पाँच पटक प्रधानमन्त्री बनेका देउवा अहिले किन 'हिन्दू लबी'मा खुलेका हुन्

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

पाँच महिनापछि नेपाल फर्किएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो समूहको भेलामा आफू हिन्दू र सनातन धर्मको पहिचानको पक्षमा भएको जनाउ दिए।

पाँच पटक सरकारको नेतृत्व गरेका र जेन जी आन्दोलनअघि सत्ता समीकरणका लागि महत्त्वपूर्ण पात्र मानिएका देउवाले अहिले राजनीतिक मञ्चबाट धर्म र पहिचानको विषयमा बोलेको विषयलाई विश्लेषकहरूले हिन्दू लबीबाट लाभ लिने प्रयासका रूपमा अर्थ्याएका छन्।

एक राजनीतिशास्त्रीले देउवाको उक्त निर्णयमा कुनै सैद्धान्तिक धरातल नरहेको तर देशभित्र र बाहिरबाट समर्थन पाउने अपेक्षामा उनले रणनीतिक त्यसो गरेको हुन सक्ने बताए।

अर्का विश्लेषकले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको बहसमा लामो समययता कांग्रेसभित्र रोक लागेको औँल्याउँदै पार्टीभित्र अहिले दुईवटा समूह सक्रिय रहेको अवस्थामा हिन्दू मनोभावसँग जोडेर देउवाले 'असली कांग्रेस' आफूहरू भएको देखाउन खोजेको तर्क गरेका छन्।

आइतवारको भेलाले विक्रम संवत् २०३३ मा निर्वासनबाट फर्कँदा वीपी कोइरालाले अङ्गीकार गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको चर्चा गर्दै 'राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिसँग' संवाद गर्ने प्रस्ताव पारित गरेको छ।

नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको पैरवी गरिरहेका एक नेताले 'राष्ट्रिय एकताको धरोहर राजसंस्था' र राजनीतिकदेखि कूटनीतिक महत्त्व राख्ने सनातन धर्मलाई आत्मसात् गर्न कसैले पनि ढिला गर्न नहुने भन्दै देउवाको पछिल्लो धारणाहरू त्यस दिशामा सकारात्मक रहेको बताए।

फाइदा होला कि बेफाइदा?

राजनीतिशास्त्री लोकराज बरालले देउवाको पछिल्लो अभिव्यक्तिलाई 'प्रतिगमन' भन्दै त्यो कांग्रेसको सिद्धान्तभन्दा अलग रहेको बताए।

उनले भने, "हिन्दूत्वको अजेन्डा बोक्दा बाहिर र भित्र अलिकति समर्थन मिल्छ कि भनेर उहाँहरू सस्तो रणनीतिमा लाग्नुभयो। यसमा केही पनि सिद्धान्त छैन।"

जनमतसङ्ग्रहताका वीपी कोइरालाले 'विक्ली मिरर'लाई दिएको एउटा अन्तर्वार्तामा नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु "धोका" हुने धारणा राखेको कुरा आफूले आफ्नो पुस्तकमा पनि समेटेको बताउँदै बरालले देउवा समूहबाट आएको धारणा वीपीको नीतिविपरीत भएको टिप्पणी गरे।

उनी देउवा पक्षलाई उक्त निर्णय 'घातक' हुने ठान्छन्। "उहाँहरूको औचित्य सकिएको छ अनि केही नपाएपछि धर्मको नाममा जानुपर्‍यो। त्यही पनि हिजो कति मानिसहरू खुसी थिएनन्। विद्रोह गर्न सकेनन् तर निर्णय पढिएको बेलामा खुसी थिएनन्। यसले उनीहरूलाई राम्रो गर्दैन।"

"यति बेला नेपालमा बुझेर या नबुझेर हिन्दूराष्ट्र भन्ने लबी छ। भारतमा भारतीय जनता पार्टीको शासन भएकाले त्यसको पनि अप्रत्यक्ष रूपमा अलिकति समर्थन हुन्छ कि भनेर उनीहरूलाई पनि खुसी पार्न त्यसो भनेको होला। अरू त केही आधार देखिँदैन।"

धर्मसापेक्षताबारे 'पुनर्विचार'

सन् २०२१ को जनगणनाअनुसार नेपालमा जनसङ्ख्याको ८१.२ प्रतिशत हिन्दू छन्। बौद्ध धर्मावलम्बीहरूको जनसङ्ख्या ८.२ प्रतिशत छ भने इस्लाम धर्म मान्नेहरूको जनसङ्ख्या ५.१ प्रतिशत छ। किराँतहरूको जनसङ्ख्या ३.२ प्रतिशत र इसाईहरूको जनसङ्ख्या १.८ प्रतिशत रहेको देखिन्छ।

पत्रकार युवराज घिमिरे विगतमा बहसबिना नेपाललाई धर्मनिरपेक्ष बनाइएको र देउवा अहिले आएर त्यसको पुनरवलोकनको पक्षमा उभ्यिएको ठान्छन्।

"बहस नभई जसरी धर्मनिरपेक्षता घोषणा भयो, धेरैले यसलाई हिन्दूविरोधी माने। त्यही भएर राजनीतिक रूपमा पराजित भएपछि उनले मनोभावसँग जोड्न खोजेका छन्। हामी हिन्दू विरोधी होइनौँ, हिन्दू नै हौँ भन्न खोजेको जस्तो लाग्छ," घिमिरेले भने।

नेपाली कांग्रेसले विगतमा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताबारे बहसलाई रोकेको भन्दै उनले थपे, "कुनै पनि बहस नै भएन र त्यो अजेन्डा अहिले गगन थापासँग छ। वास्तविक कांग्रेस हामी नै हौँ भन्नलाई त्यहाँबाट प्रवेश गरिएको छ। उनले मानिसहरूको मनोभावको नजिक हामी बस्छौँ भन्ने सन्देश दिनलाई यस्तो गरेका हुन् भन्ने मलाई लाग्छ।"

