भारतमा नेहा बोरापछि अभिजित दीप्के पनि हिरासतमुक्त, उनकी आमाले के भनिन्?

Published
पढ्ने समय: ४ मिनेट

भारतमा कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीप्के रिहा भएका छन्।

यो जानकारी सीजेपीको कानुनी सेलका प्रमुख रत्न सिंहले दिएका हुन्।

दीप्केले शुक्रवार साँझ ''लहराओ तिरङ्गा'' मार्चको आह्वान गरेका थिए तर त्यसअघि नै उनलाई हिरासतमा लिइएको थियो।

उनी रिहा भएसँगै उनकी आमा अनिता दीप्केले छोरा रिहा भएकोमा खुसी लागेको बताएकी छन्।

"अब हामी धेरै राम्रो र राहत महसुस गरिरहेका छौं किनकि हामी हिजोदेखि धेरै तनावमा थियौं। मेरी सासुको निधन भएको १० दिन पनि भएको छैन र त्यसपछि हामीले यो खबर पायौं जसले हामीलाई निकै दुःखी बनायो," उनले भनिन्।

यसअघि भारतमा भइरहेको युवाहरूको आन्दोलनका क्रममा नियन्त्रणमा लिइएकी 'अल इन्डिया स्टूडेन्टस यूनियन' (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरालाई शनिवार बिहान रिहा गरिएको थियो।

उनलाई शुक्रवार साँझ दिल्ली प्रहरीले 'लहराओ तिरङ्गा मार्च'का क्रममा हिरासतमा लिएको थियो।

रिहा भएपछि नेहाले सामाजिक सञ्जाल एक्समार्फत् कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीप्केसहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गरेकी थिइन्। उनले लोकतन्त्र र संविधानका लागि लड्नुलाई अपराध बनाउन नसकिने बताइन्।

समाचार एजेन्सी एएनआईले नेहा हिरासतबाट बाहिर निस्कँदै गरेको भिडिओ सार्वजनिक गरेको थियो।

बोरा र दीप्केलाई अक्टोबर १६ को साँझ हिरासतमा लिइएको थियो।

नेहाका वकिल सुपन्त सिन्हाले रिहाइअघि भनेका थिए, "आरके पुरम प्रहरी चौकीमा नेहालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको छ। वकिलसँग कुराकानी गर्नसमेत अनुमति दिइएको छैन।"

सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले दिप्के पक्राउ परेको र उनलाई एसईएम अदालतमा पेस गरिने जानकारी दिएकी छन्। उनका अनुसार दीप्केको अवस्थिति अझै खुल्न सकेको छैन र वकिललाई पनि भेट्न दिइएको छैन।

"दिल्ली प्रहरीले अभिजित र नेहा दुवैको हालको अवस्थिति तत्काल सार्वजनिक गर्नुपर्छ। कसैलाई पनि घण्टौँसम्म हिरासतमा राखेर उसको परिवार, वकिल वा सम्बन्धित व्यक्तिहरूलाई अवस्थिति र कानुनी स्थितिबारे जानकारी नदिनु उचित हुँदैन। नेहा र अभिजीत कहाँ छन्? दिल्ली प्रहरीले यसको जबाफ दिनुपर्छ," उनले एक्समा लेखेकी थिइन्।

हिरासतबाट निस्केपछि नेहाले के भनिन्?

हिरासतबाट रिहा भएपछि नेहाले कानुनी व्यवस्थामाथि प्रश्न उठाउँदै आम नागरिकलाई अपराधीजस्तो व्यवहार गरिएको आरोप लगाइन्।

उनले भनिन्, "आम नागरिकहरूसँग यस्तो व्यवहार गरिन्छ, मानौँ उनीहरू कुनै खतरनाक अपराधी हुन्।"

नेहाका अनुसार आन्दोलनका क्रममा मानिसहरूलाई हिरासतमा लिएर रातभरि प्रहरी चौकीमा राख्ने र भोलिपल्ट मात्र रिहा गर्ने गरिएको छ। उनले प्रश्न गरिन्, "कुन कानुन वा आदेशअन्तर्गत हिरासतमा लिइएका मानिसहरूलाई रातभरि प्रहरी चौकीमा राख्न सकिन्छ?"

साथै उनले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध महाभियोग लगाउन र 'एसआईआर' प्रक्रिया रोक्न पनि माग गरिन्।

अहिलेको दिल्लीमा जारी आन्दोलन चुनाव आयोगको कामकारबाही विरुद्ध लक्षित देखिएको छ।

नेहाले हिरासतमा रहँदा आफूलाई लामो समयसम्म वकिलसँग परामर्श गर्न नदिइएको पनि बताइन्। उनले भनिन्, "वकिलहरू पाँचदेखि छ घण्टासम्म मलाई भेट्ने कोसिसमा लागिरहे। कुनै किसिमले फोन सम्पर्क भएपछि मात्र उनीहरूलाई मसँग भेट्न अनुमति दिइयो।"

पूर्वसूचना दिइएको थियो दीप्केलाई

हिरासतमा लिनुअघि दिल्ली प्रहरीले सीजेपीका संस्थापक दीप्केलाई एउटा नोटिस दिँदै र्‍यालीमा सहभागी नहुन भनेको थियो। उक्त सूचनामा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत जारी निषेधाज्ञाबारे उल्लेख थियो।

शुक्रवार साँझ 'लहराओ तिरङ्गा मार्च' हुने स्थानतर्फ जाने क्रममा प्रहरीले उनलाई हिरासतमा लिएको थियो। त्यस क्रममा उनले प्रहरीलाई आफूलाई पक्राउ गरिनुको कारणबारे प्रश्न गरेका थिए।

"मैले अहिले कुन कानुन उल्लङ्घन गरेको छु? म एक्लै छु।"

पश्चिम बङ्गालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवाल, तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित विपक्षी दलका नेताहरूले अभिजित र नेहाको गिरफ्तारीबारे दिल्ली प्रहरीसँग जवाफ मागेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।