तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्वदेश फर्किएका देउवाले अब के गर्लान्, कांग्रेस संस्थापन पक्ष के चाहन्छ
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
साढे पाँच महिनाको विदेश बसाइ टुङ्ग्याएर नेपाल फर्किएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विमानस्थलमा भेला भएका शुभेच्छुकहरूसँग कुनै टिप्पणी गरेनन्। तर सामाजिक सञ्जालमा उनले दुई पृष्ठ लामो सन्देश जारी गरे।
"नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो। सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने छ," त्यसमा भनिएको छ।
"अहिले नेपाली कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्छ। मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ। तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदातालगायत आम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो, सोही नीतिअनुसार सबैको त्याग बलिदान र सङ्घर्षलाई स्वीकार गरेर अघि बढ्न म अपील गर्न चाहन्छु। नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।"
हतपत धेरै नबोल्ने छवि बनाएका देउवाले विमानस्थलमा कुनै सार्वजनिक अभिव्यक्ति दिएनन्। तर आगामी केही दिनमा उनले गर्ने टिप्पणीले नेपाली कांग्रेस एकताबद्ध होला कि टुक्रिएला भन्ने निर्धारण गर्ने जानकारहरू बताउँछन्।
उनलाई स्वागत गर्न पुगेका भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताका निम्ति देउवाको "निर्णायक भूमिका" रहने बताए।
पार्टी नेतृत्वको अपेक्षा के हो
पाँच पटक प्रधानमन्त्री भइसकेका अनि पार्टीका सभापति रहिसकेका देउवाको इतर पक्ष भनिएको विशेष महाधिवेशनलाई अस्वीकार गरेको नेपाली कांग्रेसको ठूलै तप्काका नेता तथा कार्यकर्ताहरूमाथि "राम्रै प्रभाव" रहेको जानकारहरू बताउँछन्।
पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले 'राष्ट्रिय भेला' आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्किएकाले उनको स्वदेशफिर्तीलाई धेरैले अर्थपूर्ण ठानेका छन्। यद्यपि देउवाका कारण पार्टीमा एकताको सञ्चार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
"नेपाली कांग्रेसको शीर्ष तहमा पुगेको वहाँ अनुभवी व्यक्ति हुनुहुन्छ। वहाँले परिपक्व ढङ्गबाट नेपाली कांग्रेसलाई एकीकृत गर्न योगदान गर्न सक्ने परिस्थिति छ," नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भने।
"नेपाली कांग्रेसलाई एकीकृत गर्ने ढङ्गबाट वहाँले आफूलाई प्रस्तुत गर्नु हुने छ भन्ने हाम्रो आशा छ।"
उक्त पार्टीकी उपसभापति पुष्पा भुसालले पनि देउवाले 'अभिभावकीय' भूमिका निर्वाह गर्ने आशा प्रकट गरिन्।
"देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको मात्र नभई नेपाली कांग्रेसको सङ्गठनमा लामो समय सङ्घर्ष गरेको अभिभावकका रूपमा हामी सम्मान र आदर गर्छौँ। त्यही भएर पार्टी र सङ्गठनलाई कमजोर बनाउनेभन्दा पनि पार्टीलाई एकताबद्ध र मजबूत बनाउन वहाँको महत्त्वपूर्ण भूमिका रहन्छ," भुसालले बताइन्।
महामन्त्री पौडेल त कांग्रेसलाई अहिले "भित्र र बाहिर"बाट "खेलमैदान" बनाइएको ठान्छन्। "पार्टीलाई कमजोर गराउने गरी पार्टीभित्र खेल्न खोजिएको छ। त्यसलाई वहाँले बुझेर अनि संयमित भएर एकताको वातावरण बनाउन योगदान गर्नु हुने छ भन्ने मेरो विश्वास छ," पौडेलले भने।
नेपाली कांग्रेसको मामिलाका जानकार तथा विश्लेषक पुरञ्जन आचार्य पनि देउवाको फिर्तीले पार्टी एकतालाई बल पुर्याउन सक्ने ठान्छन्।
"हालै सर्वोच्च अदालतले कांग्रेस विवादमा पुनरवलोकनको निस्सा दिएको छ जसले गर्दा संस्थापन पक्षलाई पनि केही मनोवैज्ञानिक अप्ठ्यारो पारेको हुन सक्छ। यो अलमलको बखतमा उनको फिर्तीले पार्टी एकतामा निर्णायक मोड मिल्न सक्ने म देख्छु," आचार्यले भने।
विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्षलाई संसदीय निर्वाचनअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिक मानेका थिए।
