भारतमा १५० नेरुमा किनेको पेट्रोललाई काठमाण्डूमा किन २१९ रुपैयाँ

सुनौलीको पेट्रोल पम्प
तस्बिरको क्याप्शन, भैरहवाबाट नेपाल भारत सीमा नजिकैको सुनौली बजारका पेट्रोल पम्पमा नेपाली नम्बर प्लेटका सवारी साधनको लाइन लाग्ने गरेको छ
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली,काठमाण्डू
    • Author, विमला चौधरी
    • Role, नेपालगन्ज
  • Published
  • पढ्ने समय: ६ मिनेट

भारतसँगको सीमावर्ती रुपैडिहा बजारमा भारु ९७ रुपैयाँ अर्थात् नेपाली १५५ रुपैयाँ २० पैसामै एक लिटर पेट्रोल पाइन्छ। उत्तर प्रदेशको रुपैडिहा वारिपट्टिको नेपालगन्जमा पेट्रोलको मूल्य २१६ रुपैयाँ ५० पैसा छ।

अर्थात् खुला सीमाबाट भारततर्फ छ किलोमिटर यात्रा गर्दा नेपालभन्दा ६१ रुपैयाँ सस्तोमा पेट्रोल पाइन्छ। नेपालका सीमावर्ती भारतीय बजारमा नेपाली बजारमाभन्दा ५० देखि ६० रुपैयाँसम्म सस्तो पेट्रोल पाइने भएपछि सीमा क्षेत्रका भारतीय पम्पहरूमा इन्धन भर्न नेपाली सवारी साधनहरूको भीड नै लाग्न थालेको बताइएको छ।

तर नेपालमाभन्दा सस्तो भए पनि नेपालमा जस्तो भारतीय पेट्रोल पम्पहरूमा सहजै इन्धन भर्न नपाइने अनुभवीहरूले बताएका छन्।

भारतमै इन्धन अभाव हुँदा सस्तोमा इन्धन पाइने लोभमा त्यहाँ पुगेका कतिपय नेपालीहरू घण्टौँ लाम बस्न बाध्य भएका त कोही रित्तै फर्कनु परेको भुक्तभोगीहरू सुनाउँछन्।

नेपालगन्जको सीमापारि रहेको रुपैडिहा बजारका कतिपय पेट्रोल पम्पहरूमा डिजेल र पेट्रोल नरहेको सूचना टाँस गरिएको छ। पेट्रोल वितरण भइरहेका पम्पहरूमा गाडी र मोटरसाइकलको लामो लाइन देखिन्छ।

भारतीय पम्पमा नेपाली साधनलाई इन्धन भर्न रोक!

रुपैडिहाको पम्पमा मानिसहरूको लाइन
तस्बिरको क्याप्शन, रुपैडिहाको पेट्रोल पम्पमा भारतीयसँगै नेपालीहरूको पनि लाइन लाग्ने गरेको छ

नेपालगन्जको जमुनाहा नाकासँग जोडिएको रुपैडिहाको एक पेट्रोल पम्पमा भेटिएका सीएल चौधरीले डेढ घण्टा लाइनमा बसेर भारतीय रुपैयाँ एक हजारको पेट्रोल पाएको बताए। उनले भने "सुरुमा लाइनमा बस्दा लाइनमै रहेका भारतीय नागरिकहरूले नेपाली नम्बरको मोटरसाइकललाई पेट्रोल दिँदैन भनेका थिए, मैले सिधै पम्पको मान्छेलाई सोधेँ र 'दिन्छु' भनेपछि टन्टलापुर घाममा करिब डेढ घण्टा लाइनमा बसेँ।"

बीबीसी संवाददाता मङ्गलवार दिउँसो रूपैडिया पुग्दा भारतीय पम्पहरूमा भने लामो लाइन देखेर पेट्रोल नहाली फर्किएका नेपाली नम्बरका गाडीधनी पनि भेटिए। त्यस्तै मध्येका एक सुर्खेतका वीरबहादुर खड्का पनि हुन्।

