ट्रम्पले सी जिन्पिङलाई राजकीय भोजमा किन 'बल्ड ईगल'को प्रतिमा उपहार दिए

    • Author, ब्रान्डन ड्रेनन र सरीन हबिशिअन
  • Published
  • पढ्ने समय: ५ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई एउटा भव्य राजकीय रात्रिभोजमा अमेरिकाको राष्ट्रिय चिह्न 'बल्ड ईगल'को प्रतिमा उपहार दिएका छन्।

उत्तरी अमेरिकमा मूल रूपमा पाइने यो चिल प्रजातिको पक्षीको प्रतिरूपलाई बिहीवार राजकीय भोजमा सहभागी अतिविशिष्ट अतिथिहरूका सामु प्रदर्शन गरिएको थियो। त्यसले अमेरिकाको 'स्वतन्त्र र फुर्तिलो भावनाको' प्रतिनिधित्व गर्ने राष्ट्रपति ट्रम्पले बताएका छन्।

उनले आफू र प्रथम महिला मेलानिया ट्रम्प उक्त आकूर्तिको डिजाइनमा संलग्न रहेको पनि बताएका थिए।

उक्त प्रतिमाले उपहार दिने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासको विशिष्टता झल्काउँछ, जुन कतिपय अवस्थामा पेचिलो समेत बन्ने गरेको पाइन्छ।

यस्ता उपहारहरू सी र ट्रम्पबीचका तीनदिने शिखर बैठकका साना तर अर्थपूर्ण पक्ष हुन्, जसको उद्देश्य विश्वका दुई महाशक्तिका नेताहरूको व्यक्तिगत सम्बन्धलाई मजबुत बनाउनु पनि हो।

"उनीहरूले सबै खालका जटिल मुद्दाहरूबारे छलफल गर्ने छन्," द एशिया ग्रूपका साझेदार ड्यानिअल क्रिटन्ब्रिन्क भन्छन्। "तर अन्ततः उनीहरू पनि दुई जना मानिसहरू हुन्।"

"त्यस्तो व्यक्तिगत सम्बन्धले महत्त्व पनि राख्छ। मलाई लाग्छ, उपहार आदानप्रदान त्यसको एउटा हिस्सा हो।"

उपहारको आदानप्रदानको अर्थ

तीस वर्षभन्दा बढी अवधि अमेरिकी कूटनीतिज्ञका रूपमा काम गरेका क्रिटन्ब्रिन्कले आफ्नो अधिकांश कार्यकाल एशियामा बिताएका छन्। उनले व्यक्तिगत सम्बन्ध राष्ट्रपति सीका लागि विशेष महत्त्वको रहेको बताए।

ट्रम्प र सीबीचको निकटताले 'विश्वकै अति जटिल र एउटा महत्त्वपूर्ण सम्बन्धलाई' जोडेर राखेको उनी विश्वास गर्छन्।

क्रिटन्ब्रिन्कका भनाइमा ट्रम्पले पनि 'नेतानेताबीचको कूटनीतिक सम्बन्धलाई' महत्त्व दिएका छन्।

राष्ट्रपति ट्रम्पको शासनकालमा उपहार आदानप्रदानले अझ विशिष्ट महत्त्व बोकेको देखिन्छ।

अमेरिकी राष्ट्रपतिले एउटा विलासी जम्बो जेट, कुँदिएको डिजाइन समावेश सुनको बार र हीरा अनि बहुमूल्य रत्नसहितको सुनको औँठीसहितका उपहार प्राप्त गरेका छन्।

नर्वेजिअन इन्स्टिट्यूट अफ इन्टर्न्याश्नल अफेअर्सका ओल याकोब सेन्डिङ भन्छन्, "तपाईँ जब ट्रम्पको शासन सम्झनुहुन्छ, मलाई लाग्छ उपहार दिने कुरा उनी कसरी काम गर्छन् भन्ने कुराको हिस्सा हो।"

बिहीवार बिहान राष्ट्रपति सीले एट्लान्टाको एउटा चिडियाघरलाई दुईवटा चिनियाँ पान्डा उपलब्ध गराउने घोषणा गरेका थिए। साथै उनले पाँच वर्षको अवधिमा एक लाख अमेरिकी विद्यार्थीहरूलाई शैक्षिक आदानप्रदान कार्यक्रमअन्तर्गत चीनमा शिक्षाका लागि स्वागत गर्ने घोषणा पनि गरे।

"ठूलो पान्डा चीन र अमेरिकाबीचको मित्रताको दूतका रूपमा रहँदै आएको छ," राष्ट्रपति सीले भने। "केही दिनमा नै दुई वटा पान्डा – पिङ पिङ र फु सुआङ—एट्लान्टाको चिडियाघरस्थित आफ्नो नयाँ घरमा आइपुग्ने छन् र उनीहरूले अमेरिकी नागरिकहरूलाई भेट्ने छन्।"

सीले अन्य उपहारहरू दिए या दिएनन् भन्ने स्पष्ट छैन। बीबीसीले यसबारे ह्वाइट हाउसलाई सोधेको छ।

उपहार अदानप्रदानमा अमेरिकी नियम के छ?

