योग किन शारीरिक अभ्यास मात्र होइन, यसले कसरी तपाईँको मानसिक स्वास्थ्य सुधार्न सक्छ

योग गरिरहेका मानिस
    • Author, क्याथरिन लेदम
  • Published
  • पढ्ने समय: ७ मिनेट

योगले मस्तिष्कमा 'ग्रे म्याटर' भनिने विशेष प्रकारका तन्तुहरू बढाउने र महत्त्वपूर्ण सञ्जालहरू परिवर्तन गरिदिने पत्ता लागेको छ।

त्यससँगै अब योगले मानसिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्न सक्छ भन्ने आशाहरू बढेका छन्।

मेरो दाहिने हात हल्लिरहेको छ। मेरो शरीरलाई छेउपट्टिबाट चमत्करासन भनेर चिनिने योग मुद्रामा घुमाउँदा निधारबाट पसिना तप्प चुहिन्छ। म ढाडलाई पछाडि आधा गोलाकार आकारको बनाउँछु र देब्रे हातलाई टाउकोमाथि सीधा पारेर मास्तिर फर्काउँछु। मेरो देब्रे खुट्टा जमिनमै हुन्छ र म टाउको घुमाएर आकाशतर्फ हेर्छु।

संस्कृत शब्द 'चमत्कारासन'को एउटा अनुवाद "आनन्दित हृदयको उत्साहजनक खुलासा" हो र यसले आत्मविश्वासलाई उजागर गर्ने बताइन्छ। र - ज्यादा परिश्रमका बावजुद - म आफूलाई कसैले जित्न नसक्ने महसुस गर्छु।

जब मैले योग अभ्यास गर्न थालेँ, म पसिना आओस् र शक्ति बढोस् भन्ने चाहन्थेँ। मैले त्यति बेला योगलाई विशुद्ध रूपमा अभ्यासकै रूपमा हेर्थेँ - तर यो त त्योभन्दा धेरै भएको मैले पाएँ।

योग र यसका फाइदा

योगाभ्यास प्राचीन भारतमा २,००० वर्षभन्दा बढी अगाडिबाट थालिएको हो। योगका धेरै किसिम भए पनि सबै खाले योग शरीर-मस्तिष्कको सम्बन्धमा केन्द्रित छन्, चाहे त्यो विन्यास होस् वा यिन योग वा ध्यान वा सासको अभ्यास नै किन नहोस्।

योगले शारीरिक फाइदा मात्र नभई त्यसले तपाईँको दिमागको लागि पनि राम्रो हुन सक्छ भन्ने प्रमाणहरू बढ्दा छन्। केही अनुसन्धानकर्ताहरूले यसले 'पोस्टट्रमाटिक स्ट्रेस डिस्अर्डर' (पीटीएसडी) भएका मानिसहरूलाई तिनीहरूका लक्षणहरूको सामना गर्न मद्दत गर्न सक्ने आशा पनि गरेका छन्।

योगले शरीरलाई पुग्ने फाइदाहरूबारे पक्कै पनि व्यापक अनुसन्धानहरू भएका छन्।

योग गर्ने प्रयास नगरेको मानिसले सबैभन्दा पहिला यो आश्चर्यजनक रूपमा कडा हुन्छ भन्ने थाहा पाउनुपर्छ।

यसले बल, लचिलोपन र मुटु-श्वासप्रश्वासको तन्दुरुस्तीमा सुधार गर्दछ। अध्ययनहरूले योगले मानिसको स्फूर्तिमा सुधार गर्न सक्ने देखाएको छ। यसले चोटहरू रोक्न सक्छ (यद्यपि यो सही तरिकाले नगरेमा चोटपटक पनि लाग्न सक्छ) र अन्य खेलहरूमा राम्रो प्रदर्शन गर्न मद्दत गर्छ। विश्वस्तरीय फुटबल खेलाडीहरू, अमेरिकी फुटबल खेलाडीहरू र बास्केटबल खेलाडीहरूले पनि यसबारे बोलेका छन्।

योग थुप्रै स्वास्थ्य समस्याहरूका लागि फाइदाजनक हुने भन्ने अनुसन्धानहरू धेरै भएका छन्।

उदाहरणका लागि, 'सीजर' हुनेहरूले योगाभ्यास गर्दा त्यसले उनीहरू बेहोस हुने सङ्ख्या उल्लेख्य मात्रामा घटेको वा पूर्ण रूपमा बन्द भएको देखिएको छ। योग 'टाइप टू डाइबिटिज'लाई व्यवस्थापन गर्न, चरम पीडा कम गर्न र मस्तिष्काघातपछिको अवस्थाका लागि पनि उपयोगी हुने देखिएको छ।

