बुढीगण्डकीमा आकस्मिक बाढीसँगै थपियो चिन्ता, 'ढुक्कसँग घरमा सुत्ने अवस्था रहेन'

तस्बिर स्रोत, Nepali Army
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
बुढीगण्डकी नदीमा अचानक भीषण बाढी आएपछि तल्लो तटमा बस्ने मानिसहरूमा एउटा नयाँ प्रकारको चिन्ता थपिएको देखिएको छ।
आइतवार बिहानै आएको उक्त विपद्बाट प्रभावित गोरखा जिल्लाको आरुघाट बजारका एक जनप्रतिनिधिले बाढीबारेको आफूहरूको धारणा यस घटनाले बदलिदिएको बताएका छन्।
आरुघाट वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर अधिकारीले भने, "हामीले पहिला चाहिँ ठूलो पानी पर्यो भने बाढी आउँछ भन्ने सोच्थ्यौँ। तर बाढी आउनलाई पानी ठूलो पर्नै नपर्ने रहेछ। कतै पानी नपरे पनि यत्रो बाढी आइदियो।"
"यो त हिउँद बर्खा जुन कुनै समयमा यसरी फुटेर आउन सक्ने रहेछ भन्ने त्रास मान्छेमा अब भयो। त्यही भएर ढुक्क भएर उनीहरूले घरमा सुत्न सक्ने अवस्था भएन।"
आरुघाट-३ स्थित सोती बजार नजिकै बुढीगण्डकीले बगाएर ल्याएको लेदो र भग्नावशेषले पुरिएको सडक सफा गर्न साँझसम्म खटिएका अधिकारीले बाढीका कारण जलमग्न भएका घरहरूबाट झन्डै दुई दर्जनको सङ्ख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा राख्ने प्रयास गरिरहेको उनले सुनाए।
अधिकारीका अनुसार त्यस्ता परिवारहरूलाई या त छिमेकीका घरमा या विद्यालयको भवनमा राख्न लागिएको छ।
क्षतिबारे हामीलाई के थाहा छ?

तस्बिर स्रोत, NDRRMA
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वार्ड नम्बर ६ मा रहेको लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएको र त्यसले सोही स्थान हुँदै बग्ने बुढीगण्डकी नदी थुन्दा बाढी आएको जनाएको छ।
सरकारले सो विपद्का बारेमा दिएको प्रारम्भिक जानकारीको विश्लेषण गरेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले चुम्चेत नजिकै बुढीगण्डकी नदी अस्थायी रूपमा थुनिएको भन्दै बिहान ४ बजेबाट बाढी सुरु भएको अनुमान गरेको छ। ठूलो परिमाणमा माटो, ग्रेगान र बालुवा सहितको बाढीपछि बुढीगण्डकी कोरिडोरको तल्लो तटीय क्षेत्रमा अधिकारीहरूले नदीले खतराको तह पार गरेको देखिएको भन्दै सावधानी अपनाउन अपिल गरेका थिए।
हालसम्म अधिकारीहरूले मानवीय क्षतिबारे पुष्टि गरिसकेका छैनन्। तर यो विपद्ले गृहमन्त्री सुधन गुरुङको स्थायी घर रहेको गाउँपालिका चुमनुव्रीमा सबैभन्दा बढी क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ।
उक्त गाउँपालिकाका अध्यक्ष निमा लामाले बीबीसीसँग भने, "मैलै सबैतिर फोन गरेर बुझ्दा मानवीय क्षति पुष्टि भएको छैन। तर माथि सुख्खा पहिरो गएको ठाउँ नजिकै पाँच जना गोठालाहरू सम्पर्कविहीन छन्। १०० वटा चौँरी गाई पनि हराएका छन्।"
गाउँपालिकामा धेरै ठूलो क्षति भएको बताएका उनले थपे, "पक्की पुल दुई वटा, मोटरेबल पुल एउटा र धेरै वटा झोलुङ्गे पुल बाढीले लगेको छ। घरहरू पनि धेरै क्षति भएको छ। जगतको बगरमा पुरै क्षति भएको छ। सल्लेरी गाउँ पुरै क्षति भएको छ। घट्टेखोलामा आधा जति क्षति भएको छ।"
लामाले गृहमन्त्री गुरुङको गाउँ नजिकैका क्षेत्रमा पनि केही क्षति पुगेका जानकारी आफूले पाएको बताए।

तस्बिर स्रोत, RSS
बाढीका कारण कति क्षति?

