तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सांसद र सभामुखबीचको भनाभनले उठायो 'मर्यादाको प्रश्न', सम्बन्धित सांसद के भन्छन्
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
बुधवार प्रतिनिधिसभाको बैठकमा सुरुमै विपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद अर्यालप्रति गरेको टिप्पणीले हङ्गामा मात्रा मच्चिएन, १५ मिनेट सभा नै स्थगन हुन पुग्यो।
उनले सभामुखले "कान सुन्नुहुन्छ कि सुन्नुहुन्न" भनेपछि सभामुख अर्यालले उनलाई "मर्यादामा रहेर भनाइ राख्न" आह्वान गरे।
सांसद राईले सभामुखको अवहेलना गरिरहेको भन्दै सभामुख अर्यालले पटकपटक त्यसलाई 'मर्यादाविपरीत' भने र पछि उक्त टिप्पणीलाई संसद्को रेकर्डबाटै हटाउन पनि निर्देशन दिए।
यसअघि पनि असार २ गते प्रतिनिधिसभामा अनौठो दृश्य देखिएको थियो।
रोस्ट्रममा पुगेका सांसद राई र सभामुख अर्यालबीच करिब पाँच मिनेटसम्म भनाभन भइरह्यो। विनियोजन विधेयकमाथिको छलफलमा नियमानुसार मन्त्रीहरू सबैको उपस्थिति नभएको भन्दै राईले विषयवस्तुमा प्रवेश हुनै मानेका थिएनन्।
के भन्छन् सांसद राई?
बिहीवार बिहान बीबीसीसँग फोनमा कुरा गर्दै सांसद राईले आफूले "भन्न मिल्ने चिज नै भनेको" प्रतिक्रिया दिएका छन्।
किन सभामुखसँग बारम्बार भनाभन गरिरहेको भनेर सोध्दा उनले भने, "मैले केवल हाम्रा नियमावली कार्यान्वयन गर्नुपर्ने र विधिसम्मत सदन चल्नुपर्ने कुरा उठाएकी हुँ।"
बुधवार उनले गरेको टिप्पणीबारे चाहिँ राईले आफूले भाषा मिलाउन खोज्दाखोज्दै माइक काटिएको पनि बताए।
"मैले के भनेको थिएँ भने - 'सभामुखज्यू, तपाईँले कान सुन्नुहुन्न कि क्या हो? तमाम लोकले, नागरिक समाजले यसो भन्न खोजिरहेको छ' भन्न खोज्दाखोज्दै वहाँले माइक काट्नुभएको हो," उनले भने।
पछि रेकर्डबाट हटाइए पनि आफूले विधिसम्मत नै कुरा गरेको उनले बताएका छन्।
सभामुख अर्यालका स्वकीय सचिव नवराज पाण्डेले कानको प्रसङ्गमा सभामुखले उक्त पद र संस्थाको गरिमासँग मेल खाने भाषाको प्रयोग गर्न सांसदलाई सचेत गराएको बताए।
"सुरुमा यो विषय सचेत गराइसकेपछि पनि फेरि बोल्दा वहाँले 'खुट्टी देखिएको' भन्नेजस्ता कुरा गरेपछि केही समय संसद्को कारबाही स्थगन भएको थियो। पछि नेकपा एमालेका प्रमुख सचेतकसँग यो विषयमा कुराकानी भयो र विषय सल्टियो," पाण्डेले बताए।
सांसद राईले चाहिँ सभामुखसँग आफ्नो कुनै पूर्वाग्रह नरहेको भन्दै उनले विगतमा डीपी अर्यालसँग मन्त्रिपरिषद्मा दुई पटक काम गरिसकेको अनुभव पनि सुनाए।
प्रचण्ड नेतृत्वको सरकारमा एक पटक आफू खानेपानीमन्त्री र अर्को पटक भूमिव्यवस्थामन्त्री रहँदा अर्यालले श्रममन्त्रीका रूपमा सँगै क्याबिनेटमा काम गरेको उनले स्मरण गरे।
तर दुवै पटक अर्यालको कार्यकाल निकै छोटो रहेको थियो।
जब राई रोस्ट्रमबाटै झोक्किए
असार २ गतेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकसम्बन्धी छलफल हुँदै गर्दा सभामुख अर्यालले सांसद राईलाई रोस्ट्रमबाटै बोल्न अनुमति दिएका थिए।