यो 'मल्टिपल स्क्लरोसिस' भएका व्यक्तिहरूको जीवनको गुणस्तर सुधार्नमा फिजिओथेरपीभन्दा बढी प्रभावकारी भएको देखिएको छ र एउटा परीक्षणमा त यो क्यान्सरबाट बचेकाहरूका लागि पनि फाइदाजनक हुन सक्छ भनेर सुझाइएको छ।

योग खास गरी वृद्ध मानिसहरूका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ
तस्बिरको क्याप्शन, योग खास गरी वृद्ध मानिसहरूका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ

यूकेको कार्डिफ यूनिभर्सिटीस्थित ब्रेन रिसर्च इमेजिङ सेन्टर (क्युब्रिक)की स्नायुवैज्ञानिक क्लाउडिआ मेट्स्लर-ब्याड्लीले योगले लामो समयसम्म स्वस्थ जीवन जिउन पनि मद्दत गर्ने बताएकी छन्।

तर योगले तपाईँको मस्तिष्कमा पनि सकारात्मक परिवर्तन गर्ने गरेको पाइएको छ। अध्ययनहरूले आत्मनिरीक्षण र आत्मनिर्देशित विचारमा संलग्न मस्तिष्कका भागको संरचना र कार्य दुवैलाई सकारात्मक प्रभाव पार्ने देखाएको छ। केही अनुसन्धानकर्ताहरूले यसको अर्थ यसले उमेरसँगै हुने र 'न्युरोडिजेनरटिभ' समस्या कम गर्ने क्षमता राख्छ।

"हामी सुजनले चाँडै उमेर बढाउने सोच्छौँ - जुन दीर्घकालीन तनावको कारण हुन सक्छ," मेट्स्लर-ब्याड्ली भन्छिन्। "कोर्टिजलजस्ता तनाव होर्मोनहरूले सुजन निम्त्याउँछन्, जसले रक्तचाप बढाउन सक्छ। पक्कै पनि, यी अस्वस्थ रूपमा हुने बुढ्यौलीका लागि जोखिम हुन्।"

ध्यान र माइन्डफुल्नेस योगाभ्यासका अभिन्न अङ्ग हुन् र यिनले "मेटाकग्निशन, मेटा-जागरुकता र तनावप्रति जनाइने भावनात्मक प्रतिक्रियाहरू महत्त्वपूर्ण हुने मस्तिष्क सञ्जालहरूमा परिवर्तनहरू प्रेरित गर्ने देखिन्छ।"

"उमेर बढ्दै जाँदा [योगले] हामीलाई स्वस्थ राख्ने सम्भावना छ भन्ने हामीलाई थाहा छ," उनी भन्छिन्।

'न्युरोइमेजिङ'ले योगले मस्तिष्कमा 'ग्रे म्याटर'को मात्रा बढ्न सक्ने खुलासा गरेको छ। यस्ता तन्तु भाषा, स्मरण, सिकाइ र निर्णय क्षमताजस्ता मानसिक प्रक्रियाहरूका लागि महत्त्वपूर्ण छ। अल्जाइमर्स रोग भएकाहरूमा ग्रे म्याटरको मात्रा कमी हुन्छ र सन् २०२३ को एउटा अध्ययनले यो रोगको जोखिममा रहेका महिलाहरूमा स्मरणशक्तिको कमी हुने प्रक्रियालाई सुस्त बनाउन सक्ने पत्ता लगाएको छ।

सबै व्यायामले तनाव होर्मोनको मात्रा घटाएर र 'खुसी महसुस गराउने रसायन' अर्थात् एन्डोर्फिनको उत्पादन बढाएर तपाईँको मनस्थितिलाई ताजगी दिने रूपमा बुझिन्छ। तर योग गर्दाका आसन, सास फेर्ने र ध्यान गर्ने अभ्यासका थप फाइदाहरू छन्। त्यसले चिन्ता, तनाव, डिप्रेशन कम गर्न र समग्र मानसिक स्वास्थ्य सुधार गर्न सक्छ। उदाहरणका लागि योगले ड्रिप्रेशनको अल्पकालीन लक्षणहरू सुधार गर्न सक्ने अध्ययनहरूले देखाएका छन्।

द माइन्डेड इन्स्टिट्यूट नामक योग प्रशिक्षण केन्द्रकी संस्थापक हिदर मेसन भन्छिन्, "म अगाडि बढ्न चाहन्नथेँ। जीवन निकै कठिन थियो।"

