किन केही भूकम्प बढी विनाशकारी हुन्छन्? यस्ता छन् मुख्य कारण

भेनेजुएलाको एउटा सहरमा भूकम्पपछि आगलागीका कारण जलेका भवनहरूनजिकै उभिएका एक महिला र एक पुरुष

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: १० मिनेट

एक मिनेटको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण भेनेजुएलाको राजधानी कराकसमा बुधवार कैयौँ भवनहरू भत्किए। सार्वजनिक बिदाका दिन साँझपख आएका भूकम्पका कारण दर्जनौँ मानिसको ज्यान गयो भने सयौँ मानिस घाइते भए।

उद्धारकर्ताहरूले भत्किएका भवनका अवशेषमा मानिसहरूलाई खोज्दै छन्। मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले पहिलो भूकम्प ७.२ र दोस्रो भूकम्प ७.५ म्याग्निट्यूड मापन गरेको छ। कोलम्बियाको राजधानी बोगोटासम्म भूकम्प महसुस भएको थियो।

अहिले अधिकारीहरू क्षतिबारे विवरण सङ्कलन गर्दै छन्। यूएसजीएसले मृतकहरूको सङ्ख्या १०,००० देखि एक लाखसम्म हुन सक्ने सम्भावना ४० प्रतिशत रहेको जनाएको छ।

अफगानिस्तानको पूर्वी भेगमा गत वर्ष ३१ अगस्टमा राति ६.० म्याग्निट्यूडको भूकम्प जाँदा सयौँ मानिसको मृत्यु भएको थियो।

देशको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रबिन्दु रहेको उक्त भूकम्प जमिनभन्दा केवल आठ किलोमिटरमुनि उत्पन्न भएको थियो।

भूकम्पलाई कुन कुराले धेरै घातक बनाउँछ त? भूकम्पमा हुने जनधनको क्षति प्रभावित पार्ने कैयौँ कारक तत्त्व हुन्छन्। तीमध्ये केही महत्त्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिएको छ।

म्याग्निट्यूड र अवधि

फिलिपिन्सको बोगो सिटीमा भूकम्पका कारण भत्किएका भवनका अवशेषनजिकै कुर्सीमा बसेका एक पुरुष र उभिएकी एक महिला

तस्बिर स्रोत, Anadolu via Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष अक्टोबरमा फिलिपिन्सको बोगो सिटीमा ६.९ म्याग्निट्यूडको भूकम्पपछि कैयौँ परकम्पहरू मापन गरिएको थियो

भूकम्पहरूलाई 'मोमन्ट म्याग्निट्यूड स्केल' मा मापन गरिन्छ। यसअघि हामी धेरैले सुन्दै आएको 'रिक्टर स्केल' लाई यो मापनले प्रतिस्थापित गरेको छ। किनभने पुरानो मापन प्रणालीभन्दा नयाँ प्रणाली बढी तथ्यपरक रहेको बताइन्छ।

भूकम्पको धक्का 'फल्ट लाइन'को दूरी र त्यसलाई हलचल गराउने शक्तिका आधारमा मापन गरिन्छ।

हामी २.९ वा त्यसभन्दा तलका भूकम्पहरू महसुस गर्न पनि सक्दैनौँ। तर उपकरणहरूले त्यस्ता साना भूकम्प पत्ता लगाउन सक्छन्। त्यसभन्दा माथिका भूकम्पहरू प्रायजसो महसुस गर्न सकिन्छ र तिनले कहिलेकाहीँ सानोतिनो क्षति पनि पुर्‍याउन सक्छन्।

भेनेजुएलामा २४ जुलाईमा गएका दुइटा भूकम्प 'शक्तिशाली' वर्गमा पर्छन्। त्यस्ता भूकम्पले ठूलो क्षति पुर्‍याउन सक्छन्।

