न बत्ती, न बाटो, न सञ्चार - रसुवाका बाढीपीडितको व्यथा

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
बाढीले व्यापक क्षति पुर्याएका जिल्लामध्ये रसुवाको एक क्षेत्रका प्रभावित व्यक्तिहरूले राहत नपाएको मात्र नभई हालसम्म सडक र सञ्चारसम्पर्कविहीन समेत रहेको बीबीसीलाई बताएका छन्।
विगत पाँच दिनयता बिजुलीबिना बस्नुपरेको र टेलिफोन सम्पर्कका लागि मोबाइल चार्ज गर्न पनि समस्या रहेको उनीहरूको दुखेसो छ।
"बाल्नलाई न बिजुली छ, कतै जानलाई न सडक छ, राहत त यहाँ पुगेकै छैन," आमाछोदिङमो गाउँपालिका-४ का ४० वर्षीय हेम्बे तामाङले आइतवार बीबीसीसँग भने।
हेम्बेकी छोरी काठमाण्डूमा छिन्, ज्वाइँ बाढीपछि हराइरहेका छन्। "जसका आफ्ना बितेका छन्, ती रोइरहेका छन्; जसका हराइरहेका छन्, ती तड्पिरहेका छन्," भारी आवाजमा उनले सुनाए।
बत्ती नभएर मोबाइल चार्ज गर्न नपाउँदा आफन्तसँग कुरा गर्न नपाउनुको फेरि बेग्लै पीडा छ।
पालिका कार्यालयमा सोलर छ, जहाँ घण्टौँ पालो कुरेर मोबाइल चार्ज गर्न पाउनेहरूले थोरै राहत पाएको हेम्बेले बताए।
"दुईतीन घण्टा पालो कुरेर चार्ज गर्यो, थोरै कुराकानी गर्दा र समाचार हेर्दा मोबाइलको चार्ज सकिने रहेछ," उनले अगाडि थपे।
"रोडको चिन्ता छ। बाटो खुल्न पाए हुन्थ्यो। राहत त खोइ आउँछ कि आउँदैन।"
'एक थोपा राहत छैन'
सो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले राहतको नाममा अहिलेसम्म केही नआएको गुनासो गरिन्।
"खाली मिडियाबाजी भएको छ। यहाँ एक थोपा राहत झरेको छैन," उनले गुनासो गरिन्।
आफन्तसँग सञ्चारसम्पर्क हुन नपाएका अवस्थामा स्थानीयवासीहरूले पीडा व्यक्त गरिरहँदा उनीहरूको चासो सम्बोधन गर्न प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए।
"हामीले केही जेनरेटर उपलब्ध गराइदिन आग्रह गरिरहेका छौँ। तर अहिले आएको छैन भन्ने जवाफ पाएका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
स्थानीय बासिन्दाले हाल आफूहरूसँग उपलब्ध खानेकुराले गर्जो टारिरहेका उपाध्यक्ष चण्डिकाले बताइन्। सञ्चारसम्पर्कको आवश्यकताबारे उनले भनिन्, "बरु तत्कालै भोकमरीले नमर्लान्, आफ्ना मान्छेहरूसँग टेलिफोन सम्पर्क नभएर पीरले पो मर्लान् जस्तो छ।"
'स्वास्थ्यकर्मीकै खानेकुरा सकिँदै'
स्थानीय स्तरमै रहेका स्वास्थ्यकर्मीकै खानेकुरा सकिन लागेको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख निमा नोर्बु तामाङले बताए।
"पालिकाका अरू कर्मचारी र सबै स्वास्थ्य कर्मचारीहरूको खाना पकाउने ग्यास सकिसकेको छ। अहिले दाउरामा पकाएर खाइरहेका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"खानेकुरा पनि अब एकदुई दिनलाई पुग्ने जति मात्र छ। आशा छ त्यो बेलासम्म कतैबाट राहत आइपुग्ला कि," निमाले आशा व्यक्त गरे।
पालिका कार्यालय रहेको वडा नं ४ मा अहिले अरू वडाबाट आएका मानिसहरू आएर १,५०० देखि २,००० का हाराहारीमा बसिरहेका उनले सुनाए।
