लेबननमा गरिएको ड्रोन आक्रमणमा हमासका वरिष्ठ नेताको मृत्यु, इजरेल भन्छ 'सर्जिकल स्ट्राइक'

सालेह अल-अरूरी
तस्बिरको क्याप्शन, इजरेलले सालेह अल-अरूरीलाई अधीस्थ वेस्ट ब्याङ्कमा भएका हमलाका मुख्य योजनाकार मान्ने गरेको थियो
Published

हमासका वरिष्ठ नेता सालेह अल-अरूरी बेरूतमा मारिएपछि लेबनन सरकारले इजरेलमाथि मध्यपूर्वमा क्षेत्रीय युद्ध बल्झाउन खोजेको आरोप लगाएको छ। इजरेलले भने उक्त घटना लेबननमाथिको आक्रमण नभएको तर्क गरेको छ।

इजरेल सरकारका एक प्रवक्ताले सालेह अल-अरूरी "हमासको नेतृत्वविरुद्ध गरिएको सर्जिकल स्ट्राइक" मा मारिएको बताएका छन्। तर उनले त्यसमा इजरेलको भूमिकाबारे केही टिप्पणी गरेनन्।

इजरेलले हमास लडाकु समूहविरुद्ध सैन्य कारबाही थालेपछि ज्यान गुमाउने नेतामध्ये अरूरी सबैभन्दा वरिष्ठ हुन्।

हमासले उक्त आक्रमणको निन्दा गरेको छ।

हमासको साझेदार हिज्बुल्लाहले उक्त घटनालाई "लेबननको सार्वभौमिकतामाथि भएको आक्रमण" को सङ्ज्ञा दिएको छ।

लेबननका प्रधानमन्त्रीले इजरेलले "लेबननलाई मुठभेडमा तान्न" खोजेको आरोप लगाएका छन्।

कसले के भने?

लेबननमा स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार हमासको राजनीतिक विभागका उपनेता अरूरी र अरू छ जनाको दक्षिणी बेरूतमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको थियो।

मृत्यु हुनेमा हमासका दुई सैन्य कमान्डर र चार अन्य सदस्य पनि छन्।

लेबननका विदेशमन्त्री अब्दल्लाह बू हबिबले बीबीसीसँग कुराकानी गर्दै इजरेल गाजामा विफल भएकाले उसले त्यसको क्षतिपूर्ति गर्ने प्रयास गरिरहेको बताए।

अरूरी नेता इस्माइल हानिएका निकट साझेदार थिए
तस्बिरको क्याप्शन, ड्रोन हमलामा मारिएका अरूरी तेस्रो तलामा रहेको विवरणहरू आएका छन्
ड्रोन आक्रमण भएको भवनमा लेबननी सुरक्षाकर्मी तथा उद्धारकर्ताहरू
तस्बिरको क्याप्शन, ड्रोन आक्रमण भएको भवनमा लेबननी सुरक्षाकर्मी तथा उद्धारकर्ताहरू

समाचारसंस्था रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले अग्निनियन्त्रक र स्वास्थ्यकर्मीहरू एउटा अग्लो भवनको छेउमा भेला भएको जनाएका छन्।

उक्त भवनको तेस्रो तलामा एउटा ठूलो भ्वाङ परेको जनाइएको छ।

सामाजिक सञ्जालमा देखा परेका भिडिओ सामग्रीमा एउटा व्यस्त आवासीय क्षेत्रमा रहेका भवनहरूमा धेरै क्षति पुगेको र एउटा कारबाट आगोको मुस्लो निस्किएको देखिन्छ।

डाहिए भनिने उक्त आवासीय क्षेत्रमा हिज्बुल्लाह समूहको बलियो प्रभाव छ।

ड्रोन आक्रमण भएको भवनमा बाहिर सुरक्षाकर्मीहरू

इजरेल के भन्छ?

हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेर ठूलो क्षति पुर्‍याइदिएपछि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त लडाकु समूहलाई "निमिट्यान्न पार्ने" उद्घोष गरेका थिए।

तर इजरेल सरकारका प्रवक्ता मार्क रेगेभले अरूरीको हत्या इजरेलले गराएको पुष्टि गरेनन्। उनले एमएसएनबीसीलाई भने, "जसले गरेको हो यो आक्रमण लेबनन राज्यमाथि गरिएको हैन भन्ने स्पष्ट हुनुपर्छ।"

"यो आतङ्कवादी समूह हिज्बुल्लाहमाथिको आक्रमण पनि होइन।”

"यो आक्रमण जसले गरेको भए पनि हमास नेतृत्वविरुद्ध सर्जिकल स्ट्राइक गर्‍यो। जसले गर्‍यो उसको हमाससँग सिकायत छ। त्यो स्पष्ट छ।"

गाजामा युद्ध सकिएपछि के गर्ने भन्ने विषयमा छलफल गर्न मङ्गलवार साँझ बोलाइएको इजरेली मन्त्रिपरिषद्को सुरक्षा बैठक स्थगित भएको छ।

हमासका नेता इस्माइल हानिएले बेरूतमा भएको साङ्घातिक घटनालाई "आतङ्ककारी कार्य" भन्दै त्यसले लेबननको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए।

बेरूतमा हमला भएको क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखेको लडाकु समूह हिज्बुल्लाहले उक्त घटनालाई अपराध भन्दै आफ्नो प्रतिक्रिया र सजायबिना आक्रमणकारी पक्ष उम्किन नसक्ने चेतावनी दिएको छ।

गाजामा युद्ध चलिरहेका बेला हिज्बुल्लाहले इजरेललाई लक्ष्य बनाउँदै बारम्बार रकेट प्रहार गर्दै आएको छ।

सालेह अल-अरूरीबारे हामीलाई के थाहा छ?

साहेल अल-अरूरीलाई हमासको नेतृत्वपङ्क्तिमा निकै वरिष्ठ मानिन्थ्यो। उनी राजनीतिक र सैन्य मोर्चा दुवैतिर सक्रिय थिए।

सन्ताउन्न वर्षीय अरूरी हमासको राजनीतिक विभागका उपनेता थिए।

उनले हमासको सैन्य विभाग 'इज अल-दिन अल-कसाम ब्रिगेड्स' स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सालेह अल-अरूरी

उनी सन् १९८७ मा हमासमा आबद्ध भएका थिए।

उनले इजरेलको अधीनमा रहेको वेस्ट ब्याङ्कमा हमास समूहको सैन्य उपस्थिति स्थापित गर्न सघाएका थिए।

उनी हमासको सैन्य गतिविधिमा संलग्न थिए। उनलाई हमास नेता इस्माइल हानिएसँग निकट मानिन्थ्यो।

लेबननमा बसेर उनले हमास र हिजबुल्लाहबीच सम्पर्कसूत्रका रूपमा काम गरिरहेका थिए। उनी इरानसँग पनि नजिक थिए।

इस्माइल हानिए हमासका मुख्य नेता भएको ठानिन्छ
तस्बिरको क्याप्शन, इस्माइल हानिए हमासका मुख्य नेता भएको ठानिन्छ। अरूरीको उनीसँग निकट सम्बन्ध थियो

अरूरी इजरेलको जेलमा पनि बसेका थिए।

जेलबाट छुटेपछि सन् २०११ मा उनी बन्धक बनाइएका एक इजरेली सैनिकलाई मुक्त गराउन १,००० प्यालेस्टिनी बन्दीहरूलाई छोड्ने सहमतिमा भए।

गत अक्टोबर महिनामा इजरेली सेनाले वेस्ट ब्याङ्कस्थित उनको घर भत्काइदिएको थियो।

अक्टोबर ७ मा हमासले सीमा वरपरका बस्तीमा हमला गर्दा झन्डै १,२०० जनाको गएको थियो र करिब २४० जनालाई बन्धक बनाएर गाजातिर लगिएको थियो।

ज्यान गुमाएका धेरैजसो सर्वसाधारण मानिस थिए।

हमासलाई सखाप पार्ने उद्देश्यसहित इजरेलले अहिले गाजामा सैन्य कारबाही गरिरहेको छ।

अहिलेसम्म इजरेली कारबाहीमा परेर २२,००० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।