मोरक्कोमा सन् २०२३ मा गएको म्याग्निट्यूड ६.८ को भूकम्पलाई मध्यमदेखि ठूलो धक्काको रूपमा वर्गीकरण गर्न सकिन्छ। त्यसअघि गत टर्कीमा गएको म्याग्निट्यूड ७.८ को भूकम्प चाहिँ ठूला भूकम्पमध्येमा पर्छ। गत ज्यानुअरीमा तिब्बतमा गएको भूकम्प म्याग्निट्यूड ७.१ को थियो। उक्त भूकम्प नेपालमा पनि महसुस भएको थियो।

म्याग्निट्यूड ८.० भन्दामाथिका भूकम्पलाई "महाभूकम्प" भनिन्छ। त्यस्तो भुइँचालोले केन्द्रबिन्दुनजिकै ठूलो विनाश निम्त्याउँछ।

अहिलेसम्म रेकर्ड गरिएकामध्ये सबैभन्दा ठूलो भूकम्प सन् १९६० मा चिलीमा भएको थियो। उक्त भूकम्प मोमन्ट म्याग्निट्यूड स्केलमा ९.५ मापन गरिएको थियो। दुइटा टेक्टोनिक प्लेटबीच रहेको भाग भत्किँदा त्यति विनाशकारी भूकम्प गएको थियो।

भूकम्पको परिमाणका आधारमा गरिएको वर्गीकरण र भूकम्पका प्रकारले गर्न सक्ने क्षति

भूकम्पको म्याग्निट्यूडसँगै त्यसको कम्पन कति समयसम्म चलिरहन्छ भन्ने कुराले पनि यसको विनाशकारी शक्तिमा फरक पर्न सक्छ।

“साना भूकम्पहरूको कम्पन केही सेकेन्ड मात्रै रहन्छ भने मध्यम वा ठूला भूकम्पहरूको कम्पन केही मिनेटसम्मै जारी रहन्छ,” प्यासिफिक नोर्थ वेस्ट साइस्मिक नेटवर्कले भनेको छ।

सन् २००४ मा सुमात्रामा दुई मिनेटसम्म भुइँचालोको कम्पन महसुस भएको थियो।

भूकम्पको क्षति गर्न सक्ने क्षमता देखाउने चित्र
तस्बिरको क्याप्शन, गत जुलाई महिनामा रुसको सुदूरपूर्वी तटनजिकै गएको म्याग्निट्यूड ८.८ को भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ ठूलो हो

गहिराइ

भूकम्पीय जोखिम बुझाउने चित्र

भूकम्पको आकार र अवधि मात्रै महत्त्वपूर्ण तत्त्व चाहिँ होइनन्। पृथ्वीमा भूकम्प उत्पन्न हुने स्थान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

मोरक्कोको कुरा गर्ने हो भने भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा १८ किलोमिटर गहिराइमा थियो।

यो गहिराइ भनेको सर्वोच्च शिखर सगरमाथाको उचाइभन्दा दोब्बर हो। यद्यपि भौगोलिक मापदण्डका आधारमा यसलाई धेरै गहिरो चाहिँ मानिँदैन।

सन् २०२४ मा म्यान्मारमा गएको भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको थियो।

भूकम्पका कारण म्यान्मारमा हजारौँ मानिसको मृत्यु भयो। छिमेकी देश थाईल्यान्डमा पनि धनजनको क्षति भयो।

“यो भूकम्प तुलनात्मक रूपमा कम गहिराइमै गएको हो। त्यसको अर्थ त्यसभन्दा माथिको भागमा कम्पनलाई कम गराउने सतह हुँदैन। त्यसकारण कम्पन र हलचल धेरै सक्रिय हुन्छ,” पोर्टस्मथ विश्वविद्यालयकी भूगर्भशास्त्री कार्मेन सोलानाले बीबीसीसँग भनिन्।

इन्डोनेशियाको नोर्थ मलुकु प्रान्तमा गएको म्याग्निट्यूड ६.२ को भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १६८ किलोमिटर गहिराइमा थियो। उक्त भूकम्पका कारण कसैको मृत्यु भएन।

