तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
- Author, केट बोइ
- Role, ग्लोबल हेल्थ, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ५ मिनेट
"धेरै ठूलो नभएको भए पनि त हुन्थ्यो," यूकेकी धाविका टासा टोमसनको दिमागमा आफ्नो तिघ्राबारे सोच्दा यस्तै कुरा आउँथ्यो।
सौन्दर्यको मापदण्डबारे सोच्दा केही समाजहरूमा पातलो खुट्टालाई राम्रो मानिँदै आएको छ।
"यदि त्यस्तो भएन भने आफू विफल भएजस्तो महसुस गर्न सक्नुहुनेछ," बीबीसी विश्व सेवासँग बोल्दै टोमसनले भनिन्।
तर अनुचित रूपमा आलोचना हुँदै आए पनि ठूला तिघ्राको लामो आयुसँग सम्बन्ध देखिएको बढ्दो प्रमाणहरूले देखाउने बताइएको छ।
२५ हजार सहभागीमा गरिएको 'मेटा एनालिसिस'ले के पत्ता लगायो भने प्रत्येक ५ सेन्टिमिटर तिघ्राको गोलाइ बढ्दा कुनै पनि कारणले मृत्यु हुने खतरा १८ प्रतिशतले घट्छ।
तर यसको अर्थ के अब हामीले तिघ्राको आकार बढाउने प्रयास गर्नुपर्ने भएको हो?
ठूला तिघ्रा हुनुका फाइदाहरू के छन्?
विशेषज्ञहरूका अनुसार सन् २०२० को 'मेटा विश्लेषण'मा सहभागीहरू लामो समयसम्म बाँच्नुको एउटा कारण उनीहरूको खुट्टाका मांसपेशीहरू ठूलो हुनु र त्यसले तिघ्रालाई मोटो बनाउनु हुनसक्छ।
यूकेको किङ्स कलेज लन्डनकी वृद्धावस्था तथा स्वास्थ्य विषयकी प्राध्यापक क्लेर स्टिभ्सका अनुसार, "तिघ्रामा रहेका तीन प्रकारका तन्तुमध्येको एक जुन मांसपेशी हो त्यो स्वास्थ्य तथा दीर्घायुसँग निकै बलियो रूपमा सम्बन्धित रहेको देखाउने प्रमाण अत्यन्तै बलियो छ।"
शरीरमा धेरै मांसपेशी हुँदा त्यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ जसले मधुमेह, मुटुरोग तथा अन्य दीर्घकालीन रोगहरूको जोखिम घटाउन सक्छ।
सन् २००९ मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययनले सानो तिघ्रा भएका पुरुष र महिलामा मुटुरोग तथा मृत्युको जोखिम बढी रहेको देखाएको थियो।
बलिया तिघ्राले वृद्धवृद्धामा शारीरिक कमजोरी रोक्न र आत्मनिर्भरता कायम राख्न पनि मद्दत गर्नसक्छ।
"उमेर बढ्दै जाँदा शारीरिक क्षमता कायम राख्न तिघ्राका अगाडिका मांसपेशी अत्यन्तै महत्त्वपूर्ण हुन्छन् किनभने यिनै मांसपेशीले हामीलाई कुर्सीबाट उठ्न र हिँडडुल गर्न मद्दत गर्छन्," लण्डनस्थित गाइज एण्ड सेन्ट टोमस हस्पिटलकी जेरियाट्रिक विशेषज्ञसमेत रहेकी स्टिभ्सले भनिन्।
हाम्रा खुट्टाले उत्पादन गर्न सक्ने शारीरिक शक्ति हाम्रो मस्तिष्कको स्वस्थ वृद्धिसँग पनि सम्बन्धित रहेको पाइएको छ।
३०० भन्दा बढी जुम्ल्याहा महिलाहरूको खुट्टाको शक्ति मापन गरिएको एउटा अध्ययनमा अध्ययनको सुरुवातमा खुट्टाको शक्ति बढी भएकी जुम्ल्याहाको १० वर्षपछि राम्रो संज्ञानात्मक क्षमता र मस्तिष्क संरचना कायम रहेको देखिएको थियो।
किन? सक्रिय मांसपेशीहरूले उत्पादन गर्ने रसायनले शरीरमा हुने सुजन कम गरेर मस्तिष्कका सञ्जालहरूको सुरक्षा गर्नुका साथै उमेर बढ्दै जाँदा मस्तिष्कलाई जोगाउन सक्छन् भन्ने वैज्ञानिकहरूको धारणा छ।
"शारीरिक गतिविधिले हाम्रो प्रतिरक्षा प्रणालीमा पनि बलियो प्रभाव पार्छ," स्टिभ्स थप्छिन्। उनले यो अध्ययन सञ्चालन गरेकी थिइन्।
केसीएल कै अर्को अध्ययनमा उमेर पुगेका अत्यधिक सक्रिय साइकल चालकहरूलाई हेर्दा उनीहरूको प्रतिरक्षा प्रणाली युवा अवस्थाको जस्तै रहेको पाइएको थियो। केही अवस्थामा त उनीहरूको प्रतिरक्षा प्रणाली २० वर्ष उमेरका मानिसहरूसँग मिल्दोजुल्दो थियो।
आफ्ना तिघ्राहरू कसरी बलियो बनाउन सकिन्छ?