तर हालै सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादबारे पहिलाको फैसला पुनरवलोकन गर्ने आदेश दिएको छ।
सबैको दृष्टि 'राष्ट्रिय भेला'तिर
शुक्रवार इतर पक्षले काठमाण्डूमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने बताइएको छ। त्यहाँ उनले के बोल्लान् भन्ने कांग्रेसभित्र धेरैको चासो छ।
"भेलामा (देउवाले) आफू भर्खर फर्किएको, कुराहरू बुझ्दै रहेको र फरक ढङ्गले जाने माहोल निर्माणमा आफ्नो कुनै आबद्धता नरहने... अनि नेपाली कांग्रेसलाई एकीकृत गर्ने कुरामा मात्र आफ्नो पहल हुने छ भनेर उहाँले भन्दिनुभयो भने त्यसको छुट्टै सन्देश जान सक्छ," महामन्त्री पौडेलले भने।
उपसभापति भुसालले पार्टी बलियो हुनुपर्छ भन्ने भावना बोकेका कांग्रेसका कार्यकर्ताहरूलाई ध्यान दिनुपर्ने बताए। "पार्टी कमजोर हुने वा गुटबन्दी गराउने अभिव्यक्ति हुनु हुँदैन," भुसालले भनिन्।
विश्लेषक आचार्य उक्त भेलामा देउवासहित केही नेताहरूले बोल्ने कुरा निकै महत्त्वपूर्ण हुने ठान्छन्।
"मलाई के लाग्छ भने आफ्नो व्यक्तिगत जीवन, इतिहास र सुरक्षाका निम्ति समेत एकताका लागि उहाँको ठूलो चासो रहन्छ। विगतमा गिरिजाप्रसाद कोइरालाले पनि यस्तै स्थिति सामना गर्नुभएको थियो। जब धेरै ठाउँमा विफल भएपछि माओवादीसँग शान्तिवार्ता गरेर ल्याएपछि वहाँको छवि फेरि बनेको थियो," आचार्यले भने।
"अब फेरि सभापति बन्ने (देउवाको) आकाङ्क्षा म देख्दिनँ। त्यसैले विभिन्न समूहलाई मेलमिलाप गराएर पार्टी एकता गराउन उहाँको ठूलो भूमिका हुन्छ।"
देउवाले सामना गर्नुपर्ने दुई चुनौती
गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि हातपात र घरमा आगजनी भएको थियो। त्यसपछि महिनौँसम्म उनी उपचारका लागि बसे।
पुसमा पार्टीभित्रको विवादका माझ विशेष महाधिवेशन भएर गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दियो। चुनावको मुखमा फागुन १३ गते देउवा दम्पती सिङ्गापुर थप उपचारका लागि भनेर गएका थिए। चुनावपश्चात् अहिले कांग्रेस प्रतिनिधिसभामा खुम्चिएर दोस्रो दल बनेको छ।
जानकारहरू अब देउवाले सामना गर्नुपर्ने २ किसिमका चुनौतीहरू रहेको ठान्छन्।
पहिलो, कानुनी चुनौती छ। केही समयअगाडि सरकारले सम्पत्ति शुद्धीकरणको मामिलामा देउवा दम्पतीविरुद्ध काठमाण्डू जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको पनि थियो।
पछि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदियो। पछिल्लो समय सरकारी निकायहरूले उनीविरुद्धका ती छानबिनबारे आधिकारिक रूपमा केही बोलेका छैनन्।
स्वदेश फर्किएपछि उनले यावत् विषयहरूसँग जुझ्नुपर्ने हुन सक्छ।
"मैले जति बुझेको छु वहाँ ती कानुनी चुनौती सामना गर्न तयार भएर आउनुभएको हो। नत्र उहाँ स्वदेश फर्कँदै फर्कनुहुन्थेन होला," आचार्यले भने।
दोस्रो, राजनीतिक चुनौती पनि टड्कारै छ। जेन जी आन्दोलनमा केपी ओलीको नेतृत्वको सरकार विस्थापित भएपछि ओलीले नेकपा एमालेको महाधिवेशनबाट पुन: नेतृत्व लिँदै आफ्नो राजनीतिक लाइन सुदृढ पारिरहेको देखिन्छ।
देउवा चाहिँ त्यसपश्चात् लामो समय निष्क्रिय रहे। अनि पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मा दिएर उपचारका लागि भन्दै विदेश गए। तर कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज चर्किएसँगै विशेष महाधिवेशन भइछाड्यो।
चुनावको सँघारमा पार्टीमा तीव्र बेमेल भयो र अहिले औपचारिक रूपमै विभाजन हुनेसम्मको चर्चा हुने गरेको छ।
आउँदाआउँदै एउटा पक्षको राष्ट्रिय भेला हुँदैछ। उनले के कस्ता टिप्पणी गर्लान् भन्ने उत्सुकता पनि छ। पार्टि एकीकृत बनाउने वा विभाजित हुन दिने भन्ने चुनौती उनको सामुन्ने छ।
"केही मैले पाएको सूचना र केही उनका नजिकका मान्छेहरूले बताएअनुसार पार्टी फोड्न हुँदैन, जसरी पनि मिलाउनुपर्छ भन्ने उहाँमा छ," विश्लेषक आचार्यले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।