कांग्रेसको महाधिवेशनको रोचक मोड, पछिल्लो अवस्था के छ?

मतगणना
Published
पढ्ने समय: २ मिनेट

नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालयमा ती पदको मतगणना अन्तिम चरणमा पुग्न लागेको बताइएको छ।

केन्द्रीय निर्वाचन समितिले ती पदको नतीजा आजै अबेर रातीसम्म आइपुग्ने जनाएको छ।

यसअघि सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति (महिला) मा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन्।

"उपसभापति र महामन्त्रीको मत परिणाम अबेर रातीसम्म आउँछ," समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले भने, "अन्य पदहरूको पनि मतगणना भइरहेको छ।"

कांग्रेसले ७०४३ मत खसेकोमा ४६०० मतगणना भइसकेको भन्दै त्यसको विवरण उपलब्ध गराएको छ।

यससँगै महाधिवेशन र मतगणना रोचक मोडमा प्रवेश गरेको ठानिएको छ।

उपसभापतिमा भण्डारी, आचार्य र चौधरी अगाडि

नेताहरू

उपसभापति (खुला) को दुईवटा पदको जारी मतगणनाको पछिल्लो विवरणअनुसार चन्द्र भण्डारी २३४३ र मधु आचार्य १४४१ मतका साथ अगाडि छन्।

उनीहरूलाई गोविन्द भट्टराई १२१९, सुरेन्द्रराज पाण्डे ११५० र धनराज गुरुङले १०५३ मतका साथ पछ्याइरहेका छन्।

अन्य प्रतिस्पर्धी दीपक गिरीले ६३८ र चन्द्रमोहन यादवले ३८७ मत पाएको उक्त दलले जनाएको छ।

उपसभापति (समावेशी) को एउटा पदको निम्ति विनोदकुमार चौधरी र जीवन परियारबीच प्रतिस्पर्धा देखिन्छ।

चौधरीले ११४५ र परियारले ११०७ मत पाएका छन्। अन्य उम्मेदवारहरूमा सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रन्जित कर्णले ३५२ पाएका छन्।

महामन्त्रीको दौडमा गुरुराज घिमिरे पछाडि

नेता गुरुराज घिमिरे

महामन्त्री (खुला) को दुईवटा पदको निम्ति भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेल र उदय शम्शेर राणा अगाडि छन्।

वर्तमान महामन्त्री पौडेलले २६५७ र वर्तमान सहमहामन्त्री राणाले १४९१ मत पाएका छन्।

हालसम्म प्राप्त मतगणनाको विवरणमा महामन्त्री गुरुराज घिमिरे पछाडि परेको देखिएको छ।

उनी विशेष महाधिवेशनका एक मुख्य अगुवा हुन्। घिमिरे त्यही विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। २०६२/६३ सालको जनआन्दोलनका चर्चित नेता घिमिरे नेविसङ्घका अध्यक्ष हुँदा गगन थापा महामन्त्री थिए।

दुई पदको निम्ति भइरहेको प्रतिस्पर्धामा घिमिरे पाँचौ स्थानमा छन्।

महामन्त्रीको दौडमा सुनिलकुमार शर्माले १३८७, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ मत पाएका छन्।

महामन्त्री (महिला) एउटा पदको निम्ति डिला सङ्ग्रौला पन्त र महालक्ष्मी उपाध्याय डिनाबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ।

पन्तले २०३७ र उपाध्यायले १८३८ मत पाएकी छन्। अर्की प्रतिस्पर्धी रीता खनालले ४६६ मत पाएकी छन्।

निर्वाचन समितिका संयोजक खड्काले सहमहामन्त्री (खुला र महिला) पद र केन्द्रीय सदस्य खुलाको मतगणना पनि भइरहेको जानकारी दिए।

कतिपयले मतगणना ढिलो भएको टिप्पणी गरिरहेका छन्।

तर निर्वाचन समितिका संयोजक खड्का भन्छन्, "ढिलाई भएको भन्न मिल्दैन, १४ औँ महाधिवेशनको मतगणना १२ दिनसम्म भएको थियो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।