लेबननमा इजरेली ड्रोन हमलामा हिज्बुल्लाहका वरिष्ठ सैन्य कमान्डरको मृत्यु

लेबनन
तस्बिरको क्याप्शन, इजरेली ड्रोन हमलापछि लेबननमा देखिएको धुवाँको मुस्लो
Published

इजरेलले लेबननमा गरेको ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण आएका छन्।

हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ।

लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि त्यसमा आगो लागेको जनाएका छन्।

हिज्बुल्लाहले आफ्नो राद्वान फौजका वरिष्ठ कमान्डर विसाम तावीलको हत्या भएको पुष्टि गरेको छ।

उसले आफ्ना कमान्डरको मृत्युबारे विस्तृत विवरण दिएको छैन।

इजरेली हमलामा मारिएका हिज्बुल्लाह नेता
तस्बिरको क्याप्शन, इजरेली हमलामा मारिएका हिज्बुल्लाह नेता

गाजामा २३ हजारभन्दा बढीको मृत्यु

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरेली हमलामा त्यहाँ २३ हजार जना जतिको मृत्यु भइसकेको छ। त्यसमध्ये आधा जति बालबालिका र महिलाहरू रहेका बताइएको छ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा इजरेली हमलाका कारण ७३ जनाको हत्या भएको र ९९ जना घाइते भएको जनाएको छ।

गत अक्टोबर १२ मा हमासले इजरेलमाथि गरेको हमलामा १ हजार २ सय जति मानिसहरू मारिएका थिए भने करिब २४० जनालाई हमासले बन्धक बनाएको थियो।

गाजाको मानवीय अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

पोप फ्रान्सिसले पनि उक्त क्षेत्रमा युद्धविरामका लागि आग्रह गरेका छन्।

गाजाबाट विस्थापित प्यालेस्टिनीहरू इजिप्टतर्फ जाँदै
तस्बिरको क्याप्शन, गाजाबाट विस्थापित प्यालेस्टिनीहरू इजिप्टतर्फ जाँदै

गाजामा मानवीय सङ्कट

इन्टरन्याशनल रेस्क्यू कमिटीले उनीहरूले मध्य गाजाको एउटा मात्र सञ्चालनमा रहेको अस्पतालबाट आफ्ना चिकित्सक तथा मेडिकल कर्मचारीहरूलाई फिर्ता बोलाएको बताएको छ।

विश्व स्वास्थ्य सङ्गठनले उत्तरी गाजामा मेडिकल सामग्रीहरू आपूर्ति बन्दगरेसँगै उक्त संस्थाले पनि त्यस्तो कदम चालेको हो।

इजरेली सेनाले दक्षिणी गाजास्थित खान युनिस सहरमा आफ्नो कारबाही तीव्र पारेको जनाएको छ।

रमल्लाहस्थित स्वास्थ्य मन्त्रालयले अधिनस्थ वेस्ट ब्याङ्कमा पनि इजरेली कारबाहीमा कम्तीमा सातजना मारिएको जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन इजरेल जानुअघि अरब देशका नेताहरूसँग छलफलमा रहेका छन्।

उनले यूएई र साउदी अरेबियाका नेताहरूसँग छलफल गर्नेछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।