मेलमिलाप कोसँग

विगतदेखि नै नेपाली कांग्रेसभित्रको एउटा पङ्क्तिले धर्मनिरपेक्षता खारेज गरिनुपर्ने माग गर्दै आएको छ।

नेपाल फर्किएपछि देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापको पक्षमा बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताएका थिए।

पत्रकार घिमिरे उक्त समूहले 'घुमाउरो पारामा वीपीको मेलमिलापको नीतिलाई' छुने प्रयास गरिएको ठान्छन्।

"राजनीतिमा घुमाउरो कुरा चल्दैन। नीति बन्नुपर्छ। नीति बहसबाट आउनुपर्छ। वीपीले जुन शक्तिहरूसँग सँगै काम गर्नुपर्छ भनेका थिए, घुमाउरो किसिमले त्यहाँ पुग्ने कोसिस गरिएको छ। कमजोर तरिकाले सम्बोधन गर्ने प्रयास गरिएको छ," उनले भने।

पूर्वराजासँग सहकार्य गर्ने सम्भावना कति

तर राजनीतिक रूपमा पूर्वराजासँग समेत सहकार्य गर्नुपर्ने विचारधारा अनुमोदन भएको खण्डमा भविष्यमा यो समूहले पूर्वराजासँग पनि संवाद अघि बढाउन सक्ने पत्रकार घिमिरे ठान्छन्।

स्वदेश फर्किएलगत्तै कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा देउवाले आफूलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्न पूर्वराजा ज्ञानेन्द्रले समेत नसकेको भन्दै अरूले नसक्ने आशय व्यक्त गरेका थिए।

प्रजातन्त्रविरुद्ध उभिन नसक्ने भनेर तात्कालिक राजा ज्ञानेन्द्रलाई भनेपछि भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै उनले अदालतबाट न्याय पाएको स्मरण गरेका थिए।

राजसंस्थाको पक्षमा भएका शक्तिहरू खिइँदै गएको भन्दै प्राध्यापक बराल कांग्रेसको कुनै पनि समूहले संवैधानिक राजसंस्था फर्काउने दृष्टिकोण राख्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताउँछन्।

उनले भने, "हिन्दूराष्ट्र भन्यो भने भोट आउन सक्छ, समर्थन अलिकति बढ्छ भनेर अवसर लिएको मात्रै हो। राजसंस्था फर्काउने भनेको धेरै ठूलो कुरा हो। सान्दर्भिकता नै गुमाइसकेको त्यस्तो संस्थालाई फर्काउने कुरा कसैले गर्छन् जस्तो लाग्दैन।"

भेलामा सहभागी नेताका नजरमा देउवाको पछिल्लो दृष्टिकोण

विशेष महाधिवेशनबाट गगन थापा पार्टीको शीर्ष नेतृत्वमा पुगेपछि देउवासँग निकट नेताहरू पार्टीको संस्थापनबाट विस्थापित हुन पुगे। अहिले उक्त समूहको भेलामा देउवाले आफू हिन्दु भएको भन्दै आफ्नो विवाह र व्रतबन्धको सन्दर्भ समेत चर्चा गरेका थिए।

उनले नेपाल के हुने या नहुने भन्ने कुरा नागरिकको हातमा रहेको भन्दै कसैलाई हिन्दू होइनस् भन्न नपाइने टिप्पणी गरे। पशुपतिनाथको पूजादेखि बौद्धधर्मप्रतिको आफ्नो सद्भावबारे पनि बोलेका उनले बौद्धधर्मलाई पनि सम्मान गर्ने बताए।

भेलाले पारित गरेको प्रस्तावमा "सनातनदेखि चलिआएको धर्म संस्कृति' लाई राष्ट्रिय पहिचान मान्ने उल्लेख गरिएको छ।

"नेपालमा रहिआएको आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्ने छ," उक्त प्रस्तावमा भनिएको छ।

विदेशमा "उपचार गराएर" नेपाल आइपुगेपछि देउवाले विज्ञप्तिमार्फत् आफू "नेता बनेर नभई …महान् राष्ट्रको आजीवन नागरिक" बनेर फर्किएको धारणा राखेका थिए।

तर त्यसको भोलिपल्ट उनले राजनीतिक सक्रिय देखाए। कांग्रेसभित्र आफ्ना पक्षको समूहले गरेको राष्ट्रिय भेलामा सहभागी भएर उनले भाषण पनि गरे।

पार्टीभित्र हिन्दूराष्ट्रको पक्षमा पैरवी गरिरहेका नेता शङ्कर भण्डारी देउवाको पछिल्लो बुझाइलाई सकारात्मक लिएको भन्दै यसलाई परिवर्तनका रूपमा अर्थ्याउँछन्।

उनी "सनातन धर्मलाई स्वीकार नगर्दा र राजसंस्थालाई राष्ट्रिय एकताको संस्थाको रूपमा मान्यता दिन नसक्दा दलहरूमा विवाद गहिरिएको र समाजमा पनि विखण्डन देखिएको" ठान्छन्।

"यो सब कारणले गर्दा यसलाई बाध्यताभन्दा पनि आत्मानुभूति भन्नु न्यायोचित हुन्छ। आवश्यक कुरालाई आत्मसात् गर्नु सान्दर्भिक र जायज छ।"

भण्डारी पार्टीभित्र एकता कायम गर्दै यो निर्णयलाई देशसँग जोड्नका लागि देउवाले राजसंस्था र सनातन धर्म दुवैलाई 'गहिरोसँग आत्मसात्' गरेको ठान्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।