मेक्सिकोलाई हराएपछि उत्सव मनाउँदा इङ्ग्ल्यान्डका खेलाडी 'नराम्ररी घाइते'

अभ्यास गर्दै हेन्डर्सन
तस्बिरको क्याप्शन, फाइल तस्बिर
Published
पढ्ने समय: ३ मिनेट

जारी विश्वकप २०२६ मा नकआउट चरणको रोमाञ्चक खेलमा इङ्ग्ल्यान्डले सहआयोजक मेक्सिकोको राष्ट्रिय टोलीलाई ३-२ ले पराजित गरेको छ। तर विजयको हर्षोल्लास मनाउने क्रममा इङ्ग्ल्यान्डका एक खेलाडी नराम्ररी घाइते भएका छन्।

मिडफील्डर जोर्डन हेन्डर्सनको नाडीमा "धेरै नराम्रो" चोट लागेको प्रशिक्षक थोमास टुखलले बताए।

खेल भएको स्थान मेक्सिको सिटीको एज्टेका स्टेडिअममा विज्ञापनको होर्डिङ बोर्डबाट खसेपछि हेन्डर्सन भुइँमा पछारिएको देखिएको थियो। त्यसपछि उनलाई स्ट्रेचरमा मैदानबाहिर लगिएको थियो।

यो विश्वकपमा ब्रेन्टफर्डका ३६ वर्षीय मिडफील्डर हेन्डर्सनले समूह 'एल' अन्तर्गत प्यानमासँगको खेलमा अन्तिमतिर ६ मिनेटजति खेल्ने अवसर पाएका थिए।

"जोर्डन [हेन्डर्सन] लडे र उनको नाडीमा चोट लाग्यो। त्यो निकै नराम्रो देखिन्छ," इङ्ग्ल्यान्डका प्रशिक्षक थोमास टुखलले सोमवार आफ्नो टोलीको जितपछि 'बीबीसी वन'सँग भने।

"चोट निकै गम्भीर छ। जोर्डन अहिले हामीसँग नहुनु आजको साँझको वातावरणसँग मिल्दो कुरा होइन। डाक्टरले मलाई उनी अस्पतालमा रहेको जानकारी दिएका छन्।"

हेन्डर्सनसँग इङ्ग्लिश टोलीका एक सहयोगी कर्मचारी रहेको बताइएको छ। उनीहरू आफ्नो टोलीसँगै सोमवार मेक्सिको सिटीबाट बाहिर जान सक्ने अवस्था छैन।

स्ट्रेचरमा राखेर हेन्डर्सनलाई उपचारका लागि लगिँदै

अब नर्वेसँग इङ्ग्ल्यान्डको प्रतिस्पर्धा

मेक्सिकोविरुद्ध गोल गरेपछि हर्षोल्लास गर्दै जूड बेलिङ्गम
तस्बिरको क्याप्शन, जूड बेलिङ्गमले इङ्ग्ल्यान्डका लागि दुई गोल गरे

इङ्ग्ल्यान्ड र नर्वेबीच क्वार्टरफाइनल खेल आगामी शनिवार राति २२:०० बीएसटीमा मायामीमा नर्वेसँग हुने छ।

इङ्ग्ल्यान्डको पहिलो खेलमा तिघ्राको मांसपेशीमा चोट लागेका रीस जेम्ससँगै हेन्डर्सन पनि मैदानबाहिरै रहने सम्भावना छ।

मेक्सिकोविरुद्ध इङ्ग्ल्यान्डको जितका क्रममा सीधै रेड कार्ड पाएका जरेल कोन्साले पनि क्वार्टरफाइनलमा खेल्न पाउने छैनन्।

प्रतिकूल मौसमका कारण झन्डै एक घण्टा ढिलो सुरु भएको इङ्ग्ल्यान्ड र मेक्सिकोबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो।

दुवै टोलीले एक-एक पेनाल्टी पाएका थिए।

इङ्ग्ल्यान्डका तर्फबाट जूड बेलिङ्गमले दुई गोल गरेका थिए भने तेस्रो गोल पेनाल्टीमार्फत् ह्यारी केनले गरे।

ब्रजिल पराजित, नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

एर्लिङ होलान र नर्वेका अन्य खेलाडीहरू ब्रजिललाई हराएपछि हर्षोल्लास गर्दै
तस्बिरको क्याप्शन, नर्वेका होलान आर्जेन्टिनाका लिओनेल मेस्सी र फ्रान्सका एम्बाप्पेसँगै सर्वाधिक गोलकर्ता बन्ने प्रतिस्पर्धामा छन्

जीएमटीअनुसार आइतवार बेलुकी भएको खेलमा नर्वेले ब्रजिललाई २-१ ले पराजित गर्‍यो।

उक्त खेलपछि पाँच पटकको उपाधि विजेता ब्रजिल प्रतियोगिताबाट बाहिरिन पुग्यो भने नर्वे पहिलो पटक नर्वे क्वार्टरफाइलनमा पुग्न सफल भयो।

यसअघि फ्रान्स र मोरक्को पनि क्वाटरफाइनलमा पुगिसकेका छन्।

उक्त खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ होलानले दोस्रो हाफमा दुई गोल गरे। खेलको अन्तिमतिर ब्रजिलका नेमारले पेनाल्टीमार्फत् एक गोल फर्काए।

अहिलेसम्म आर्जेन्टिनाका लिओनेल मेस्सी, फ्रान्सका एम्बाप्पे र नर्वेका होलानले सर्वाधिक सात-सात गरेका छन्।

तीनवटै टोलीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।