गाईगोरु तस्करीमा 'पश्चिम बङ्गाल साइड इफेक्ट' नेपालमा कस्तो?

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

झापा जिल्लामा सोमवार पशुमा लाग्ने खोरेत रोगसम्बन्धी एउटा कार्यक्रम थियो। त्यहाँ नेपालबाट भारततर्फ हुने गाईगोरुको अवैध निकासीबारे चर्चा चल्यो।

भेटरनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भद्रपुर झापाकी प्रमुख शीतल भट्टराईका अनुसार सीमावर्ती भारती राज्य पश्चिम बङ्गालमा नयाँ सरकार बनेपछि विगतमा हुने गरेको तस्करीको प्रसङ्ग उठेको थियो।

"अनौपचारिक कुराकानीका क्रममा नेपाली हाट बजारबाट किसानले नकिनेमा भारततर्फ अवैध निकासी हुने र भाजपा सरकारले तस्करी नियन्त्रणमा कडाइ गरिरहेको कुरा भएको थियो," उनले भनिन्।

गोरक्षामा जोड दिँदै आएको भारतीय जनता पार्टी (भाजपा) को पश्चिम बङ्गाल सरकारले लिएको नीतिसँगै भारतमा पशु हाट प्रभावित बनेको खबरहरू आइरहेका छन्।

अल जजिराले सोमवार प्रकाशित गरेको समाचारमा मुस्लिमहरूको पर्व ईद सँघारमा आइपुग्दा पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको बाहिरी इलाकामा रहेको फैलिएको धुलागढ हाट सुनसानजस्तै रहेको उल्लेख छ।

भारत र बाग्लादेशसँग किन जोडियो नेपाल?

पश्चिम बङ्गालमा भाजपाको नयाँ सरकार बनेलगत्तै राज्यको पशुबधसम्बन्धी सन् १९५० को कानुन कडाइका साथ लागु गर्ने निर्णय गरेको छ।

त्यसमा सार्वजनिक रूपमा बध गर्न नपाइने लगायत विभिन्न मापदण्डहरू छन्।

त्यस्तै पश्चिम बङ्गाल सरकारले बाङ्ग्लादेशमा र त्यहाँबाट हुने अवैध कारोबार रोक्न भन्दै सिमानाभरि तारबार लगाउने निर्णय गरेको छ।

जानकारहरूका अनुसार त्यो अवैध कारोबारमा गाईगोरुको तस्करी पनि पर्छ। त्यस्तो तस्करी बिहार तथा झारखण्ड लगायतका भारतीय राज्यबाट मात्र नभई नेपालबाट समेत पश्चिम बङ्गाल हुँदै बाङ्ग्लादेशतर्फ हुने गर्छ।

"तारबार लगाउने काम हुन थालेपछि अवैध निकासी निकै कम भएको कुरा सुनेको हो," भट्टराईले भनिन्, "सशस्त्र प्रहरी वा पशु क्वारन्टीनका प्रमुखलाई धेरै जानकारी होला।"

पशु क्वारन्टीन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख मुकेशकुमार सिंहका अनुसार पश्चिम बङ्गालको परिवर्तित परिस्थितिको प्रभाव नेपालमा पनि देखिएको छ।

"शत प्रतिशत रोक्न त गाह्रो छ, तर पश्चिम बङ्गालमा भएको चुनावलगत्तैदेखि पहिलेको तुलनामा गाईगोरुको अवैध निकासी ठप्पजस्तै रहेको बुझिएको छ," उनले भने, "पश्चिम नेपालबाट झापा आउने क्रम पनि निकै कम देखिन्छ। निस्किने ठाउँ नभएर होला।"

पश्चिमबाट झापा हुँदै बाङ्ग्लादेश 'तस्करी'

गाई राष्ट्रिय जनावर भएकाले कानुनतः व्यावसायिक प्रयोजनको निम्ति विदेश आयात निर्यात गर्न पाइँदैन।

एउटा जिल्लाबाट अर्को जिल्ला लग्न वडा/पालिकाको सिफारिस, स्वास्थ्य प्रमाणपत्र लगायतका कागजात आवश्यक हुन्छ।

जानकारहरूका अनुसार गाईगोरुको तस्करी गर्ने अधिकांशले सबै कागजात र प्रक्रिया मिलाएका हुन्छन्।

सामान्यतया ढुवानी अनुमति प्राप्त संस्थाले कागजात मिलाएर झापा-मोरङ पुर्‍याउने गरेको बताइन्छ।

त्यसरी ढुवानी गरिँदा विभिन्न जिल्लामा हिन्दु सङ्घ संस्थाहरूले निगरानी गर्ने समातेर प्रहरीको जिम्मा लगाउने गरेको देखिन्छ।

सिराहामा पनि हालसालै हिन्दू युवाहरूले गाईगोरुको तस्करी हुन लागेको भनेर अवरोध गर्न खोजेका थिए।