यूएसजीएसका अनुसार गत वर्ष जुलाईको अन्त्यतिर रुसमा गएको म्याग्निट्यूड ८.८ को भूकम्प जमिनको सतहभन्दा १८ किलोमिटर तल उत्पन्न भएको थियो। त्यहाँ पनि जनधनको खासै क्षति भएन।

भूकम्पको समय

माराकेशमा सन् २०२३ मा आएको भूकम्पमा आफन्त गुमाएकी एक शोकविह्वल महिलालाई सान्त्वना दिन समाउँदै दुई महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भूकम्पले जनधनको ठूलो क्षति निम्त्याउन सक्छ तर त्यसको मात्रा केही कारक तत्त्वहरूमा भर पर्छ

मोरक्कोमा भूकम्प राति ११ः११ बजे गएको थियो। भूकम्प कुन बेला जान्छ त्यो समयले पनि त्यो कति घातक हुन्छ भन्ने निर्धारण गर्छ।

“मानिसहरू सुतिरहेको समयमा धेरै भवनहरू भत्किन सक्छन्,” डा सोलाना भन्छिन्।

मोरक्कोमा मारिएका धेरै मानिस भत्किएका भवनहरूमा पुरिएका थिए। किनभने भूकम्पविद्हरूले भन्दै आएका नै छन्: “भूकम्पले मानिसहरू मार्दैन भवनले मार्छ।”

दिउँसोको समयमा गएको भूकम्पले कम मानवीय क्षति गर्न सक्छ किनभने दिउँसो कम मानिसहरू मात्रै घरभित्र रहन्छन्।

भवनको निर्माण

प्रतिरोधी घरको चित्र
तस्बिरको क्याप्शन, जापानी इन्जिनियरहरूले भूकम्प प्रतिरोधी अग्ला भवनहरू बनाउने गरेका छन्

विनाशकारी भूकम्पहरूमा पनि नढल्ने किसिमले घरहरू निर्माण गर्न सम्भव भइसकेको छ। यसो गर्नका लागि भवनले आफूमा पर्ने धेरै भूकम्पीय शक्तिलाई सकेसम्म कम गरेर व्यवस्थापन गर्न सक्नुपर्छ।

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार विश्वको सबैभन्दा धेरै भूकम्पीय जोखिममा रहेको देश जापान हो र यो देश भूकम्प प्रतिरोधी भवन निर्माणमा अग्रणी छ।

'साइस्मिक आइसोलेशन' भन्ने प्रक्रियाबाट पनि भवनहरूमा भूकम्पको जोखिम कम गर्न सकिन्छ।

यसमा भवनहरू कम्पन सोस्ने 'बिएरिङ' माथि बनाइन्छ।

यस्ता 'बिएरिङ' हरू ३० देखि ५० सेन्टिमिटरका मात्रै पनि हुन सक्छन्।

तर घरको जगमै यस्तो बनाउने प्रविधि महँगो छ। मोरक्को, तिब्बत र अफगानिस्तानका ग्रामीण इलाकामा भत्किएका धेरै घरहरू काँचो इँटा वा ढुङ्गा र काठपात प्रयोग गरेर बनाइएका थिए।

कतिपय ठूला र अग्ला भवनहरू भूकम्पका कारण ढल्दा त्यसले ठूलो क्षति पुर्‍याउन सक्छ।

टर्कीमा फेब्रुअरीमा गएको भूकम्पमा पनि धेरै घरहरू भत्किनुको कारण त्यहाँको कमजोर भवन निर्माण मापदण्ड र त्यसको उल्लङ्घन थियो।

विज्ञहरू भूकम्प शक्तिशाली नै भए पनि राम्रोसँग बनाइएका घरहरूले त्यसको सामना गर्न सक्ने बताउँछन्।

