तिब्बत भूकम्पपछि २४ घण्टाभित्र ५०० भन्दा बढी परकम्प, जमिन १.६ मिटर 'तल भासियो'

भूकम्प गएको शिगात्से सहरमा खटेका उद्धारकर्मीहरू
तस्बिरको क्याप्शन, भूकम्प गएका स्थानहरूमा हजारौँ उद्धारकर्मीहरू परिचालित छन्
Published
पढ्ने समय: ३ मिनेट

चीनको तिब्बतमा शक्तिशाली भूकम्पबाट प्रभावित स्थानमा जारी खोजीमा सहभागी हुन १४,००० भन्दा बढी उद्धारकर्मी पुगेका छन्। मङ्गलवार बिहान गएको भूकम्पका कारण त्यहाँ सयौँ घर भत्किएका र कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको छ।

भूकम्पले सयौँ घर भत्काउँदा धेरै मानिस पुरिएको आशङ्का गरिएको छ। तर त्यस्ता मानिसको सङ्ख्या स्पष्ट हुन सकेको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ४०० जनाभन्दा बढीको उद्धार गरिएको छ।

भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमामा अवस्थित सगरमाथाबाट झन्डै ९० किलोमिटर टाढा छ। एउटा फल्ट लाइनमा पर्ने उक्त क्षेत्रमा भूकम्पीय गतिविधि भइरहन्छ।

यो केही वर्षयता चीनमा गएका विनाशकारी भूकम्पमध्ये पर्छ। बुधवार चीनका उपप्रधानमन्त्री जाङ ग्वचिङ उद्धारकार्यको निरीक्षण गर्न तिब्बत पुगे।

राष्ट्रपति सी जिन्पिङले हताहत हुने मानिसको सङ्ख्या बढ्न नदिन प्रभावकारी उद्धार र राहतका लागि आवश्यक सबै कार्य गर्न मङ्गलवार निर्देशन दिएका थिए। चिनियाँ सेनाले उद्धारकर्ताहरूलाई सघाउन ड्रोनहरू प्रयोग गरेको छ।

तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन्। अहिलेसम्म प्राप्त अधिकांश सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो।

शिगात्सेको जनसङ्ख्या झन्डै आठ लाख छ।

भूकम्पले के गर्‍यो

शिगात्से सहरमा भूकम्पका कारण भत्किएको घरको भग्नावशेषमा उद्धारकर्मीहरू
तस्बिरको क्याप्शन, भूकम्पले शिगात्से सहरमा सयौँ घरहरू भत्काएको छ

अमेरिकी भौगर्मिक सर्वेक्षण निकायका अनुसार उक्त भूकम्प ७.१ म्याग्निट्यूडको थियो र जमिनभन्दा १० किलोमिटर तल उत्पन्न भएको थियो। भूकम्प नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो।

शक्तिशाली भूकम्प गएको २४ घण्टाको अवधिमा तिब्बतमा ५०० वटाभन्दा बढी परकम्प मापन गरिएको अधिकारीहरूले बताएका छन्।

उक्त भूकम्पका कारण केन्द्रबिन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन १.६ मिटरसम्म तल भासिएको दाबी गरिएको छ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुनले सरकारी टेलिभिजन सीसीटीभीलाई बताएअनुसार म्याग्निट्यूड ५ सम्मको अर्को भूकम्प जान सक्छ। "तर ठूलो भूकम्प जाने सम्भावना न्यून छ।"

मौसम कस्तो छ

शिगात्से सहरमा भूकम्पपछि विस्थापित मानिसलाई जोगाउन बनाइएको पाल
तस्बिरको क्याप्शन, तिब्बतमा हजारौँ मानिस विस्थापित भएका छन्

भूकम्पको केन्द्रबिन्दु रहेको स्थाननजिकै अवस्थित अतिप्रभावित शिगात्सेमा राति तापक्रम माइनस १८ डिग्री सेल्सिअस पुगेको थियो।

अधिकारीहरूले ३,६०० वटाभन्दा बढी भवन भत्किएका र हजारौँ मानिस बेघर भएको अनुमान गरेका छन्। विज्ञहरूका अनुसार भत्किएका भवनमा पुरिएका वा उपयुक्त आश्रयस्थलमा बस्न नपाएका मानिसहरू कठ्याङ्ग्रिने जाडोका कारण बिरामी पर्न सक्ने जोखिम उच्च छ।

उद्धारकर्मीहरूले भूकम्पका कारण विस्थापित हजारौँ मानिसलाई ‍जाडोबाट जोगाउन पाल गाड्न थालेका छन्।

सरकारको स्वामित्वमा रहेको 'पीपल्स् डेली' पत्रिकाका अनुसार उक्त क्षेत्रमा तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। केन्द्रबिन्दुनजिकै रहेको टिङ्ग्री काउन्टीमा बुधवार विद्युत् आपूर्ति हुन थालेको छ। त्यहाँ मोबाइल फोन सेवा पनि फेरि सञ्चालन भएको छ।

टिङ्ग्री चीनपट्टिबाट सगरमाथा अवलोकन गर्न वा आरोहण गर्न आउने मानिसहरूका लागि लोकप्रिय स्थान हो। उक्त स्थानबाट सगरमाथा हेर्न बनाइएका कार्यक्रमहरू स्थगित भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।