तस्बिर स्रोत, Nepali Army
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद शर्माले चुमनुव्रीमा ४३ वटा घरहरू बाढीले बगाएको उल्लेख गर्दै १५९ जना मानिसहरू विस्थापित भएको, धार्चेमा पूर्ण र आंशिक गरी ३९ घरमा क्षति पुगेको र १२६ जना विस्थापित भएको र आरुघाटमा ६४ घरमा पूर्ण क्षति हुँदा १३० जना विस्थापित भएको बताए।
उनका अनुसार हेलिकोप्टरबाट हुने खोज तथा उद्धार साँझ परेकाले स्थगित गरिएको छ र अहिले बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा प्रशासन लागेको छ।
आरूघाट-३ का वडा अध्यक्ष अधिकारी दशैँको मुखमा आएको यो बाढीले चिन्ता थपेको बताउँछन्।
उनले भने, "हाम्रो वडामा मात्र सडकमा लेदो जमेका कारण तीन स्थानमा सडक अवरुद्ध छ। जमिन नै बुढीगण्डकीले कटान गरेर भासिएको रहेछ, सानो जेसीबीले पन्छाउन सकेन। चेनसहितको डोजर भोली बोलाएर काम गर्छौँ।"
उनले दशैँको समयमा आवतजावत रोकिँदा त्यसको ठूलो असर पर्ने बताउँदै भने, "माथितिर हाइड्रो पावरमा काम गर्ने २-४ सय जना कामदार दशैँ मान्न घर फर्किरहेको अवस्था छ। माथि जान लागेका पर्यटकहरू पनि डराएर तलै फर्किरहेका छन्।"
अधिकारीहरूले उक्त बाढीले सेलेरीमा अवस्थित ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको जानकारी दिएका छन्। तीन वटा जलविद्युत परियोजना र तीन वटा सवारी साधनमा क्षति पुगेको उनीहरूको भनाइ छ।
त्यसबाहेक बिजुलीका पोल र टेलिफोन टावरमा पनि क्षति पुगेको जनाइएको छ। केही ठाउँमा बाढीले बङ्गुरको खोरमा पनि क्षति पुर्याएको छ।
दुवैतर्फबाट सयौँको सङ्ख्यामा मानिसहरू अलपत्र रहेको उल्लेख गरेका आरूघाट-३ का वडा अध्यक्ष अधिकारीले पुल भत्किएका कारण एकातर्फ र लेदोले गर्दा अर्कोतर्फ बाटोमा हिँड्न समस्या भएको बताए।
"विभिन्न ठाउँमा गरेर ५ सय देखि ६ सय मिटरसम्म लेदो जमेको जस्तो देखिन्छ।"

तस्बिर स्रोत, NDRRMA
बिहानैबाट उक्त बाढीका नाटकीय फुटेजहरू सामाजिक सञ्जालमा देखिएका थिए जसमा बुढीगण्डकी नदीले विभिन्न संरचना बगाएको र ठूलो भेल देख्न सकिन्छ।
बुढीगण्डकी बाढीले धेरैलाई डेढ महिना अघिको झन्डै १५ सय जनाको ज्यान लिएको र करिब ५५ सय मानिसहरूलाई बेपत्ता बनाएको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्झना गराएको छ।
ईसीमोडले उक्त उपत्यकाको वीरेन्द्र तालमा सन् २०२४ को एप्रिलमा मनास्लु हिमतालबाट ठूलो हिम पहिरो खसेको उल्लेख गर्दै बुढीगण्डकी नदीमा आकस्मिक बाढी त्यस बेला पनि आएको जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