तर सबै मन्त्री उपस्थित नभएको भन्दै राईले विषयवस्तुमा प्रवेश गर्न नमानेपछि दुई जनाबीच पाँच मिनेटसम्म भनाभन हुन पुगेको थियो।
सभामुखले विषयवस्तुमा बोल्न गरेको आग्रह र सांसद राईले त्यसो गर्न आफूले नसक्ने भनेर भनेको सवालजवाफको भिडिओ सामाजिक सञ्जालमा पनि निकै फैलिएको थियो।
"त्यो बेला पनि मैले नियमानुसार नै सम्बन्धित मन्त्रीहरूको उपस्थिति नभईकन कसरी बोल्ने भनेर भनेको थिएँ," उनले भने।
हुन त सभामुखसँग भनाभन गर्ने राजेन्द्रकुमार राई मात्रै एक्ला सांसद भने होइनन्। विभिन्न विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सभामुखसँग पटकपटक प्रतिवाद गर्दै सरकारसँग जवाफ खोज्ने गरेका छन्।
मर्यादाको प्रश्न
सांसद राईले आफ्नो बोलीव्यवहार संसद्को मर्यादाअनुकूल नै रहेको बताइरहँदा कतिपयले चाहिँ प्रश्न गरेका छन्।
संसद सचिवालयका पूर्वसचिव रहिसकेका संसदीय मामिलाका जानकार सोमबहादुर थापा संसारभरि संसदीय गरिमा कायम गर्न निश्चित नियमहरू सभामुख तथा सांसद सबैले पालना गर्नु पर्ने बताउँछन्।
"सबैले मान्दै आएको एउटा कुरा के हो भने सभामुखलाई प्रत्यक्ष आक्षेप लगाउने गरी बोल्न वा व्यवहार गर्न मिल्दैन," थापाले भने।
"व्यक्तिगत आक्षेप, राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएका तथा अपमानजनक विषयहरू रेकर्डबाटै हटाइन्छन्।"
राईको पार्टी नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आफ्नो दल संसदको गरिमा र मर्यादा कायम गर्ने कुरामा एकदम गम्भीर रहेको बताउँछन्।
"सबै सांसद तथा सभामुखले यसको गरिमा कायम गर्नु पर्छ। सँगसँगै संसदमा हामी केवल भद्रभलाद्मी बन्न मात्रै जाने पनि होइन। यी कुराहरू सरकार र सत्तापक्षमा भर पर्ने विषय हुन्," महरले भने।
"प्रतिपक्षलाई हेप्ने तथा उसलाई आँच पुग्ने रबैया भयो भने सही हुँदैन। सबैको आचरण प्रजातान्त्रिक हुनुपर्छ। हाम्रो आवाजको रक्षा हुनुपर्छ।"
सांसद राईको हकमा बोल्दै उनले "व्यक्तिहरूको स्वभाव फरकफरक हुने तर उनले नियतवश मर्यादामा आँच पुग्ने बोलीव्यवहार नगरेको" बताए।
"तथापि कहिँ कतै मर्यादामा आँच पुगेको भन्ने पर्या छ भने हामी सच्च्याउन तयारै छौँ।"
प्रतिनिधिसभाको नियमावली २०८३को दफा २१ (ख)मा "सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने" उल्लेख छ।
त्यस्तै परिच्छेद ६ मा नियमावलीले बैठकमा सुव्यवस्था कायम गर्न सभामुखलाई विभिन्न अधिकार दिएको छ।
आदेश पालन नगर्ने सदस्यलाई बैठक कक्षबाट निष्काशन गर्न सक्नेदेखि लिएर सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानाजानी बाधा दिने वा अभद्र व्यवहार गर्ने वा संविधान वा यस नियमावलीको जानाजानी उल्लङ्घन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्ने त्यसमा उल्लेख छ।
त्यसरी नाम तोकिएको सदस्यलाई निलम्बन गरियोस् भन्ने प्रस्ताव पेस भएर पारित भएमा बढीमा १५ दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुनबाट रोक लाग्ने पनि नियम छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।