होर्मुज जलमार्ग पुनः खुलाउने विषयमा इरानले अमेरिकाको आधिकारिक धारणा कुर्ने

Published
पढ्ने समय: ३ मिनेट

होर्मुज जलमार्ग पुनः खुलाउने विषयमा इरानले अघि सारेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरेपछि तेहरानले अमेरिकी वार्ताकारहरूबाट आधिकारिक धारणाको प्रतीक्षा गर्ने जनाएको छ।

ट्रम्पले प्रस्ताव अस्वीकार गरेको कुरा इरानका विदेशमन्त्री अब्बास अरागचीले टेलिग्राममार्फत् बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले यसअघि विरोधाभासपूर्ण अभिव्यक्तिहरू दिएको अरागचीले आरोप लगाए।

त्यसअघि ट्रम्पले इरानको प्रस्ताव "स्वीकार्य नभएको" भन्दै तेहरानले ठूलो घाटा बेहोरिरहेकोले होर्मुज जलमार्ग तत्काल खुलाउन चाहेको ह्वाइट हाउसमा पत्रकारहरूलाई बताएका थिए।

गत शुक्रवार इरानका विदेशमन्त्रीले "आवश्यक शर्तहरू" पूरा गरिएमा जलमार्ग पुनः खुलाउने सम्झौता हुन सक्ने संयुक्त राष्ट्रसङ्घमा पत्रकारहरूसँग भनेका थिए।

"म उनीहरूको सम्झौता अस्वीकार गर्दै छु," ट्रम्पले शनिवार भने। उनले होर्मुज जलमार्गमाथि अमेरिकाको" पूर्ण नियन्त्रण" रहेको भन्दै "ठूलो परिमाण" मा तेल ओसारपसार भइरहेको दाबी समेत गरे।

अमेरिकी धारणापछि निर्णय

त्यसपछि अरागचीले ट्रम्पले धेरै पटक राम्रा र धेरै पटक विरोधाभासपूर्ण कुराहरू पनि गरेको टेलिग्राममा लेखेका हुन्।

"मध्यस्थकर्ताहरूले अन्तिम धारणा हामीसमक्ष राख्ने प्रतीक्षामा छौँ र त्यसका आधारमा हामीले निर्णय गर्ने छौँ," अरागचीले भनेका छन्।

अमेरिका र इजरेलले गत फेब्रुअरी २८मा इरानमाथि हवाई आक्रमण शुरू गरे, जसको बदलास्वरूप इरानले इजरेल तथा खाडी देशहरूमा रहेका अमेरिकी हवाई अखडाहरूमाथि आक्रमण गर्नुका साथै होर्मुज जलमार्ग बन्द गरिदियो।

लडाइँ शुरू हुनुभन्दा अगाडि विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास उक्त जलमार्ग भएर ढुवानी हुने गर्थ्यो। तर होर्मुज जलमार्गमा उत्पन्न अवरोधले ऊर्जाको मूल्यमा व्यापक उतारचढाव निम्त्याएको छ।

खास गरी आउँदो नोभेम्बरमा हुने अमेरिकी चुनावको पृष्ठभूमिमा राष्ट्रपति ट्रम्पमाथि जारी द्वन्द्व अन्त्य गर्ने उपाय खोज्न दबाव पनि बढाएको बताइन्छ।

"यदि आवश्यक शर्तहरू पूरा गरिन्छ भने जलमार्ग पुनः खोल्न सकिन्छ र सात दिनभित्रै सामान्य आवागमन पुनर्स्थापित गर्न सकिन्छ," अरागचीले पत्रकारहरूसँग भनेका थिए।

इरानले अपेक्षा गरेको अमेरिकी कदमबारे उनले स्पष्ट नपारे पनि "अमेरिकाले चाल्नुपर्ने कदमहरू नयाँ नभएको र पुरानै समझदारीपत्रमा ती सबै समावेश रहेको" उनले बताएका थिए।

"म तपाईँलाई भन्न सक्छु कि यदि अमेरिकी पक्ष होर्मुजको जलमार्ग पुनः खोल्ने सम्झौतामा पुग्न गम्भीर छ भने सबै तयारीहरू पूरा भइसकेका छन्," अरागचीले अगाडि थपे।

चौध बुँदे सम्झौतामा के थियो?

होर्मुज जलमार्गमाथि नियन्त्रण कायम गरिएसँगै अमेरिका "धेरै बलियो स्थितिमा भएकोले आफूहरूलाई कुनै हतार नरहेको" एक अमेरिकी अधिकारीले बीबीसीलाई बताएका थिए।

युद्धविराम सुनिश्चित गर्ने र होर्मुज जलमार्ग कम्तीमा आंशिक रूपमा पुनः खोल्ने उद्देश्यका साथ अमेरिका र इरानबीच गत जुन १८मा समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

इरानले कहिल्यै पनि परमाणु अस्त्र प्राप्त नगर्ने विषय चौध बुँदे सम्झौतामा समावेश थियो।

अमेरिका, इरान र तिनीहरूका साझेदारहरूले "सबै मोर्चा" मा सैनिक कारबाही अन्त्य गर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य एवं प्रतिबन्धहरूमा राहत जस्ता विषयहरू सम्झौतामा समावेश थियो।

इरानले होर्मुज जलमार्ग भएर व्यावसायिक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्न आवश्यक प्रयास गर्ने तथा भविष्यमा ढुवानी व्यवस्थापनबारे ओमानसँग वार्ता गर्ने विषय पनि सम्झौताले समेटेको थियो।

तर दुवै पक्षले पुनः एकअर्कामाथि हमलाहरू थालेपछि केही समयमै त्यो सम्झौता भङ्ग हुन पुग्यो।

अनुमतिबेगर होर्मुज जलमार्ग पार गर्न खोज्ने जहाजहरूमाथि आक्रमण गर्ने गरिएको इरानले बताउने गरेको छ।

अमेरिकाले होर्मुज जलमार्गमा रहेका इरानी अड्डाहरूका साथै तटदेखि टाढा रहेका इरानी ट्याङ्करहरूमा आक्रमण गर्ने गरेको छ।

अमेरिकाले इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी पनि जारी राखेको छ, जसका कारण इरानको अर्थतन्त्रमा निकै असर परेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।