क्यानले एनपीएलबाट भएको आम्दानी कहाँ लगानी गर्छ

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • पढ्ने समय: ४ मिनेट

नेपाल क्रिकेट सङ्घ क्यानले आर्थिक जग बलियो बनाउने उद्देश्यले सुरु गरेको नेपाल प्रिमिअर लीग (एनपीएल) ले दोस्रो सीजनमा नौ करोड रुपैयाँ २१ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ।

यो पहिलो सीजनको आम्दानीभन्दा झन्डै सात करोड रुपैयाँले बढी हो।

आन्तरिक रूपमा आर्थिक समृद्धि नभई क्रिकेट विकास सम्भव नहुने भन्दै क्यानले विश्वभरि आम्दानीको प्रमुख स्रोत बनिरहेको फ्रेन्चाइज क्रिकेट एनपीएल तामझामको साथ सुरु गर्दा सुरुदेखि नै सफलता प्राप्त गरेको देखियो।

क्यानले प्रतियोगिता सुरु गर्नुअघि घोषणा गर्दै आम्दानीको हिस्सा जिल्ला र प्रदेश क्रिकेटलाई बलियो बनाउन पहल गर्ने र क्रिकेट विकासको विभिन्न कार्यक्रममा खर्च गर्ने जनाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिने सहयोग बाहेक क्यानसँग आन्तरिक आर्थिक स्रोत भनेको एनपीएल र अन्तर्राष्ट्रिय क्रिकेटको आयोजनाको बेला उठ्ने टिकट रकम र प्रायोजन मात्र देखिएको छ।

यही क्रममा अगाडि बढे अर्को संस्करणहरूमा क्यानले थप आम्दानी गर्न सक्ने सम्भावना रहेको देखिन्छ।

योजनानुरूप नै क्यानले पहिलो संस्करणको एनपीएलको आम्दानीबाट प्रदेश क्रिकेटलाई ७० लाख रुपैयाँ वितरण गरेको थियो।

दोस्रो संस्करणबाट क्यानले ९,२१,२१, ३५ रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरिसकेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले आम्दानी भनेकै क्रिकेट विकासमा खर्चिनका लागि भएको बताए।

"गत वर्ष प्रदेश क्रिकेटलाई मात्र सानो रकम वितरण गरिएको थियो। यसपालि के गर्ने भन्ने निर्णय चाहिँ भइसकेको छैन। तर क्रिकेट विकासको जगमा रहने जिल्ला सङ्घहरूलाई पनि आम्दानी बाँड्ने कुरा चलेको छ," उनले भने।

एनपीएलको आम्दानी

क्यानले जारी गरेको विज्ञप्तिअनुसार एनपीएल सीजन २ मा कुल ४७ करोड ३६ लाख ५५९ रुपैयाँ सङ्कलन भएको थियो।

पहिलो सीजनमा क्यानले कुल २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको जनाएको थियो।

दोस्रो संस्करणमा २१ करोड ९६ लाख रुपैयाँ खर्च भयो। पहिलो संस्करणमा २० करोड १५ लाख रुपैयाँ खर्च भएको थियो।

फ्रेन्चाइज टोलीहरूले भने यसपालि अलि राहत महसुस गर्न पाए किनभने गत वर्ष सहभागी आठ टोलीले ५४ लाख बराबरको प्रतियोगिताको नाफाको हिस्सा पाएका थिए भने यसपालि दुई करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गर्न सके।

नेपाल प्रिमिअर लीग दोस्रो संस्करणको आयव्यय

  • कुल सङ्कलन: ४७ करोड ३६ लाख ५५९ रुपैयाँ
  • कुल खर्च: २१ करोड ९६ लाख ५,१२३ रुपैँया
  • फ्रेन्चाइज टीमलाई बाँड्नुअघिको रकम: २५ करोड ३९ लाख ९५,४३५ रुपैयाँ
  • ८ टोलीलाई नाफाको ५० प्रतिशत वितरण: १६ करोड १८ लाख ७३,५०० रुपैयाँ
  • जम्मा बचत: ९ करोड २१ लाख २१,९३५ रुपैयाँ

बैठकको मुख्य चासोको विषय एनपीएलको आम्दानी रहेको देखिएको थियो।

यसअघि दुई दिनअघि शनिवार नै बोर्ड बैठक बोलाइए पनि कुनै दस्ताबेज उपलब्ध नगराएको भन्दै बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित हुन पुगेको थियो।

त्यसपछि सोमवार बोलाइएको बैठकमा नौ सदस्यको कोरम पुगेपछि बैठक भएको हो।

क्यानमा १७-सदस्यीय कार्यसमिति रहेको छ। तर बैठकमा आठ सदस्य अनुपस्थित भए।

महिला क्रिकेटलाई वार्षिक ७.६ करोड रुपैयाँ

एनपीएलको आम्दानीजस्तै खुसीको खबर महिला क्रिकेटको लागि बन्यो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली महिला क्रिकेटको विकासका लागि वर्षमा पाँच लाख अमेरिकी डलर अर्थात् सात करोड ६० लाख रुपैयाँ बराबरको बजेट खर्च गर्ने पनि निर्णय गरेको छ।

आईसीसीबाट क्यानलाई प्राप्त हुने बजेटबाट त्यति रकम महिला क्रिकेटको विकास कार्यक्रममा लगानी हुने बताइएको छ।

लामो समयदेखि बजेट अभावमा पछाडि पर्दै आएको नेपाली महिला क्रिकेटको विकासमा लगानी हुन लागेको यो अहिलेसम्मको ठूलो रकम हो।

यसबाट महिला क्रिकेटको विकासमा उल्लेख्य प्रगति हुने ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।