नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय खाँण र रायमाझीसहित २३ जना 'दोषी ठहर'

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: २ मिनेट

बहुचर्चित नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा भूतपूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित २३ जना आरोपितलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले केहीबेरअघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसी न्यूज नेपालीलाई बताए।

"सात जनाले सफाइ पाउनुभएको छ। बाँकीको हकमा कसुर ठहर भएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

सजाय निर्धारण चाहिँ बाँकी रहेको उनले बताए। "सजाय निर्धारणसहितको बहसका लागि असार २९ गते अर्को पेसी चढ्छ," सूचना अधिकारी खतिवडाले अगाडि थपे।

उनका अनुसार रामशरण केसी, टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका हुन्।

मुद्दाको नालीबेली

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले विसं २०८० जेठ १० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

उनीहरूलाई लिखत किर्ते, राज्यविरुद्धको कसुर, ठगी सङ्गठित अपराधमा मुद्दा दर्ता गरिएको थियो।

उक्त मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।

त्यसअघि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी मुद्दाबारे निर्णय लिन सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सिफारिस गरेको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुई जना पूर्वमन्त्री र एक बहालवाला सचिवसहित अधिकारीहरू र उक्त 'गिरोह'मा संलग्न भनिएका व्यक्तिहरू रहेका थिए।

आरोपित कोको थिए?

१.केशवप्रसाद दुलाल

२. सानु भण्डारी

३. सागर राई

४. सन्देश शर्मा

५. टंककुमार गुरुङ

६. इन्द्रजित राई

७. टोपबहादुर रायमाझी

८. सन्दिप रायमाझी

९. टेकनारायण पाण्डे

१०. नरेन्द्र केसी

११. गोविन्दकुमार चौधरी

१२. रामशरण केसी

१३. बालकृष्ण खाण

१४. आङटावा शेर्पा

१५. शमशेर मियाँ

१६. टेकनाथ रिजाल

१७. केशव तुलाधर

१८. लक्ष्मी महर्जन

१९. हरिभक्त महर्जन

२०. अशोक पोखरेल

२१. धिरेन राई

२२. दिपा हुमागाञी

२३. निरज राई

२४. राजेश अर्याल

२५. मोहनराज राई

२६. आशिष बुढाथोकी

२७. बिनिता सावदेन लिम्बू

२८. निरन्ज कुमार खरेल

२९. सुनिल बुढाथोकी

३०. प्रतिक थापा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।