क्यानडासँगको दोस्रो खेलमा पनि जित, सिरिज नेपालको पोल्टामा

तस्बिर स्रोत, CAN/X
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
नेपालले आफ्ना खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङको सहाराले शनिवार कीर्तिपुर मैदानमा क्यानडालाई पराजित गरेको छ।
अनिल शाहको कीर्तिमानसहित कप्तान रोहित पौडेल, देव खनालको अर्धशतकमा नेपालले दोस्रो ब्याटिङमा लगातार 'बाउन्ड्री' प्रहार गर्दै कीर्तिपुर मैदानमा उपस्थित दर्शकमाझ जित हात पारेको हो।
शनिवार कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले नेपाललाई २८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।
नेपालले ४५.१ ओभरमा ६ खेलाडी गुमाउँदै २८७ रन बनाएको थियो। कुशल मल्लले छक्का प्रहार गरेसँगै नेपालले तीन खेलको शृङ्खलामा एक खेल बाँकी हुँदै जित हासिल गरेको छ।
रोहितको गज्जबको प्रदर्शन
लगातार दुई जितसँगै तीन एकदिवसीय शृङ्खलामा नेपालले २-० कब्जा गरेको छ।
अर्को हप्ता कीर्तिपुर मैदानमा नै सुरु हुने विश्वकप लिग २ को लागि नेपालको यो अभ्यास शृङ्खला हो।
पहिलो खेलमा क्यानडाविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर नाटकिय जित हात दिलाउन भूमिका खेलेका कप्तान रोहित पौडेलले दोस्रो खेलमा पनि गज्जबको प्रदर्शन गरे।

तस्बिर स्रोत, CAN/X
तेस्रो नम्बरमा मैदानमा प्रवेश गरेका रोहितले केही बेर सम्हालिएर खेले। तर जब उनको ब्याट चल्यो, त्यसपछि त्यो रोकिएन।
रोहितले तेस्रो विकेटका लागि युवा टोलीका कप्तान देव खनालसँग मिलेर १५० रनको शानदार साझेदारी गरे।
देव खनाल ७६ रन बनाएर आउट भएको केही समयपछि रोहित पनि आउट भए। ४०.२ ओभरमा उनी ८७ रन बनाएर आउट भए। तर त्यतिबेला सम्म नेपाल २६१ रनको आरामदायी स्थितिमा पुगिसकेको थियो।
अनिलको कीर्तिमानी अर्धशतक
तीन एकदिवसीय शृङ्खलाअन्तर्गत पहिलो खेल रोमाञ्चक रूपमा जितेको नेपालले शनिवार कुशल भुर्तेल, ललित नारायण राजवंशी र आरिफ शेखलाई बेन्चमा राखेर अनिल शाह, देव खनाल र आकाश चन्दलाई मौका दिएको थियो।
आकाशको राष्ट्रिय टोलीमा यो पहिलो खेल थियो।
कुशल भुर्तेललाई आराम दिई ओपनिङमा मौका दिइएको अनिल शाहले मौकाको सही सदुपयोग गर्दै एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गरे।
सुरुआतदेखि नै आक्रामक देखिएका उनले १९ बलमा अर्धशतक पुर्याएका हुन्।
यसअघि त्यो कीर्तिमान आसिफ शेखको नाममा थियो, जसले पपुवा न्यूगिनीविरुद्ध गत वर्ष मात्र २१ बलमा अर्धशतक बनाएका थिए।
त्यसक्रममा अनिलले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। तर अर्धशतक बनाएको अर्को बलमा उनी एलबीडब्ल्यू आउट हुन पुगे।

नेपालको लागि सर्वाधिक रन भने कप्तान रोहित पौडेलले जोडेका थिए। १०१ बल खेल्ने क्रममा उनले ८७ रन बनाए।
उनले आठ चौका र चार छक्का प्रहार गरेका थिए।
१९ वर्षमुनिको राष्ट्रिय टोलीका कप्तान रहेका खनालले ८१ बल खेलेर ७६ रन बनाए।
उनले दुई छक्का र ७ चौका प्रहार गरेका थिए।
खनाल आउट भएपछि मैदानमा आएका ब्याटर भीम सार्कीले २३ रनको योगदान दिएका थिए।
प्रारम्भिक ब्याटर आसिफ सेख १० रन बनाएर आउट भएका थिए।
पवन सर्राफ १४ रन जोडेर आउट भएका थिए। सोमपाल कामी र कुशल मल्ल ९-९ रनमा अविजित रहे।
क्यानडाको ब्याटिङ कस्तो?

तस्बिर स्रोत, CAN/X
प्रारम्भिक ब्याटर आरोन जोन्सन र नवनित धलिवालले पहिलो विकेटका लागि यी ९४ रन जोडेपछि क्यानडाले ठूलो स्कोरतिर लम्किने सङ्केत दिएको थियो।
आरोनले ६५ रन र नवनितले ४६ रन जोडेका थिए।
डेब्यू खेलाडी आकाशले १९औँ ओभरमा नवनितलाई कट बिहाइन्ड गर्दै उक्त साझेदारी तोडेका थिए।
त्यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई करिअरको पहिलो विकेट थियो।
शनिवार सूर्य तामाङले पनि ओडीआईको पहिलो विकेट लिए।
दुई दिन अगाडि राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ३५औँ ओभरमा हर्ष ठाकुरको विकेट लिएर खुसीयाली मनाएका थिए।

क्यानडाका पर्गत सिंह र निकोलस किर्तनले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै टोलीलाई फेरी खेलमा फर्काउन प्रयास गरे।
पछिल्लो समय फर्ममा देखिएका कामचलाउ स्पिनर कप्तान रोहितले यी दुबैलाई पवेलियनको बाटो देखाइदिए।
यद्यपि क्यानडाले रन स्कोर भने निरन्तर जोडिरहेको थियो।
त्यसमा अन्तिम विकेटमा श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरेपछि टोली झन्डै ३०० रनको नजिक सम्म पुग्न सक्यो।
नेपाली खेलाडीहरू रोहित र कुशल मल्लले २/२ तथा सोमपाल कामी र पवन सर्राफको भागमा १/१ विकेट पर्यो।
दुई दिनअघि भएको पहिलो एक दिवसीय खेलमा नेपालले क्यानडामाथि सात रनको जित हासिल गरेको थियो।
सो खेलमा नेपालले पेस गरेको २२५ रनको चुनौतीको सामना गर्न आएको क्यानडा २१७ रनमा अल आउट भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