अहिले मुख्य गरी खाडी देश र अधिनायकवादी सरकारहरूले विलासी उपहार दिने प्रचलन अवलम्बन गरिरहेका छन्।

कूटनीति र उपहारबारे सेन्डिङसँग मिलेर एउटा अध्ययन गरेका मोर्टन स्कम्स्रड एन्डर्सन भन्छन्, "चीनजस्ता अधिनायकवादी व्यवस्थाले अति धेरै महँगा उपहारहरू दिन्छन्।"

एन्डर्सनका अनुसार पश्चिमा विश्वमा उक्त अभ्यास लोकतान्त्रिक नियन्त्रण र नियमनहरूका कारण कमजोर बनिसकेको छ।

उदाहरणका लागि, अमेरिकी संविधानमा एउटा बुँदा छ, जसले विदेशी सरकारबाट राष्ट्रपतिले ग्रहण गर्न सक्ने उपहारको सीमा र मूल्य निर्धारण गरेको छ।

अहिले त्यस्तो सीमा ५२५ अमेरिकी डलर तोकिएको छ। त्योभन्दा बढी मूल्यको जुनसुकै उपहार सङ्घीय सम्पत्ति बन्छ। तर राष्ट्रपतिले आफैँ पैसा तिरेर त्यसलाई खरिद भने गर्न सक्छन्।

अनि निश्चित मूल्यभन्दा बढीको उपहार दिनका लागि अमेरिकी राष्ट्रपतिले कङ्ग्रेसको अनुमति लिनुपर्ने हुन्छ। तर आफैँले व्यक्तिगत रूपमा शुल्क तिरेर भने उनले उपहार दिन सक्ने छन्।

"त्यहाँ धेरै नियम र प्रोटोकलहरू छन्," सेन्डिङ भन्छन्। "कस्तो प्रकारको उपहार दिने, उपहार आदानप्रदान कहाँ गर्ने, कसरी र कहिले गर्ने जस्ता कुरामा धेरै सोचविचार गरिने गरिन्छ।"

उनका अनुसार योजनाबद्ध तरिकाले यसबारे निर्णय गरिने भन्दै हप्तौँअघिबाट तल्लो तहदेखि नै यसको समन्वयन हुने गर्छ।

एन्डर्सन थप्छन्, "यो विमानस्थलमा अन्तिम क्षणमा गरेको खरिदजस्तो छैन।"

गलत उपहारका जोखिम

सन् २०१३ मा राष्ट्रपति सीले अमेरिकाको राजकीय भ्रमण गर्दा, तत्कालीन राष्ट्रपति बराक ओबामाले उनलाई क्यालिफोर्नियामा पाइने 'रेडवुड'बाट बनेको एउटा बेन्च उपहार दिएका थिए। उनीहरूबीच उक्त राज्यमा नै भेट भएको थियो। दुई नेताले उक्त बेन्चमा बसेर मुस्कुराउँदै फोटो पनि खिचाएका थिए।

सन् २००९ मा तत्कालीन ब्रिटिश प्रधानमन्त्री गोर्डन ब्राउनले ओबामालाई एउटा ऐतिहासिक 'दासप्रथाविरोधी' पानीजहाजको काठबाट बनाइएको कलम अड्याउने 'डेस्क पेन होल्डर' उपहार दिएका थिए। ओबामाले चाहिँ ब्राउनलाई डीभीडीको सेट दिएका थिए, जुन यूकेमा चल्ने डीभीडी प्लेअरमा नचल्ने ढाँचामा रहेका विवरण आएका थिए।

सेन्डिङ भन्छन्, "त्यो लज्जास्पद किसिमको उपहार आदानप्रदानको एउटा उदाहरण हो।"

सौभाग्यवश, ब्राउन र ओबामा साझेदार नेताहरू थिए र उनीहरूबीच हल गर्नै कठिन रहेको खालको त्यस्तो गहिरो द्वन्द्व थिएन।

"तपाईँ स्थितिलाई बिगार्न चाहनुहुन्न," सेन्डिङ भन्छन्।

उनले गलत उपहारले सम्भवत ठूलो उद्देश्यलाई बिथोल्न सक्ने जोखिम रहेको बताए।

ट्रम्प र सीबीच अझ धेरै कुरा दाउमा छ।

यो ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको तेस्रो प्रत्यक्ष भेटवार्ता हो। आर्टिफिशल इन्टेलिजन्स (एआई)ले निम्त्याउन सक्ने जोखिमप्रति व्यक्त भइरहेका चिन्तामाझ, दुवै देशहरूले तीव्र गतिमा विकास भइरहेको उक्त उद्योगमा प्रभाव विस्तार गर्न गरिरहेको प्रयासका माझ यो शिखर बैठक आयोजना भएको हो।

त्यसबाहेक अमेरिका र चीनबीच तिक्ततापूर्ण व्यापार युद्धको पृष्ठभूमि पनि छ। यो भ्रमणमा उक्त व्यापारसम्बन्धी द्वन्द्वलाई अस्थायी रूपमा हल गर्ने सहमतिलाई केही लम्ब्याउन नेताहरूले सहमति जनाएका छन्।

त्यही भएर सैनिक विमानहरूको परेड, सांस्कृतिक प्रदर्शन, जलपान र उपहारको आदानप्रदान कूटनीतिको हिस्सा रहेको क्रिटन्ब्रिन्क बताउँछन्।

उनले भने, "यो प्रोटोकल हो र यो प्रतीकात्मक हो। उपहारहरूको आदानप्रदान पनि अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता ल्याउने एउटा माध्यम हो।"

"जुनसुकै समयमा पनि तनावपूर्ण व्यापारिक युद्धभन्दा संवेदनशील स्थितिमा रहेको अस्थायी समाधानको पक्षमा म उभिन्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।