"योगले डिप्रेशन, चिन्ता र पीटीएसडी व्यवस्थापन गर्न मद्दत गर्दै मेरो जीवन बदलिदियो।"

औपचारिक स्वास्थ्य संरचनामा ल्याउने प्रयास

योग
तस्बिरको क्याप्शन, योगले शारीरिक आसनलाई श्वासप्रश्वास र ध्यानसँग जोड्छ तर यीमध्ये कुन सबैभन्दा फाइदाजनक छन् भनेर अनुसन्धानकर्ताहरूले पत्ता लगाउन सकेका छैनन्

योगको गहिरो प्रभावको अनुभव गरिसकेपछि मेसनले सन् २००९ मा योग केन्द्र खोल्नुअघि योग, मनोचिकित्सा र स्नायुविज्ञानबारे तालिम लिइन्।

"पर्याप्त प्रमाणहरू नै नभई योगबारे थुप्रै दाबीहरू गरिएको मैले पाएँ। जब तपाईँ जीवनको धेरै समय निराश हुँदै आउनुभएको छ भने केले काम गर्छ भन्नेबारे तपाईँ धेरै घोत्लिन चाहनुहुन्न," उनी भन्छिन्।

मेसनले अहिले स्वास्थ्यकर्मी र व्यवसायीहरूलाई योगको तालिम दिन्छिन्।

"मैले त्यहाँ पहुँचको समस्या भएको महसुस गरेँ," उनी भन्छिन्।

"[योग] युवा, श्वेत, दुब्ला महिलाहरूका लागि विज्ञापन गरिन्छ। यदि तपाईँले यो अभ्यासमा आफूलाई प्रतिबिम्बित देख्नुभएन भने तपाईँलाई यो आफ्ना लागि हो जस्तो नलाग्न सक्छ।"

यो महँगो पनि हुन सक्छ। उनी थप्छिन्, "यसैले गर्दा म एनएचएस [ब्रिटेनको राष्ट्रिय स्वास्थ्य प्रणाली] मा यसको एकीकरणमा धेरै लागिपरेकी छु।"

उनका अनुसार मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूलाई अक्सर आफ्नो हेरचाह गर्न मन नलाग्न सक्छ।

"उनीहरूलाई यो गर्न उत्प्रेरित गर्नुपर्छ। मलाई लाग्यो यदि हामीले यसलाई स्वास्थ्य संरचनाभित्र ल्याउन सक्यौँ भने यी सबै कुरा बदलिनेछ।"

योगले मस्तिष्कमा 'गामा-एमिनोब्युटिरक एसिड' (गाबा) को स्तर बढाउने गरेको पाइएको छ।

यो 'न्युरोट्रान्स्मिटर'ले रासायनिक सन्देशहरू प्राप्त गर्न र पठाउने कोषिकाहरूको क्षमतालाई रोकेर मस्तिष्कको गतिविधिलाई सुस्त बनाउँछ।

अध्ययनहरूले १२ हप्ताको योग अभ्यासले गाबामा वृद्धि निम्त्याउने र त्यो मनस्थितिमा सुधार ल्याउने वा चिन्तामा कमी ल्याउनेसँग सम्बन्धित रहेको पत्ता लगाएका छन्।

अनुसन्धानकर्ताहरूले योग र ध्यानजस्ता मस्तिष्क एवं शरीरमा हस्तक्षेप गर्ने अभ्यासले 'साइटकाइन'हरूको उत्पादनमा कमी हुने र त्यसले गर्दा सुजन भएर हुने रोगहरू र अवस्थाहरूको जोखिममा कमी ल्याएको पत्ता लगाएका छन्।

योग गर्दा त्यसले पीटीएसडीबाट पीडित केही मानिसहरूका लागि लाभदायक हुनसक्ने सङ्केतहरू पनि गरेका छन्। यद्यपि, पीटीएसडीका लागि योगको उपयोगबारे मिश्रित कुराहरू देखा परेका छन् र एउटा प्राज्ञ समीक्षाअनुसार यसमा उच्च गुणस्तरको अनुसन्धानको कमी रहेको देखिएको छ। यद्यपि हालैको एउटा अध्ययनले योगले पीटीएसडी भएका अमेरिकी पूर्वसैनिकहरूमा सुधार आएको देखिएको र अर्को अध्ययनले लगातार योगाभ्यास गर्दा त्यसले पीटीएसडी भएका महिलाहरूको लागि लाभदायक हुन सक्ने देखाएको छ।

