तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकपमा 'ट्रम्प हस्तक्षेप'को व्यापक आलोचना, के फिफा अध्यक्षको पद धरापमा पर्ला
- Author, डेल जोन्सन
- Role, फुटबल मामिला संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
जानी इन्फन्टीनो फिफा अध्यक्ष भएको १० वर्ष भइसकेको छ। आगामी वर्ष उनी फेरि निर्वाचनमा सहभागी हुनुपर्ने छ।
फिफा शान्ति पुरस्कारदेखि लिएर अचाक्ली महँगो विश्वकप टिकट अनि क्लब वर्ल्डकपसम्म उनको कार्यकाल झन् विवादास्पद बन्दै गएको छ।
तर के अमेरिकी खेलाडी फोलारिन बालगनलाई 'रेड कार्ड' दिने रेफरीको निर्णय अभूतपूर्व रूपमा उल्ट्ट्याउँदै उनलाई बेल्जिअमसँग खेल्ने बाटो खोलिदिएको घटना उनका लागि प्रत्युत्पादक बन्ला?
विश्वकप २०२६ मा सहआयोजकको हस्तक्षेप
सहआयोजक अमेरिकाका निम्ति बालगन स्टार खेलाडी हुन् र उनले तीन गोल गरेका थिए।
तर अघिल्लो खेलमा रेड कार्ड पाए पनि उनलाई बेल्जिअमसँग खेल्न दिइनु भनेको विश्वकपका नियमविपरीत हुन्थ्यो।
सोमवार राति भएको खेलमा बालगन पनि सहभागी भए। तर अमेरिका बेल्जिअमसँग ४-१ ले पराजित भयो। अमेरिकी स्ट्राइकर
फिफाले लिएको उक्त निर्णयको २४ घण्टापछि उसले ८७१ शब्दको विज्ञप्ति जारी गर्यो तर त्यसमा उक्त निर्णय किन लिइयो भनेर खुलाइएन। तर अर्का एक व्यक्तिले त्यसलाई स्पष्ट पारिदिए।
"म नै हुँ जसले उनीहरूलाई (उक्त निर्णय) गरायो," के इन्फन्टीनोलाई त्यसो गर्न भनेको हो भनेर सोध्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने।
उनले आफूले केवल रेड कार्डको निर्णय 'पुनरवोलकन' गर्न भनेको बताए। तर बालगनको एक म्याच प्रतिबन्ध उल्ट्ट्याउन इन्फन्टीनोलाई नभनेको उनको दाबी थियो।
तथापि अन्तर्राष्ट्रिय फुटबल जगत्का निम्ति त्यति हस्तक्षेप मात्र पनि निकै गम्भीर विषय हो।
अमेरिकामा चाहिँ बालगनलाई अन्यायपूर्ण ढङ्गले रेड कार्ड दिइएको भन्ने चर्चा छ। बोस्निया- हर्ट्सगोभिनासँगको खेलमा निष्कासित उनले अर्को खेल पनि खेल्न नपाउनु उचित नहुने र अघिल्लो निष्कासन नै पर्याप्त सजाय हो भन्ने त्यहाँ चर्चा छ।
तिनै भावनाको ट्रम्पले प्रतिनिधित्व गरे।
के भन्छन् इन्फन्टीनो
इन्फन्टीनोले चाहिँ कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नभएको तर्क गर्दै अनुशासन समिति स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन्।
तर अरूले यो घटनालाई कसरी हेरिरहेका छन् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
सो निर्णयले कुनै एक टोलीलाई मात्र फाइदा गरेको नभई एउटा सहआयोजक देशलाई फाइदा पुगेको छ। उक्त देशको नेता ट्रम्प छन्। इन्फन्टीनोलाई उनी आफ्नो साथी भन्ने गर्छन्।
यसो हेर्दा यो त "राष्ट्रपतीय क्षमादान"जस्तो देखिन्छ।
चर्को आलोचना
"यो हाम्रो खेल हो। उनीहरूको होइन," लिभरपुल क्लबका पूर्व रमुख योर्गन क्लपले भने।
"यदि डोनल्ड ट्रम्प र जानी इन्फन्टीनोले यो मामिला आपसी मिलेमतो गर्ने हो भने यो बहुलट्ठीपूर्ण हो। यसले हरेक विषयमाथि प्रश्न चिह्न लगाएको छ।"
तर के यो विवादले इन्फन्टीनोको पद धरापमा पर्ला?
