सन् १९८० दशकको शैलीका भाइरल एआई तस्बिर: यो ट्रेन्ड पछ्याउँदा चुकाउनुपर्ने मूल्य कस्ता?

तस्बिर स्रोत, ChatGPT
- Author, लुईस बरुचो
- Role, बीबीसी न्यूज वर्ल्ड सर्भिस
- Published
- पढ्ने समय: ६ मिनेट
ठूलाठूला कपाल, धमिलोधमिलो देखिने तस्बिर, आँखा तान्ने चहकिला रङहरू अनि शपिङ मलका पोर्ट्रेट स्टुडिओजस्ता देखिने पृष्ठभूमि... । यदि तपाईँको सामाजिक सञ्जालको फीडमा पनि पछिल्लो समय सन् १९८० को दशकका पारिवारिक फोटो एल्बमबाट निस्केजस्ता तस्बिरहरूको बाढी आएको छ भने यस्तो अनुभव गर्ने तपाईँ मात्र हुनुहुन्न। अझ तपाईँ आफैँ पनि यसको हिस्सा बनिसक्नुभएको हुन सक्छ।
विश्वभरिका लाखौँ मानिसहरूले अहिले च्याटजीपीटी र अन्य एआई उपकरणको प्रयोग गरेर आफ्ना सेल्फीलाई पुरानो समयको झल्को दिने तस्बिरमा रूपान्तरण गरिरहेका छन्।
यस्ता एआई तस्बिर प्रायः च्याटजीपीटीको 'इमेज जेनेरेशन' सुविधामा उपलब्ध प्रम्प्टमार्फत् तयार गरिन्छन्। प्रयोगकर्ताले आफ्नो तस्बिर अपलोड गरेपछि एआईले त्यसलाई विगतको कुनै दशकको शैली झल्किने गरी निकै वास्तविक देखिने तस्बिरमा रूपान्तर गरिदिन्छ। ती तस्बिर सामाजिक सञ्जालमा शेअर गर्न पनि उत्तिकै सहज हुन्छन्। यही कारणले यस्तो प्रवृत्ति अहिले इन्स्टाग्राम, टिकटक र एक्सजस्ता प्ल्याटफर्ममा तीव्र गतिमा फैलिरहेको छ।
तर विगतको सम्झना दिलाउने यी आकर्षक तस्बिरसँगै गोपनीयताको चिन्ता पनि बढेको छ। विज्ञहरूका अनुसार यस्ता तस्बिर सार्वजनिक गर्ने क्रममा प्रयोगकर्ताहरूले अन्जानमै व्यक्तिगत तथा संवेदनशील जानकारीसमेत सार्वजनिक गरिरहेका हुन सक्छन्।
'डेटाका लागि उपलब्ध मनोरञ्जन'
तस्बिरलाई सन् १९८० को दशकको शैलीमा रूपान्तरण गर्ने यस प्रवृत्तिको लोकप्रियताले जेनेरेटिभ एआईमा भइरहेको व्यापक परिवर्तनलाई दर्शाउँछ।
केही वर्ष अघिसम्म एआईबाट तस्बिर सिर्जना गर्ने माध्यमहरू मुख्यतः यस क्षेत्रमा रुचि राख्ने र प्रविधिमा दक्ष प्रयोगकर्ताहरूमा सीमित थिए। तर अहिले यी दैनिक जीवनमा झन् गहिरोसँग समाहित हुँदै गएका छन्।
अहिले सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको यो शैली एआईमार्फत् विकसित भएका पछिल्ला ट्रेन्डहरूमध्ये एक हो। यसअघि पनि मानिसहरूका बाल्यकालका तस्बिर पुनःनिर्माण गर्ने, काल्पनिक पात्रमा रूपान्तरण गर्ने तथा चाडपर्व र बिदासँग सम्बन्धित विषयमा आधारित तस्बिर सिर्जना गर्ने प्रवृत्ति सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए।
एआईको नैतिक प्रयोगको पैरवीकर्ता क्याटरिना डोरिया यस्ता भाइरल ट्रेन्डहरूले नयाँ प्रयोगकर्ताहरू आकर्षित गर्नुका साथै उनीहरूलाई व्यक्तिगत जानकारीहरू उपलब्ध गराउन पनि प्रोत्साहित गर्ने बताउँछिन्।
"जेनेरेटिभ एआई कम्पनीहरूका लागि लाभदायक हुने हुँदा यस्ता ट्रेन्डहरू चल्छन्," उनी भन्छिन्, "मानिसहरूलाई आफ्ना र अरूका झन् धेरै तस्बिरहरू अपलोड गर्न प्रोत्साहित गरिन्छ।"
डोरिया सम्भावित असरहरूबारे पूर्ण रूपमा विचार नगरी मनोरञ्जनका लागि व्यक्तिगत जानकारी सार्वजनिक गर्ने यो प्रवृत्तिलाई "डेटाका लागि उपलब्ध मनोरञ्जन"का रूपमा व्याख्या गर्छिन्।