"रुपैडिहामा थोरै सामान लिन आएको बेला पेट्रोल पनि हाल्ने सोचले पेट्रोल पम्पमा पुगेँ। करिब आधा घण्टा लाइनमा बस्दा पनि पालो नपाएपछि म नहाली फर्किएँ," उनले भने।

नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डका अधिकांश सीमावर्ती बजारसम्म नेपाली सवारी साधनहरूलाई बिना इजाजत लैजान अनुमति दिइने गरिएको छ। भारतसम्म किनमेल र अन्य कामका लागि पुग्ने नेपालीहरू भारतीय पम्पमा इन्धन भरेर फर्कने गरेका छन्।

तर नेपालबाट मोटरसाइकल र गाडीहरूको भीड बढ्न थालेपछि अहिले सीमा क्षेत्रका कतिपय भारतीय पम्पमा नेपालमा दर्ता भएका सवारी साधनलाई इन्धन भर्न रोक लगाइएका सूचना टाँस गरिएका छन्।

कतिपय नेपालीहरू पेट्रोल हाल्नकै लागि रुपैडिहा पुगे पनि नेपाली नम्बरको गाडीलाई पेट्रोल नदिइने जानकारी पाएर त्यसै फर्किएको बताउँछन्।

भारतमा किन सस्तो भयो इन्धन

भारतीय पम्पमा लाइन

भारतले मार्च २७ मा पेट्रोल र डिजेलमा १० रुपैयाँ भारु अन्त शुल्क घटाउने निर्णय गरेको थियो। भारतको पेट्रोलियम र ग्यास मन्त्रालयका अनुसार भारतमा पेट्रोलमा प्रतिलिटर २६ रुपैयाँ भारु र डिजेलमा ८१ रुपैयाँ ९० पैसा भारु घाटा बेहोरेर त्यहाँको सरकारले इन्धन बिक्री गरिरहेको छ।

भारतले घाटा बेहोरेर बिक्री गरिरहेको र कर छुट दिएका कारण नेपालभन्दा भारतमा इन्धन सस्तो भएको नेपाल आयल निगमको दाबी छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतमा इन्धन बिक्री गरिरहेका निकायहरूले दैनिक २४ अर्ब भारतीय रुपैयाँ नोक्सानी बेहोरिरहेका छन्।

निगमका प्रवक्ता भारतीय क्षेत्रमा इन्धन अभाव भएर नेपाली क्षेत्रमा आएर इन्धन भर्ने सवारी साधनको लाइन पनि कतिपय सीमावर्ती बजारमा देखिएको बताउँछन्।

भारतमा भन्दा नेपालमा किन धेरै महँगो

सुनसान पेट्रोल पम्प
तस्बिरको क्याप्शन, भारतमा इन्धन सस्तो हुँदा नेपालतर्फका पेट्रोल पम्प खाली देखिन्छन्

नेपाल आयल निगमले नेपालका तराई क्षेत्रमा २१६ रुपैयाँ ५० पैसामा र काठमाण्डू सहितका पहाडी क्षेत्रमा २१९ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री गर्दै आएको छ।

तर आयल निगमले त्यो पेट्रोल भारतमा किन्दा १५० रुपैयाँ मात्रै पर्छ।

त्यसो भए निगमले किनेको भन्दा किन झन्डै ७० रुपैयाँसम्म महँगो भयो त पेट्रोल? बीबीसीको जिज्ञासामा आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर पेट्रोल बिक्रीबाट आयल निगमलाई अहिले पनि प्रतिलिटर एक रुपैयाँ मात्रै फाइदा रहेको बताउँछन्। डिजेलमा चाहिँ आयल निगमले प्रतिलिटर ९९ रुपैयाँ घाटा बेहोरिरहेको प्रवक्ता ठाकुरको भनाइ छ।

नेपालमा इन्धनको मूल्य महँगो भएको भन्दै कतिपय विद्यार्थी सङ्गठनदेखि राजनीतिक दलहरूले पनि सहुलियत दिन सरकारसँग माग गरिरहेका छन्। तर निगमका अनुसार अहिले पनि भारतबाट ल्याएर बिक्री गरिने इन्धनमा सरकारले आठ वटा शीर्षकमा प्रतिलिटर ५७ रुपैयाँ भन्दा धेरै शुल्क लिने गरेको छ।

