प्रधानमन्त्री बालेन नबोल्दा 'गणतन्त्रमै गडबडीको गन्ध?'

तस्बिर स्रोत, PMO
गणतन्त्र र नागरिक आन्दोलनका दुई अगुवाको नजरमा प्रधानमन्त्री बालेन विचलन र विपरीत बाटोतर्फ बढ्न थालेको शङ्का छ। किन?
काठमाण्डूको टुँडिखेलस्थित सैनिक मञ्चमा राज्यका सबैजसो विशिष्ट व्यक्तिहरू सहभागी भएर हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने प्रचलन छ।
नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूसमेत आमन्त्रित गरिने कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका छन्।
तर यसपटक प्रधानमन्त्री वालेन्द्र शाहको साटो राष्ट्रपतिले सम्बोधन गर्दै छन्।
"सम्माननीय राष्ट्रपति शुक्रवार बिहान ८:४५ मा टुँडिखेल पुग्ने कार्यक्रम छ," राष्ट्रपतिका सञ्चार विज्ञ किरण पोखरेलले भने, "त्यहाँबाट उहाँले सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ।"
सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको हो।
तर परम्परा तोड्दै गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को घोषणाले एउटा वृत्त तरङ्गित बनेको देखिएको छ।
राजा महेन्द्र, प्रधानमन्त्री बालेन र झस्काउने तीन कारण

तस्बिर स्रोत, EPA/Shutterstock
२०६२/६३ सालको जनआन्दोलनलाई उचाइ दिएको मानिने नागरिक आन्दोलनका एक अगुवा अधिकारकर्मी कृष्ण पहाडी कट्टर गणतन्त्रवादी मानिन्छन्।
उनलाई तीन वटा कुराले प्रधानमन्त्रीप्रति शङ्का गर्ने अवस्था महसुस भएको छ।
"अधैर्य हो वा साङ्केतिक हो—राष्ट्रपतिले बोलिरहेका बेला उठेर हिँड्नुभयो। संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो-- गणतन्त्र दिवसमा बोल्दिन भन्नुभयो," पहाडी भन्छन्, "तेस्रो—उहाँ संसद्मा पनि बोल्नुहुन्न, संसद्मा (व्यवस्थापिकामा) कार्यपालिकाको छाया पर्यो।"
कार्यपालिकामा प्रधानमन्त्रीकै सर्वोच्चता मात्र नभएर अन्य मन्त्रीहरूको अवस्थालाई "कठपुतली" सँग दाँज्छन् उनी।
यस्तो अवस्थामा न्यायपालिकाले कार्यकारीको प्रभाव पर्न नदिन सजगता अपनाउनु पर्ने पहाडी औँल्याउँछन्। किनकि उनको बिचारमा सरकार र संसद्मा कार्यकारीको एकाधिकार भएमा त्यसले निर्देशित लोकतन्त्रको अभ्यासतर्फ डोर्याउँछ।
"तत्कालीन राजा महेन्द्रले विदेशका राष्ट्राध्यक्षहरू आउँदा जङ्गी पोसाक लगाउनु हुन्थ्यो, पछि कसैले भनेर हो कि दौरा सुरुवाल लगाउन थाल्नु भयो," अधिकारकर्मी पहाडी भन्छन्, "कतै बालेन शाहजीमा पनि जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शङ्का गर्ने ठाउँ उहाँ आफैले दिनु भयो।"
उनले हालकै आम चुनावबाट जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुशासनको निम्ति काम गर्ने आदेश दिएको बताए।
"फोहर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधिसम्मत गर्नुहोस् तर लोकतन्त्र विरोधीको लौरो नबन्नुहोस्," पहाडीले प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन्, "इतिहासले अमृत दिएको छ, नपोख्नुहोस्।"
प्रधानमन्त्रीले 'सम्बोधन गर्नुपर्ने शङ्का'

तस्बिर स्रोत, House of Representatives
संविधानसभा सदस्य तथा राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ पनि दोस्रो जनआन्दोलनताका भएको नागरिक आन्दोलनका एक अगुवा थिए।
उनलाई अहिले नै सरकार र प्रधानमन्त्री बालेनबारे टिप्पणी गर्ने बेला भएको जस्तै लाग्दैन।
श्रेष्ठका बिचारमा प्रधानमन्त्री संसद्मा नबोल्नु संसदीय व्यवस्थामा निकै ठूलो घटना हो, गणतन्त्र दिवसमा नबोल्नु अर्को ठूलो घटना।
"राजनीतिक रूपले यी साधारण घटना होइनन्। यो नेपालको लोकतन्त्रको लागि राम्रो सङ्केत होइन," उनले भने। के गणतन्त्रप्रति प्रधानमन्त्री बालेनको प्रतिबद्धताप्रति नै उनको शङ्का हो? बालेन र उनको दलको प्रतिबद्धताको कारण त्यतिसम्म शङ्का गर्दैनन् उनी।
"गणतन्त्रप्रति नै उनको पक्षधरता छैन भनेर भनिहाल्ने स्थिति छैन। तर केमा बोल्ने केमा नबोल्ने भन्ने कुरा प्रधानमन्त्रीले खुट्याउन सक्नुपर्छ," उनले भने, "नबोल्ने मनोवृत्ति हो कि संसद्प्रति नै उत्तरदायी नहुने मनोवृत्ति हो। प्रश्न उठेको छ। नबोल्ने, कम बोल्ने र काम बढी गर्ने भन्ने स्वभाव प्रधानमन्त्रीको देख्दै छु। त्यो पनि एउटा प्रवृत्ति हुन सक्छ। त्यसो गर्दा पनि अत्यावश्यक कुरामा बोल्न जरुरी हुन्छ।"
गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले गणतन्त्र दिवसमा उनैले सम्बोधन गर्दा सुहाउँदो हुने तर्क गर्नेहरूले सरकारको कदमलाई स्वाभाविक रूपमा लिएका छन्।
समारोहको आयोजक सरकार हो, उसकै सिफारिसमा राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय भएको हो। अनि शङ्का किन?
"तर उनी संसद्मा पनि बोल्न गइरहेका छैनन्, त्यसैले कि त बोल्नु पर्यो कि त किन नबोलेको भन्ने कुरा आउनु पर्यो, या भने यो यो कुरामा प्रधानमन्त्रीको सम्बोधन आवश्यक नहुने भन्ने नीति बनाउनु पर्यो," राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, "त्यसो हुँदा जनताले 'ए यो यो कारणले यो कुरा नबोलेको रहेछ' भनेर चित्त बुझाउँछ। समाधान गर्ने दायित्व प्रधानमन्त्रीकै हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