तस्बिर स्रोत, Getty Images
अक्सफर्ड विश्वविद्यालयको 'इन्स्टिट्यूट फर इथिक्स इन एआई'मा दर्शनशास्त्रकी सहायक प्राध्यापक करिसा बेलिस पनि प्रयोगकर्ताहरूले एआई प्रणालीमार्फत् व्यक्तिगत जानकारी सार्वजनिक गर्नुअघि सावधानीपूर्वक सोच्नुपर्नेमा सहमत छिन्।
"एआईमा तस्बिरहरू अपलोड गर्नु भनेको तपाईँले दिन सक्ने सबैभन्दा संवेदनशील डाटामध्ये एक उपलब्ध गराउनु हो। तस्बिरहरूमा प्रायः स्थानजस्ता संवेदनशील मेटाडाटा समावेश हुन्छन्। तर त्यसबाहेक तपाईँले आफ्नो 'बायोमेट्रिक्स' पनि दिइरहनुभएको हुन्छ।"
अनुहारका विशेषताजस्ता 'बायोमेट्रिक' जानकारी अत्यन्त संवेदनशील हुन्छन्। किनकि यस्ता डेटा चुहावट वा दुरुपयोग भएमा त्यसलाई सजिलै परिवर्तन गर्न सकिँदैन।
"कसैले तपाईँको पासवर्ड चोरेमा फेर्न सक्नुहुन्छ," बेलिस भन्छिन्, "तर तपाईँ आफ्नो अनुहार परिवर्तन गर्न सक्नुहुन्न।"
डोरियाका अनुसार यसले निम्त्याउने जोखिम इन्स्टाग्राम वा फेसबुकजस्ता सामाजिक सञ्जाल तथा डेटिङ एपको तुलनामा अझ बढी हुन सक्छ। किनभने यस्ता प्ल्याटफर्ममा प्रयोगकर्ताहरूले प्रायः आफ्नो अनुहार स्पष्ट देखिने उच्च गुणस्तरका तस्बिरहरू अपलोड गरेका हुन्छन्।
धेरै प्रयोगकर्ताले एआई च्याटबटसँग आफ्नो काम, सम्बन्ध र रुचिजस्ता व्यक्तिगत विषयमा कुराकानी गर्दा थाहै नपाई निकै निजी जानकारी उपलब्ध गराउन पुग्ने उनी औँल्याउँछिन्। यस्ता जानकारी र तस्बिरहरूलाई एकै ठाउँमा जोड्दा कुनै व्यक्तिको अझ विस्तृत व्यक्तिगत प्रोफाइल तयार पार्न सकिन्छ।
लक्षित विज्ञापन
तर चिन्ताको विषय गोपनीयतामा मात्र सीमित छैन। विज्ञहरूले मानिसहरूले उपलब्ध गराएको डेटा भविष्यमा कसरी प्रयोग हुन सक्छ भन्ने अनिश्चितताप्रति पनि सचेत गराएका छन्।
बेलिस भन्छिन्, "डिजिटल युगको एउटा जटिल पक्ष के हो भने भविष्यमा तपाईँको डेटा कसरी प्रयोग हुनेछ भन्नेबारे हामीलाई कुनै जानकारी हुँदैन। यो अन्ततः कहाँ पुग्छ भन्ने पनि थाहा हुँदैन। किनकि धेरै कम्पनीहरूले यसको कारोबार प्रायः मनपरी ढङ्गले गरिरहेका छन्।"
डोरिया र बेलिस दुवैले केही वर्षअघिसम्म कल्पना गर्नसमेत कठिन हुने गरी प्रविधिको विकास भइरहेको उदाहरणका रूपमा एआईबाट सिर्जित डीपफेकको तीव्र विस्तारलाई औँल्याए। आज सामान्य र हानिरहित उद्देश्यका लागि इन्टरनेटमा अपलोड गरिएका तस्बिरहरूले भोलिका दिनमा अझ उन्नत एआई प्रणालीको विकासमा समेत सम्भावित रूपमा योगदान पुर्याउन सक्छन्।
"पाँच-छ वर्षअघि हामीले आजको अवस्था यस्तो होला भनेर कल्पना पनि गरेका थिएनौँ। हामी त ढुक्क भएर इन्टरनेटमा आफ्ना तस्बिरहरू पोस्ट गरिरहेका थियौँ," एआई-आधारित तस्बिर प्रविधिको पछिल्लो तीव्र विस्तारतर्फ सङ्केत गर्दै डोरिया भन्छिन्।
प्रोफाइलिङ र लक्षित विज्ञापनलाई लिएर पनि गम्भीर चिन्ताहरू छन्। प्रविधि कम्पनीहरूले सङ्कलन गर्ने तथ्याङ्कमार्फत् प्रयोगकर्ताहरूका रुचि, बानी र व्यवहारको अझ विस्तृत प्रोफाइल तयार गर्न सकिन्छ। यसले विज्ञापनदाता तथा अन्य संस्थाहरूलाई व्यक्तिहरूलाई अझ सटीक र लक्षित ढङ्गले पहिचान गरी विज्ञापन वा अन्य सामग्री प्रस्तुत गर्न सक्षम बनाउँछ।