सरकारले केही समयअघि इन्धनको भन्सार र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि अहिले प्रतिलिटर पेट्रोलमा ती दुई शीर्षकमा १७ रुपैयाँभन्दा धेरै शुल्क लिइने गरिएको छ।

"भन्सारमा २५ रुपैयाँ २० पैसा थियो छुटपछि अब १२ रुपैयाँ ६० पैसा लाग्छ। त्यस्तै पूर्वाधारमा १० रुपैयाँबाट ५ रुपैयाँ भएको हो," ठाकुरले बीबीसी न्यूज नेपालीसँग भने।

सरकारले पेट्रोलमा लिने आठ प्रकारका शुल्क

  • भन्सार शुल्क- १२ रुपैयाँ ६० पैसा
  • भन्सार सेवा शुल्क- २ पैसा
  • सडक सम्भार- ४ रुपैयाँ
  • पूर्वाधार विकास- ५ रुपैयाँ
  • मूल्य स्थिरीकरण कोष- १ प्रतिशत (बिक्री मूल्यको)
  • हरित कर- १ रुपैयाँ (भन्सार बिन्दुमा)
  • प्रदूषण कर- १ रुपैयाँ ५० पैसा (बिक्रीबाट)
  • मूल्य अभिवृद्धि कर- १३ प्रतिशत (बिक्री मूल्यको)

सरकारले लिने शुल्क बाहेक ढुवानी खर्च, पेट्रोल पम्पहरूलाई दिइने कमिसन र चुहावटसमेत जोडेर उपभोक्ताले पेट्रोलको मूल्य तिर्नुपर्ने अवस्था छ।

निगमले कति मुनाफा राख्न सक्छ?

भारतीय पम्पमा इन्धन भर्दै नेपाली गाडी
तस्बिरको क्याप्शन, भैरहवाको सीमावर्ती नाका नजिकको सुनौलीका पेट्रोल पम्पमा इन्धन भर्न नेपाली सवारी साधनहरू पुग्ने गरेका छन्

पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य निर्धारण कार्यविधि २०८० अनुसार आयल निगमले सरकारले लिने शुल्कबाहेक थप खर्चहरू कटाएर मात्रै इन्धन बिक्री गर्छ।

स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको खुद्रा बिकी मूल्य निर्धारण गर्दा खरिद मूल्यमा सरकारलाई तिर्नुपर्ने राजश्व र ढुवानीबाहेक थप शीर्षकमा हुने खर्च जोड्ने अधिकार दिइएको छ।

जस अनुसार निगमले ऋणको ब्याज खर्च, प्राविधिक नोक्सानी, प्रशासनिक खर्च, ह्रास खर्च, डीलर कमिसन, बीमा खर्च, शृङ्केज (सङ्कुचन) तथा वर्किङ लस, डीलरको बीमा खर्च, नाफाको अंश समेत जोड्न पाउने सुविधा दिइएको छ।

निगमले बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलको परल मूल्यमा बढीमा २.५ प्रतिशत र डिजेलको परल मूल्यमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने सुविधा उक्त कार्यविधिले दिएको छ। तर खाना पकाउने ग्यासमा भने निगमले कुनै नाफा राख्न पाउँदैन।

तर अहिले निगमले अन्य इन्धनमा पनि नाफा राख्ने अवस्था नरहेको प्रवक्ता ठाकुर बताउँछन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्व यता निगमले मूल्य स्थिरीकरण कोषबाट मात्रै १३ अर्ब रुपैयाँ अतिरिक्त खर्च गरिसकेको छ। उक्त कोषमा हालसम्म १९ अर्ब रुपैयाँ जम्मा भएकोमा निगमले दुई पटक गरेर १३ अर्ब खर्च गरिसकेको बताइएको छ।

निगमलाई पछिल्लो पटक मूल्य समायोजन भएयता मात्रै ५ अर्ब ७४ करोड रुपैयाँ घाटा भएको र जसमध्ये ५ अर्ब २४ करोड घाटा डिजेलको बिक्रीमा मात्रै भएको प्रवक्ता ठाकुरले जानकारी दिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।