएको थियो, जसमा उपरथीको नेतृत्वमा ३ सय १४ जना नेपाली सैनिक र ३५० भारतीय सैनिक सहभागी थिए।

शुरुमा प्लाटुन तहबाट शुरु भएर क्रमैसँग गण तहमा पुराइएको उक्त अभ्यास दुवै देशमा आलोपालो आयोजना गर्ने गरिन्छ।

भारत बाहेक अमेरिकी सेनाको विशेष फौजसँग नेपाली सेनाको महावीर गणका विशेष सैनिकहरुले 'टेक नेल' र 'ब्यालेन्स नेल' नामक सैन्य अभ्यास गर्दै आएका छन्।

नेपाली सेना
तस्बिरको क्याप्शन, अमेरिकी सेनाको प्रशान्त महासगरीय कमाण्डले नेपाली सेनासँग मिलेर तालिम आयोजना गर्ने गरेको छ

अमेरिकी सैनिकहरु नेपालमा उच्च हिमाली क्षेत्रमा गरिने सैनिक गतिविधिको तालिम लिन समेत आउने गरेको सैनिक अधिकारीहरु बताउँछन्।

त्यसबाहेक ब्रिटेनको सेनाले वेल्सको पहाडी क्षेत्रमा आयोजना गर्ने क्याम्ब्रिएन पट्रोल नामक तालिममा पनि नेपाली सेनाले सहभागिता जनाउँदै आएको छ।

हालसम्म तीन वटा क्याम्ब्रिएन पट्रोल अभ्यासमा भाग लिइसकेको नेपाली सेनाले जनाएको छ।

पछिल्लो पटक गएको अक्टोबरमा भएको उक्त अभ्यासमा सहभागी २० देशका करिब १ सय २० फौज मध्ये नेपाली सेनाको दुर्गा बक्स गणले तेश्रो स्थान हात पारेको थियो।

अघिल्लो महिना मात्रै नेपाली सेनाले अमेरिकी सेनाको प्रशान्त महासागरीय कमाण्डसँग मिलेर शान्ति प्रयास तीन नामक संयुक्त अभ्यास काभ्रेको पाँचखालस्थित शान्ति सैनिक तालिम केन्द्रमा आयोजना गरेको थियो, जसमा २८ देशका १ हजार भन्दा बढी फौज सहभागी थिए।