धेरै ठूला एआई कम्पनीहरूले प्रयोगकर्ताहरूलाई आफ्नो गोपनीयता व्यवस्थापन र नियन्त्रण गर्न विभिन्न विकल्पहरू उपलब्ध गराएको दाबी गर्छन्।
ओपनएआईले बीबीसी न्यूज वर्ल्ड सर्भिसलाई आफ्ना उत्पादनहरूमा विश्वसनीयता र गोपनीयतालाई आधारभूत पक्षका रूपमा लिइएको बताएको थियो।
त्यो भनेको प्रयोगकर्ताहरूले आफ्नो जानकारीमाथि नियन्त्रण कायम राख्नेछन् र आफ्ना च्याटहरू मेटाउने विकल्प पनि उनीहरूसँग हुनेछ। साथै, 'टेम्पररी च्याट मोड' प्रयोग गर्दा उनीहरूका कुराकानीहरू सुरक्षित वा सम्झनामा राखिने छैनन् र मोडेलहरूको सुधारका लागि पनि प्रयोग गरिने छैनन्।
'शक्ति हो गोपनीयता'
डोरिया मानिसहरूलाई सन् १९८० को दशकको शैलीमा तस्बिर बनाउनेजस्ता भाइरल एआई ट्रेन्डहरू पछ्याउनुअघि सावधानी अपनाउन आग्रह गर्छिन्। यद्यपि गोपनीयतासम्बन्धी अधिकांश विशेषज्ञहरू मानिसहरूलाई एआईको प्रयोग नै पूर्ण रूपमा त्याग्न सल्लाह भने दिँदैनन्। बरु उनीहरू प्रयोगकर्ताहरूलाई आफूले कस्तो जानकारी, कुन उद्देश्यका लागि र कसरी सार्वजनिक गरिरहेका छन् भन्नेबारे सचेत भएर सोच्न सुझाव दिन्छन्:
- बालबालिकाका तस्बिरहरू अपलोड नगर्नुहोस्। उनीहरू यस्तो विषयमा अर्थपूर्ण सहमति दिन सक्ने अवस्थामा नहुन सक्छन्। त्यसैले उनीहरूको तर्फबाट स्थायी डिजिटल अभिलेख सिर्जना गर्नुअघि अभिभावकहरूले यसका सम्भावित असरबारे गम्भीरतापूर्वक विचार गर्नुपर्छ।
- सम्भव भएसम्म कम रिजोलुसन भएका तस्बिरहरू प्रयोग गर्नुहोस्। उच्च रिजोलुसनका तस्बिरहरूले अनुहारका सूक्ष्म विशेषतासहित थप विस्तृत बायोमेट्रिक जानकारी उजागर गर्न सक्छन्।
- स्थापित र विश्वसनीय प्ल्याटफर्महरू छनौट गर्नुहोस्। भाइरल ट्रेन्डका क्रममा देखा पर्ने अपरिचित एपहरूको तुलनामा प्रख्यात प्ल्याटफर्महरूमा प्रायः स्पष्ट गोपनीयता नीतिहरू र बलियो डेटा व्यवस्थापन प्रणाली हुन्छन्।
- 'प्राइभेसी सेटिङ'को समीक्षा गर्नुहोस्। धेरै एआई प्ल्याटफर्महरूले प्रयोगकर्ताहरूलाई आफ्ना सामग्रीहरू भविष्यका उनीहरूका मोडेलहरू सुधार गर्न प्रयोग गर्न नदिने विकल्प उपलब्ध गराउँछन्। यस्तो विकल्प भएमा 'प्राइभेसी सेटिङ' जाँच गरी आफ्नो आवश्यकता र प्राथमिकताअनुसार परिवर्तन गर्नुहोस्।
- आवश्यक नपर्ने मेमोरी सुविधाहरू बन्द गर्नुहोस्। कतिपय एआई च्याटबटहरूले प्रतिक्रियाहरूलाई थप व्यक्तिगत बनाउन अघिल्ला कुराकानीबाट प्राप्त जानकारी सुरक्षित राख्छन्। यस्ता सुविधाहरू बन्द गर्दा सुरक्षित रूपमा भण्डारण हुने व्यक्तिगत जानकारीको मात्रा घटाउन सकिन्छ।
एआई उपकरणहरू हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै जाँदा यिनबाट फाइदा लिने क्रममा सम्भावित जोखिमबारे पनि सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्।
"गोपनीयता शक्ति हो किनभने यसले तपाईँलाई शक्तिको सम्भावित दुरुपयोगबाट जोगाउँछ," बेलिस भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


