बत्ती नहुँदा आफन्तसँग कुराकानी पनि गर्न नसकेको स्थानीय बासिन्दाको गुनासोबीच मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइदिएको निमाले बताए।
"गाउँलेहरू यहीँ आएर मोबाइल फोन चार्ज गरिरहेका छन्। 'मल्टिप्लग' राखिदिएर चार्ज गर्न दिएका छौँ," उनले सुनाए।
'दश प्रतिशत बाँकी होलान्'
रसुवाकै गोसाईँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीपछि आफ्नो गाउँपालिकाका कम्तीमा १,५०० जना व्यक्ति हराइरहेको बीबीसीलाई बताएका छन्।
उनका अनुसार वडा नं २ र ५ सबैभन्दा बढी प्रभावित भएका छन्। "वडा नं २ का त १० प्रतिशत मात्र बाँच्न सफल भएका होलान्," बीबीसी न्यूज नेपालीसँग उनले भने।
उद्धार गरेर सदरमुकाम धुन्चेस्थित होल्डिङ सेन्टरमा केही मानिसहरूलाई ल्याएर राखिएको र अधिकांशलाई काठमाण्डूको स्वयम्भूमा राखिएको कैसाङले जानकारी दिए।
बाढीले सडकहरू बगाउँदा एउटा वडाबाट अर्को वडामा जान सक्ने अवस्था नरहेको उनले सुनाए। "गाउँपालिकामा बस्ने अवस्था छैन, केही बाँकी नै छैन," अध्यक्ष कैसाङले अगाडि थपे।
उनको गाउँपालिकाको वडा नं ५ का २६ जना कर्मचारी पनि हराइरहेका छन्, जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन।
पीडितहरूले गाँसबाँसको यथोचित प्रबन्ध मिलाउन र धार्मिक रीतिरिवाजअनुसार मृतकको अन्तिम संस्कारको व्यवस्था मिलाइदिन आग्रह गरिरहेको उनले सुनाए।
"सिङ्गो जिल्लामा बिजुली नभएको अवस्थामा ठाउँठाउँमा चार्जिङ गर्ने व्यवस्था मिलाउन सके प्रभावितहरूसँग सम्पर्क गर्न सजिलो हुन्थ्यो," अध्यक्ष कैसाङले भने।
'बेत्रावतीमा पनि राहत छैन'
विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीमा पनि राहत नपुगेको प्रभावितका आफन्तले बताएका छन्।
मामाघरका छ जना सदस्य गुमाएका नुवाकोट दरबारका सुरेन्द्रलाल श्रेष्ठले अहिलेसम्म राहत नपुगेको बीबीसीलाई बताए।
"[आइतवार] भर्खरै गृहमन्त्रीज्यू आउनुभएको थियो। उहाँले हेलिप्याड बनाउन भन्नुभयो। हेलिप्याड बन्नासाथ हेलिकप्टरबाट राहत पठाउने कुरा छ। अहिलेसम्म त केही छैन," बीबीसी न्यूज नेपालीसँग उनले सुनाए।
त्यहाँ घरका छतमा रहेका केही शव उठाउन बाँकी रहेको पनि श्रेष्ठले सुनाए।
प्रयास जारी छ - प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अधिकारीहरूले सबै ठाउँमा राहत पुर्याउने प्रयास जारी रहेको बताएका छन्।
बीबीसीसँग कुरा गर्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, "रसुवाको हकमा अलिकति समस्या भएकै हो। तर बिस्तारै सुधार हुँदै गएको छ। हिजो मात्र १३ वटा जीपमार्फत् राहत सामग्री पठाएका छौँ।"
"जहाँजहाँ पूरै सडक सम्पर्कविच्छेद भएको छ, त्यहाँ कसरी पुर्याउन सकिन्छ भनेर काम गरिरहेका छौँ। कतिपय ठाउँमा बाटो बनाउँदै, डोजरले बाटो खुलाउँदै राहत सामग्री पुर्याइरहेका छौँ," उनले अगाडि थपिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