"गाईगोरुको तस्करीको आरोपमा अवरोध गर्न खोजेको सूचना आएको थयो, तर त्यस्तो केही भएन," जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले भने, "अहिले (त्यस्तो अवैध ओसारपसार) केही छैन।"

पूर्वबाट पश्चिमतर्फ लग्दा मकवानपुरमा पनि धेरै गाईगोरु समातिने गरेका थिए।

पशु सेवा कार्यालय हेटौँडा, मकवानपुरका प्रमुख डा रामप्रकाश प्रधानका अनुसार कानुनविपरीत ढुवानी गरेको र स्वास्थ्य प्रमाणपत्र नभएको अवस्थामा नियन्त्रणमा लिइने गरेको छ।

"कानुनअनुसार ढुवानी रोक्न मिल्दैन," उनले भने, "कानुनअनुसार सबै मिलाएको छ भने त भारत लग्न खोजेको भनेर कसरी भन्ने? त्यसैले ओभरलोड र भेटरनरी पत्र नभएकाहरू समातिने गरेका छन्।"

क्वारन्टीन कार्यालयलाई सक्रिय बनाउनुपर्ने खाँचो औँल्याउँदै उनले 'ट्रेस' गर्न सकिए मात्र गाईगोरु भारत पुग्ने गरेको थाहा हुने बताए।

तस्करीबारे 'सबै जानकार'

तर बीबीसीसँग विगतमा कुराकानी गरेका प्रहरी र उच्च अधिकारीहरूले गाईगोरु हेर्नेबित्तिकै कृषि प्रयोजनको निम्ति हो कि भारत हुँदै बाङ्ग्लादेश पुर्‍याउन खोजिएको हो पत्ता लाग्ने बताएका थिए।

उनीहरूका अनुसार उच्च अधिकारी र नेता तथा कार्यकर्ताहरूकै संरक्षणमा गाईगोरुको तस्करी हुने गरेको थियो।

कागजपत्र सबै मिलाएको भेटिएपछि ढुवानी मापदण्ड पूरा नगरेको भनेर कारबाही गर्ने गरेको उनीहरूले सुनाएका थिए।

कैयौँ जिल्लाहरूमा हिन्दू अभियानकर्मी वा गोसंरक्षणमा लागेकाहरूले प्रहरी प्रशासनसहितको ठूलै मिलेमतोमा 'खुलेआम तस्करी' हुने गरेको आरोप लगाउने गरेका छन्।

गाईगोरुको संरक्षणमा लागेका रुपन्देहीको देवदहस्थित भलुहीमा रहेको कामधेनु गौशालाका अध्यक्ष तथा प्रमुख संरक्षक योगी सोमराजले पनि सार्वजनिक रूपमा त्यस्तो आरोप लगाउने गरेका थिए।

उनले विगतमा आफैँ अग्रसर भएर कैयौँ पटक गाईगोरुको अवैध ओसारपसार रोकेको बताए।

"भाजपा सरकारले गर्दा अहिले गाईगोरुको तस्करी कम भएको त छ तर पूरै रोकिएको छैन," योगी सोमराजले भने, "दुई हप्ताअघि हाम्रै गौशालामा गाईगोरु आएका छन्।"

भारतबाटै पश्चिम नेपालमा गाईगोरु ल्याइने र झापाबाट पश्चिम बङ्गाल निकासी हुने गरेको उनी बताउँछन्।

तर कोशीका प्रहरीका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे भन्छन्, "कडाइ गरेका छौँ, त्यसैले पछिल्लो समय अवैध ओसारपसार निकै कमी आएको छ, गोरक्षकहरूबाट पनि गुनासो कम सुनिन्छ, तर सूचना आउनेबित्तिकै कारबाही गर्ने गरेका छौँ।"

प्रहरीले नियन्त्रणमा लिने चौपायाको व्यवस्थापन भने जटिल हुने गरेको उनको अनुभव छ।

"त्यसैले हामीले नियन्त्रणमा लिएका चौपाया राख्ने ठाउँको व्यवस्थापनको निम्ति पनि विभिन्न निकाय र पक्षसँग अनुरोध गर्ने गरेका छौँ," उनले भने।

भारत-बाङ्ग्लादेशसँग करिब ४,१०० किलोमिटर सिमाना जोडिएको छ। त्यसमध्ये २,२०० किलोमिटर पश्चिम बङ्गालसँग जोडिएको छ।

गृहमन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमध्यमले १,६५० किलोमिटरमा तारबार रहेको र बाँकी ५५० किलोमिटरमध्ये ४५० किलोमिटर सिमानामा तारबार लगाउन सम्भव रहेको उल्लेख गरेका छन्। भाजपा राज्य सरकारले त्यसको जिम्मेवारी दिने भन्दै सीमा सुरक्षा बललाई जग्गा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।

कतिपय ठाउँहरूमा सीमा सुरक्षा बलले त्यसको निम्ति काम अघि बढाइसकेको भारतीय सञ्चारमध्यमहरूले उल्लेख गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।