सही प्रशिक्षणको आवश्यकता

 रेचल बिल्स्कीले योगले आफ्नो मानसिक स्वास्थ्यमा मद्दत गरेको अनुभव गरेपछि आफूले योग थेरपिस्टको तालिम लिइन्
तस्बिरको क्याप्शन, रेचल बिल्स्कीले योगले आफ्नो मानसिक स्वास्थ्यमा मद्दत गरेको अनुभव गरेपछि आफूले योग थेरपिस्टको तालिम लिइन्

रेचल बिल्स्की वर्षौंसम्म 'प्यानिक अट्याक', दुःस्वप्न र आफू हुनुको कुनै मूल्य नभएको भावनाबाट ग्रसित थिइन्। तर उनलाई योग नगर्दासम्म मात्रै त्यस्तो लाग्यो।

विश्वविद्यालयको अध्ययन सकेपछि दक्षिणपूर्वी एशियाको यात्राका क्रममा उनले सोचिन्, "ठिक छ, योगाभ्यास गरौँ। यो सायद हिप्पीहरूका लागि हो।" प्रत्येक दिन, शवासनाको समयमा - कक्षाको अन्त्यमा जब सहभागीहरू आराममा भुइँमा सुत्छन् - म रोएँ, रोएँ र रोएँ," बिल्स्की भन्छिन्।

"म रोइरहेकी थिएँ। मैले विभिन्न कुराहरू महसुस गरिरहेकी थिएँ। मैले आफ्नो शरीरमा सुरक्षाको अनुभूति गरिरहेकी थिएँ। यो एक हप्तामा यति ठूलो परिवर्तन भयो।"

योगथेरपी योगका अन्य रूपहरूभन्दा फरक भएको उनले बताइन्।

सबै प्रकारका योगहरू पीटीएसडी पीडितहरूका लागि राम्रो हुँदैनन्।

हालैको एउटा समीक्षाले कुण्डलिनी, सत्यानन्द र तातो वातावरणमा गरिने 'हट योग' जस्ता योगका प्रकारहरू गर्दा उपयोगी हुन सक्ने देखाएको छ।

धेरैजसो योग शिक्षकहरूलाई ट्रमासँग कसरी सामना गर्ने भन्ने थाहा नभएको बिल्स्की बताउँछिन्। "तपाईँलाई ट्रमाबारे जानकारी भएको शिक्षक चाहिन्छ। आजकाल धेरै योग शिक्षकहरू सम्भावित रूपमा मानिसका समस्या बल्झाउने काम गर्छन्।

यदि तपाईंको शरीर सुरक्षित ठाउँजस्तो महसुस हुँदैन भने योग कक्षाले तपाईंको शरीरमा उच्च स्तरको जागरुकता ल्याउँछ।

"योग थेरपिस्टहरूले [नियमित योग शिक्षकहरू भन्दा] धेरै तालिमहरू गरेका हुन्छन्," बिल्स्की भन्छिन्। "योग थेरपीलाई स्वास्थ्य सेवा व्यावसाय मानिन्छ।"

श्वासप्रश्वाससँग आसनलाई मिलाउनु योगको अभिन्न अङ्ग हो।

मेट्स्लर-ब्याड्ली भन्छिन्, "तपाईँ उनीहरूलाई साँच्चै छुटाउन सक्नुहुन्न।" "[मस्तिष्कमा कस्ता परिवर्तनहरू निम्तिँदै छन् भन्ने] ठ्याक्कै थाहा पाउन गाह्रो छ। के यो शरीर तन्काउनु हो? वा यो सास फेर्नु हो? वा आराम गर्नु? यदि यी सबैले काम गर्छ भने मलाई थाहा छैन यी सबै आवश्यक छन् वा छैनन्।"

यो एक यस्तो क्षेत्र हो जसलाई पूर्ण रूपमा उजागर गर्न थप अनुसन्धान आवश्यक पर्दछ।

तर यसबीचमा, दुवै खुट्टा जमिनमा दृढतापूर्वक राखेर, नमस्कार गरिएको हातको बीचको औँलामा मेरो दृष्टि छन्, वीरभद्रासनमा मेरो पाखुरा फैलिएको छ - म शान्त र बलियो महसुस गर्छु, र तत्क्षणमा हुन्छु।

"योगले सम्पूर्ण मन-शरीरको जटिलतालाई परिवर्तन गर्न सक्छ," मेसन भन्छिन्। "यो लामो बाटो हो तर यसमा त्यो शक्ति छ। मलाई लाग्छ कि सायद यही कारणले यो हजारौँ वर्षदेखि अभ्यास भइरहेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।