जनघनत्व

विश्वभरि रहेका मुख्य टेक्टोनिक प्लेटहरू

अलास्का प्रायःद्वीपमा सन् २०२१ मा ८.२ म्याग्निट्यूडको भूकम्प गयो। तर धेरैले त्यो भूकम्प बिर्सिसकेका पनि हुन सक्छन्।

अमेरिकी इतिहासमै सातौँ ठूलो भूकम्पमा न कसैको मृत्यु भयो न कोही घाइते भए।

यसको एउटै प्रमुख कारण यो पृथ्वीको बाहिरी सतहभन्दा धेरै गहिराइमा गएको थियो र केन्द्रबिन्दु पनि मानिसहरूको बसोबास क्षेत्रभन्दा निकै टाढा थियो।

तर सन् २०१० मा हेइटीमा गएको म्याग्निट्यूड ७.० को भूकम्पमा ठूलो जनधनको क्षति भयो।

उक्त भूकम्पमा २,५०,००० भन्दा धेरै मानिसहरू मारिएको, ३,००,००० जना घाइते हुनुका साथै १५ लाख मानिसहरू घरबारविहीन भएको बताइन्छ।

उक्त भूकम्पको सबैभन्दा ठूलो धक्का नै धेरै मानिसहरू बसोबास गर्ने पोर्ट-ओ-प्रिन्स सहरमा महसुस भएको थियो जहाँ एक वर्ग किलोमिटरमा २७,००० जनाको बसोबास छ।

माटोको प्रकार

सन् १९०० पछि गएका १० वटा सबैभन्दा ठूला भूकम्प र विश्वको नक्सा

भूकम्पमा बाँच्ने सम्भावना हामी उभिएको भूमिको माटो कति ठोस छ भन्ने कुरामा पनि भर पर्छ।

यदि बाहिरी सतहकै छेउसम्म पानी जम्मा भएको र माटो कसिएको छैन भने भूकम्पका क्रममा जमिन हल्लिने सम्भावना निकै बढी हुने अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसको ठहर छ।

जमिनमुनि यस्तो तह भएको अवस्थामा त्यहाँको माटो पनि पानी जसरी नै हलचल गर्न थाल्छ। त्यसो हुँदा भूकम्पबाट हुने क्षति बढ्छ। यसको उदाहरण जापानको निगाटा सहरमा सन् १९६४ मा गएको भूकम्प हो।

तर टर्कीमा गएको भूकम्पबाट वरिपरिका सबै सहरहरूमा संरचनाहरू भत्किँदा पनि एर्जिन सहरमा कुनै उल्लेख्य क्षति भएन। त्यहाँ एक जनाको पनि मृत्यु भएन र घरहरू पनि ढलेनन्।

भूगर्भविद्हरूका अनुसार उक्त सहर जोगिनुमा त्यहाँको सतहमुनि रहेको सुरक्षित तह र चट्टानको भूमिका छ।

आपत्कालीन उद्धार

भूकम्पले भत्काएको घरको भग्नावशेषमा कुकुर प्रयोग गरेर खोजीकार्य गर्दै एक उद्धारकर्मी

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, छिटो र प्रभावकारी उद्धारले भूकम्पमा धेरैको ज्यान बचाउनसक्छ

प्राकृतिक प्रकोपको पूर्वतयारी मानिसहरूको जीवनरक्षाको सबैभन्दा महत्त्वपूर्ण तत्त्व बन्न सक्छ।

जापानमा विद्यालयहरूले हरेक वर्ष दुई पटक विद्यालयमा भूकम्प आउँदा जोगिने उपायबारे पूर्वाभ्यास आयोजना गर्नुपर्छ। विद्यार्थीहरूलाई घरमा, बाहिर वा सवारी साधनमा रहेको समयमा पनि भूकम्प आउँदा कसरी जोगिने भन्नेबारे सिकाइन्छ।

ताइवानले उद्धारकर्ताहरूको क्षमता जाँच गर्नका लागि राष्ट्रव्यापी आपत्कालीन अभ्यास आयोजना गर्छ। तर सबै देशहरूमा त्यस्तो प्रचलन छैन। विशेष गरी निकै कम भूकम्प जाने गरेका देशहरूमा यसबारे सिकाइँदैन।

