मन्त्री किरातीको अभिव्यक्तिले माओवादीभित्रै असन्तुष्टि, हिन्दू राष्ट्रका पक्षधरलाई 'बल पुग्ने डर'

सुदन किराती
Published

इसाई धर्मावलम्बीहरूको कार्यक्रममा एक मन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर उनकै पार्टी नेकपा माओवादी केन्द्रभित्र चर्को असन्तुष्टि रहेको देखिएको छ।

माओवादी नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भिन्न धार्मिक आस्था राख्ने समुदायको भावनामा चोट पुर्‍याएको बताएका छन्।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर राय यादवले पार्टीभित्र पनि विभिन्न धर्ममा आस्था राख्नेहरूको भावनामा चोट लाग्ने अभिव्यक्ति मन्त्रीले दिएको टिप्पणी गरे।

उनले भने, “म पार्टीलाई पनि भन्छु, यस्ता कुराहरूलाई छुट दिनुहुन्न। यसले सामाजिक द्वन्द्व बढाउँछ।”

आफ्नो पार्टी धर्मनिरपेक्षताको पक्षपाती रहेको तर सबै धर्मलाई सम्मान गर्ने उनको भनाइ छ।

नेता यादवले भने, “क्रिश्चियन (धर्म) नमान्ने राष्ट्रघाती हो भन्ने जुन शब्द उहाँले प्रयोग गर्नुभयो, त्यो आपत्तिजनक हो। अरू कुनै समुदाय वा सम्प्रदायलाई होच्याउन पाइँदैन।”

मन्त्री किरातीको भनाइ थियो, "क्रिश्चियन मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्।"

आफ्नो अभिव्यक्तिले विरोध र असन्तुष्टि निम्त्याएपछि उनले आफ्नो अभिव्यक्ति संविधानविरोधीहरूलाई लक्षित रहेको स्पष्टीकरण दिएका थिए।

‘कुनै धर्म मान्दिनँ भन्न पाइन्छ’

किरातीको अभिव्यक्ति विवादमा परेलगत्तै माओवादी केन्द्रको पूर्व निर्धारित पदाधिकारी बैठक भएको थियो। तर त्यसमा त्यसबारे चर्चा भएन।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले भनिन्, “एक दिनअघिको विवादबारे हामीलाई खास कुरा पनि थाहा थिएन, बैठकमा पनि कुरा उठेन।”

पशुपतिनाथको मन्दिरमा प्रचण्ड र मन्त्रीहरू

तस्बिर स्रोत, RSS

एक पदाधिकारीका अनुसार बैठकपछि नेत्री भुसालले केही नेताहरूसामु मन्त्री किरातीको विवादित अभिव्यक्तिप्रति चिन्ता मिश्रित टिप्पणी गरेकी थिइन्।

त्यसबारे उनले कुनै टिप्पणी गर्न चाहिनन्।

भुसाल र मन्त्री किरातीबीच मङ्गलवार बिहान एउटा कार्यक्रममा भेट भएको थियो। उनीसँग कुराकानी नभएको भुसालले बताइन्।

मन्त्रीको भाषण पूरै नसुनेको बताए पनि उनले आफ्नो असहमति रहेको सङ्केत दिएकी छन्।

“हामी धर्म निरपेक्षताको पक्षमा छौँ, त्यो भनेको राज्यको कुनै धर्म हुन्न भन्ने हो,” उनले भनिन्, “व्यक्तिले कुनै पनि धर्म मान्छु वा मान्दिनँ भन्न पाइयो, नमान्न पनि पाइयो।”

‘आन्दोलनकारीलाई नै बल’

मन्त्री किरातीले सम्बोधनका क्रममा बेलाबेला ताली पाइरहेका थिए। माओवादी केन्द्रका अर्का नेता तथा पूर्वसांसद रामकुमार शर्माले त्यसबाट हौसिएर अभिव्यक्ति दिएको लख काटेका छन्।

तर त्यसको परिणाम र प्रभाव राम्रो नभएको बताउँदै उनले भने, “सनातन हिन्दू धर्म र संस्कृति मान्नेलाई पीडा दिएको पाएको छु।”

प्रधानमन्त्री प्रचण्ड र रामकुमार शर्मा

तस्बिर स्रोत, ramkumarsharma/facebook

तस्बिरको क्याप्शन, हिन्दू राष्ट्रबारे जनमतसङ्ग्रह गर्नुपर्ने पक्षका नेता रामकुमार शर्माले त्यसबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन्

सडक प्रदर्शनको रूपमा पनि त्यो प्रकट भएको देखिएको छ।

मन्त्री किरातीको राजीनामा माग्दै विरोध प्रदर्शन हुने गरेका छन्।

राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षधर केही सङ्गठन र व्यक्तिले विरोध कार्यक्रमहरू गरिरहेका छन् र राप्रपाले आन्दोलन गर्ने घोषणा गरेको छ।

नेता शर्माले विश्लेषण छ, “उहाँको वक्तव्यले त्यो आगोमा पेट्रोल खन्याएको पाएको छु, उनीहरूलाई बल मिलेको छ। त्यसले पार्टीलाई राम्रो गर्छ भन्ने लाग्दैन।”

उनी हिन्दू राष्ट्रबारे जनमतसङ्ग्रह गर्नुपर्ने पक्षका नेता हुन्।

त्यसको निम्ति आफ्नो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई उनले लिखित सुझाव समेत दिएका छन्।

नेपालका प्रमुख धर्म कुनकुन हुन्?

नेपालमा कुल १० वटा धर्म मान्ने मानिस रहेको आधिकारिक तथ्याङ्क छ। तीमध्ये सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ।

सन् २०२१ को नोभेम्बर २५ तारिखसम्मको विवरण समेटिएको तथ्याङ्कअनुसार नेपालमा अहिले ८१.१९ प्रतिशत हिन्दूको जनसङ्ख्या छ।

जनगणनाको प्रतिवेदनले नेपालको दोस्रो प्रमुख धर्मसहित चार धर्मावलम्बीको जनसङ्ख्या क्रमश: घट्दै गइरहेको देखाएको छ।

नेपालमा इसाई धर्मावलम्बी

त्यस्तै दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको सङ्ख्या ८.२१ प्रतिशत, तेस्रो स्थानमा रहेको इस्लामको ५.०९ प्रतिशत र चौथो स्थानमा रहेको किराँतको ३.१७ प्रतिशत जनसङ्ख्या छ।

त्यस्तै इसाईहरूको जनसङ्ख्या १.७६ प्रतिशत तथा प्राकृत धर्म मान्नेहरूको सङ्ख्या ०.३५ प्रतिशत रहेको जनगणनाले देखाएको छ।

नेपालमा बोन धर्म मान्नेहरू ०.२३ प्रतिशत र जैन तथा सिख धर्मावलम्बीहरू ०.०१ प्रतिशत छन्। जनगणनाले नेपालमा बहाई धर्मका अनुयायीको कुल सङ्ख्या ५३७ भएको देखाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।