फिटनेस प्रशिक्षक एलिजाबेथ डेभिस दीर्घायुका लागि मानिसहरूले आफ्नो तिघ्राको निश्चित आकार परिवर्तन गर्नुभन्दा मांसपेशीको मात्रा बढाउनमा ध्यान दिनुपर्ने धारणा राख्छिन्।
"यदि तपाईँले वर्षौँदेखि आफ्नो तिघ्रा सानो होस्, ठूलो होस् वा फरक देखियोस् भनेर चाहना राख्दै आउनुभएको छ भने अब त्यो सोचलाई पछाडि छोड्ने समय आएको छ। बरु तपाईँका तिघ्राले के गर्न सक्छन् भन्नेमा ध्यान दिनुस्," ट्रेनिङ अफ योर वल्ड लेडी बडीकी लेखक डेभिसले भनिन्।
उनले तिघ्रा सानो वा ठूलो जस्तो भए पनि त्यो बलियो हुनसक्नेमा जोड दिइन्।
आकारमा भन्दा पनि बलियोपनामा केन्द्रित हुने कुरा विज्ञानले पनि भन्छ।
यदि तपाईँ तिघ्राको शक्ति बढाउन चाहनुहुन्छ भने डेभिसका अनुसार तौल प्रतिरोध तालिम सबैभन्दा प्रभावकारी उपाय हो। तौल उठाउने व्यायामले हड्डीको घनत्व बढाउनुका साथै अस्टियोपोरोसिस रोक्न पनि मद्दत गर्छ। अस्टियोपोरोसिस यस्तो अवस्था हो जसले हड्डीलाई कमजोर बनाउँछ र सजिलै भाँचिने सम्भावना बढाउँछ।
डेभिसले सुरुमा हप्तामा दुई वा तीन पटक खुट्टाको व्यायाम गर्ने लक्ष्य राख्न सुझाव दिन्छिन्।
तौल उठाउने व्यायाम तपाईँलाई मनपर्ने व्यायाम नहुन सक्छ तर डेभिस आफ्ना ग्राहकहरूलाई यसलाई नियमित दिनचर्याको अनिवार्य हिस्साका रूपमा लिन प्रोत्साहित गर्छिन्।
"मलाई दाँतमा फ्लस गर्न खासै मन पर्दैन तर यसले मेरो मुखको स्वास्थ्यमा सहयोग गर्छ भन्ने भएर म गर्छु," उनले भनिन्।
उनी शक्ति बढाउने व्यायाम गर्दा प्राप्त हुने प्रत्यक्ष फाइदाले आफूलाई कसरी आनन्दित बनाउँछ भन्ने साना कुरामा पनि ध्यान दिन प्रोत्साहित गर्छिन्।
तिघ्राको बोसोको फाइदा छन्?
तिघ्रामा भएको बोसो शरीरको अन्य भागमा भएजस्तो नराम्रो होइन। खासगरी पेटमा भएको बोसोसँग तुलना गर्दा त्यो समस्याकारी हुने उनले बताइन्।
भित्री अङ्गहरू वरपर जम्मा हुने बोसोलाई 'भिसेरल फ्याट' भनिन्छ। यस्तो बोसोका कारण टाइप टू मधुमेह, मुटुरोग तथा मेटाबोलिक डिस्फङ्क्सन एसोसिएटेड स्टियाटोहेपाटाइटिसको जोखिम बढ्छ। यसका कारण कलेजोले काम नगर्ने र क्यान्सर हुने जोखिमसमेत बढ्न सक्छ।
अध्ययनहरूले शरीरले तल्लो भागमा रहेको बोसोले सुरक्षात्मक भूमिका पनि खेल्न सक्ने देखाएका छन् किनभने यो क्षेत्रका बोसोका कोषहरूले हानिकारक फ्याटी एसिडलाई रोक्न सक्छन्।
यसको अर्थ शरीरको तल्लो भागमा रहेको बोसोले एलडीएल अर्थात् खराब कोलेस्टेरोल घटाउन एचडीएल अर्थात् राम्रो कोलेस्टेरोल बढाउन रगतमा चिनीको स्तर कम गर्न मद्दत गर्नसक्छ।
बोसो उपयोगी पनि हुनसक्छ किनभने यसले बिरामी हुँदा आपत्कालीन ऊर्जाको भण्डारका रूपमा काम गर्छ। यो विशेषगरी वृद्ध वृद्धाका लागि उपयोगी हुन्छ।
तिघ्रामा रहेको अर्को प्रमुख तन्तु हड्डी हो। उमेर बढ्दै जाँदा सार्कोपेनिया नामक अवस्थाका कारण हामीले मांसपेशीको मात्रा र शक्ति गुमाउन सक्छौँ।
स्टिभ्सका अनुसार प्रतिरोधात्मक व्यायाम मार्फत हड्डीलाई बलियो बनाउन सकिन्छ।
शक्तिबारे खुसी हुनुस्
तिघ्राको फाइदा थाहा पाएपछि टोम्सनले आफूबारेको धारणामा परिवर्तन गरिन्। उनी 'ब्ल्याक गर्ल्स डू रन यूके' समुदायकी संस्थापक हुन्।
आफ्नो छोरी भएका कारणले उनले त्यो विषय बुझाउन पनि भाषा परिवर्तन गरिन्।
"ठूलो वा मोटो तिघ्रा भन्नुको सट्टा म बलियो तिघ्रा भन्छु," टोम्सनले भनिन्। उनले अल्ट्रा म्याराथन र ट्रायाथलोन दौड पूरा गरिसकेकी छन्।
"हामी सबै फरक आकारका हुन्छौँ... शरीरले के गर्न सक्छ भन्ने हो न कि यो कस्तो देखिन्छ भन्ने हो," उनले थपिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।