आपत्कालीन समयमा उद्धारका लागि खटिने टोलीको तीव्र काम गराई निकै महत्त्वपूर्ण हुन्छ।

टर्कीको भूकम्पमा १० दिनसम्म पनि भग्नावशेषमा च्यापिएका मानिसहरूको जीवितै उद्धार भएको भए पनि धेरैजसो घाइते भएका र च्यापिएका मानिसहरू लामो समयसम्म बाँच्न सक्दैनन्।

यसकारण पनि पारवहन पूर्वाधार र त्यस्ता पूर्वाधारमा क्षति भएको खण्डमा तिनलाई पुनः चालु गराउन सक्ने क्षमता विपद्को समयमा निकै महत्त्वपूर्ण हुन्छ।

भूकम्पबाट प्रभावित कम सडक सञ्जाल रहेको मोरक्कोका ग्रामीण क्षेत्रका अधिकांश सडकहरू पहिरो र भग्नावशेषका कारण अवरुद्ध भएका थिए र त्यसले गाउँहरूमा आपत्कालीन उद्धार कार्य प्रभावित भएको थियो।

सहयोगका लागि गरिएका अन्तर्राष्ट्रिय प्रस्तावहरू स्वीकार गर्न ढिलो गरेकोमा पनि मोरक्कोको सरकारको आलोचना भएको छ।

अरू प्रभाव

भवनहरू ढल्नु मात्रै पनि भूकम्पका कारण हुने ठूलो स्तरको मृत्युको मुख्य कारण नहुन सक्छ।

समुद्रमुनि हुने भूकम्पका कारण निम्तिने सुनामीहरूको उच्च जोखिममा तटीय क्षेत्रमा बस्ने मानिसहरू रहन्छन्।

सन् २००४को एशियन सुनामी सुमात्रा टापुनजिकै हिन्द महासागरमा गएको म्याग्निट्यूड ९.१को भूकम्पका कारण उत्पन्न भएको थियो।

उक्त भूकम्प र त्यसपछि उत्पन्न ठूल्ठूला समुद्री छालहरूका कारण एक दर्जन बढी देशहरूमा झन्डै २,३०,००० जनाको मृत्यु भयो।

भूकम्पका कारण उत्पन्न शक्तिशाली समुद्री छालहरूका कारण उक्त महासागरको अर्कोपट्टि निकै टाढाको अफ्रिकाको तटीय क्षेत्रमा पनि मानिसहरूको ज्यान गयो।

पहाडी क्षेत्रमा भूकम्पले पहिरो निम्त्याउँछ जसले घरहरू पुर्नुका साथै सडक अवरुद्ध बनाएर उद्धार कार्यमा असर गर्छ।

सन् २०१५ मा नेपालमा गएको शक्तिशाली भूकम्पमा ९,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।

विश्वभरि आएका ठूला भूकम्पको चित्राङ्कन

गोरखा र सिन्धुपाल्चोक केन्द्र बनाएर गएका दुई वटा छुट्टाछुट्टै भूकम्पका कारण ३,००० वटा पहिरो गएको भूगर्भविद्हरूले बताएका छन्।

सन् १९०६ मा सान फ्रान्सिस्कोमा गएको भूकम्पले २० देखि २५ सेकेन्डसम्म मात्रै जमिन हल्लिएको थियो। तर कम्पन निकै शक्तिशाली भएका कारण सहरको ग्यास र खानेपानीका पाइपहरू ध्वस्त भए।

भूकम्पले टुटेका पाइपहरूबाट चुहिएको ग्यासका कारण आगलागी सुरू भयो र पानीको अभावका कारण आगो नियन्त्रण कठिन भयो। जसले गर्दा उक्त सहरमा ३,००० मानिसहरूको मृत्यु हुन गयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।