फिफाको विधान राजनीतिक हस्तक्षेपबारे स्पष्ट छ। यो स्वीकार्य छैन।
राष्ट्रिय फुटबल सङ्घहरूमा सरकारको हस्तक्षेप भएका कारण उसले बारम्बार ती देशलाई निलम्बन गर्ने गर्छ।
उदाहरणका लागि, आठ वर्षको अन्तरालमा पाकिस्तान तीन पटक निलम्बनमा परिसकेको छ।
तर इन्फन्टीनो र ट्रम्पका निम्ति के बेग्लै नियम छ?
ट्रम्पलाई गत वर्ष नयाँ स्थापित फिफा शान्ति पुरस्कार दिइएको थियो। त्यसले उसको राजनीतिक तटस्थतासम्बन्धी नियम उल्लङ्घन भएको भन्दै फिफाको एथिक्स कमिटीमा डिसेम्बरमा गुनासो दर्ता गरिएको थियो।
त्यसको कुनै सुनुवाइ नभएपछि ५० जना युरोपेली संसद्का सदस्यहरूले सो समितिलाई पत्र लेखेका छन्।
युरोपेली सङ्घसँग मनमुटाव
युरोपेली फुटबल सङ्घ यूएफाले बालगनको विषयमा गरिएको निर्णयलाई लिएर फिफाको कडा आलोचना गरेको छ।
फिफाले 'लक्ष्मणरेखा' नाघेको भन्दै उसले उक्त निर्णय "अभूतपूर्व, बुझ्न नसकिने तथा उचित मान्न नसकिने" भनेको छ।
फिफासँग यूएफाको यो पहिलो मतभिन्नता भने होइन।
सन् २०२५ को मे मा यूएफाका अध्यक्षसहित युरोपेली प्रतिनिधिहरूले फिफा कङ्ग्रेसमा विरोध जनाए।
विश्वकप प्रतियोगितामा एक सोमाली रेफरीलाई अमेरिकाले प्रवेश नदिएलगत्तै यूएफाले उनलाई सूपर कप खेलमा रेफरी बनायो।
यो विश्वकपको खेल हेर्ने टिकट अचाक्ली महँगो भएको भन्दै आगामी यूरो २०२८ मा टिकटहरू त्योभन्दा निकै सस्तो हुने यूएफाले भनेको छ।
इन्फन्टीनो पनि विगतमा यूएफामै आबद्ध थिए।
त्यसोभए के अब इन्फन्टीनोको पद धरापमा पर्ला?
अवस्था विपरीत छ। इन्फन्टीनो विश्वभरिका थुप्रै खेल महासङ्घहरूमाझ लोकप्रिय छन्।
उनको फिफा फोर्वर्ड कार्यक्रमले संसारभरि थुप्रै फुटबल परियोजनाहरूमा लगानी गरेको छ र विस्तारित विश्वकपका कारण थप अवसरहरू उनले सिर्जना गरेका छन्।
अघिल्लोभन्दा यसपालि थप १६ देश सहभागी छन्। अनि केप भर्ड, क्यूरसाउ, जोर्डन र उज्बेकिस्तानजस्ता देशलाई सपना देख्न सक्ने बनाएका छन्।
यो वर्ष फिफाले नौ अर्ब डलर कमाउँदै छ।
यूएफाले फिफा र इन्फन्टीनोको आलोचना गर्न सक्छ किनभने उसको आफ्नै ठूलो स्रोत छ।
बाँकीको हकमा चाहिँ फिफा र इन्फन्टीनोमा धेरै निर्भर हुनुपर्छ। फिफाका सदस्यराष्ट्रको सङ्ख्या २११ छ। फिफामा अध्यक्ष पद जित्न १०६ भोट आवश्यक पर्छ।
गत एप्रिलमा दक्षिण अमेरिकी फुटबल महासङ्घले उसका १० देशले इन्फन्टीनोलाई सघाउने बतायो। तीन सातापश्चात् ५४ सदस्य भएको अफ्रिकी महासङ्घले पनि त्यसै भन्यो र लगत्तै ४७ सदस्य भएको एशियाली महासङ्घले पनि उनलाई समर्थन गर्यो।
अर्थात् इन्फन्टीनोसँग अहिले नै १११ भोट भइसक्यो। उनी हार्ने छैनन्।
सन् २०१९ र २०२३ मा इन्फन्टीनो पुनः निर्वाचित भएका थिए। सन् २०२७ मा उनलाई पराजित गर्न निकै कठिन हुने देखिसकिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।