बेनु क्षुद्रग्रहको नमुना पृथ्वी आइपुग्यो

क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो
तस्बिरको क्याप्शन, क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो
    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता
  • Published

सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा वर्णित एउटा क्षुद्रग्रहको धुलो नमुना अन्तत: पृथ्वीमा ल्याइएको छ।

बेनु क्षुद्रग्रहको अध्ययन गरिरहेको सातवर्षे अन्तरिक्ष मिशनले त्यसबारे एउटा नाटकीय निष्कर्ष निकाल्न लागेको छ।

ओसाइरिस-रेक्स अन्तरिक्षयानले क्षुद्रग्रह बेनुको सतहबाट सङ्कलन गरेको "माटो"का नमुनाहरू स्थानीय समयानुसार आइतवार बिहान १०ः५२ मिनेट जाँदा पृथ्वी आइपुगेको हो।

नासाले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा एउटा क्याप्स्यूलमा राखेर ल्याइएको उक्त पदार्थ अवतरण गराएको हो। 

पृथ्वीमा अवतरण गर्ने क्रममा नजलोस् भनेर उक्त धुलोलाई क्याप्स्यूलभित्र सुरक्षापूर्वक राखिएको थियो।

त्यसबाट पृथ्वीको विगतबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुने ठानिएको छ।

वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक अध्ययनले ४.५० अर्ब वर्षअघि ग्रहहरूको उत्पत्तिबारे नयाँ जानकारी दिने र सम्भवतः पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने विषयमा पनि अन्तर्दृष्टि दिने अपेक्षा गरेका छन्।

उक्त क्याप्स्यूलबाट त्यसको हीटशील्ड र पछाडिको ढकनी निकालिएको थियो
तस्बिरको क्याप्शन, उक्त क्याप्स्यूलबाट त्यसको हीटशील्ड र पछाडिको ढकनी निकालिएको थियो

कहाँ खसालियो?

उक्त प्रोबले छाडेको क्याप्स्यूलले अमेरिकी रक्षा मन्त्रालयको स्वामित्वमा रहेको मरुभूमिमा अवतरण गरेको हो।

ओसाइरस-रेक्स परियोजनामा संलग्न सबैका लागि विशेष गरी उक्त क्याप्स्यूल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तिम १३ मिनेट डरलाग्दो हुने लागेको थियो। उक्त कन्टेनर टायर आकारको जत्रो छ।

उनीहरूले त्यो सुरुमा १२ किलोमिटर प्रतिसेकेन्डभन्दा बढी गतिमा खस्ने र त्यसको तापक्रम ३,००० डिग्री सेल्सिअसभन्दा बढी पुग्ने भनाइ थियो।

मरुभूमिमा ओर्लिएको क्याप्स्यूल लिन हेलिकप्टरहरू परिचालन गरिएको थियो
तस्बिरको क्याप्शन, मरुभूमिमा ओर्लिएको क्याप्स्यूल लिन हेलिकप्टरहरू परिचालन गरिएको थियो

तर ‘थर्मलशील्ड’ र प्याराशूटको संयोजनले त्यसलाई मरुभूमिको सुरक्षित स्थानमा ल्याइएको थियो।

उक्त मिशनका प्रमुख अन्वेषक दाँते लौरेडोले अवतरणअघि बीबीसीलाई भनेका थिए, "हामीले आकस्मिक परिस्थितिहरूको लागि तयारी गर्न अत्यधिक समय खर्च गरेका छौँ, सबै गलत हुन सक्छ र सबै खाले डरलाग्दा चिजहरू जुन हामीले सामना गर्न सक्छौँ।"

"तर सबैभन्दा राम्रो कुरा के हो भने हामीले पर्याप्त अभ्यास गरेका छौँ र त्यसैले हामी तयार छौँ।"

क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो

यान कहिले उडेको थियो

बेनुको अन्वेषण गर्न ओसाइरिस-रेक्स अन्तरिक्षयान सन् २०१६ मा पृथ्वीमा प्रक्षेपण गरिएको थियो।

उक्त क्षुद्रग्रह अर्को शताब्दीको अन्त्यमा हाम्रो ग्रहमा ठोकिन सक्ने एकदमै न्यून सम्भावना छ।

उक्त प्रोबले ५०० मिटर फराकिलो चट्टानमा पुग्न दुई वर्ष लगाएको थियो र थप दुई वर्ष त्यसलाई अवलोकन गर्दै रह्यो। त्यसपछि मात्र उक्त क्षुदर ग्रहको सतहको सामग्रीको नमुना प्राप्त गर्ने अभ्यास गरेको थियो।

उक्त यानले सङ्कलन गरेका नमुनाहरू करिब २५० ग्रामका छन्।

क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो

वैज्ञानिकलाई लागेको डर

यस घटनामा हालसम्म वैज्ञानिकहरूलाई लागेको डर भनेको 'जेनसिस'को जस्तै घटना नहोस् भन्ने थियो।

जेनसिस क्याप्स्यूलले सन् २००४ मा मा 'सोलर विन्ड'(सौर्यआँधी)का नमुना पृथ्वीमा ल्याउँदै थियो। तर प्याराशूट नखुलेपछि ३०० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा त्यो जमिनमा बज्रियो।

त्यसले गर्दा त्यसमा राखिएका नमुनाहरू वायुमण्डलमै छरिए।

सन् २००४ मा सौर्यआँधीका नमुनाहरू पृथ्वीमा ल्याउँदै थियो गरेको जेनसिस क्याप्सुल दुर्घटनामा परेको थियो
तस्बिरको क्याप्शन, सन् २००४ मा सौर्यआँधीका नमुनाहरू पृथ्वीमा ल्याउँदै थियो गरेको जेनसिस क्याप्सुल दुर्घटनामा परेको थियो

"हामी जेनसिसमा भएको त्रुटि बुझेका छौँ। त्यसमा केही गुरुत्वाकर्षण स्विचहरू उल्टो गरी जडान भएका थिए," उक्त क्याप्स्यूल निर्माता कम्पनी लकहीड मार्टिनका रिचर्ड विदरस्पूनले भनेको थियो।

"यो क्याप्स्यूलका गुरुत्वाकर्षण स्विचहरूको धेरै पटक दोहोर्‍याएर जाँचहरू गरिएको छ। ती स्विचहरू सही स्थानमा राखिएका छन् भनेर सुनिश्चित गर्न त्यस्ता जाँचहरू भएका हुन्।"

तर पनि केही भइहाल्ला भनेर आपत्कालीन टोलीलाई तयारी अवस्थामा राखिएको थियो।

यूटा परीक्षण क्षेत्रका मौसमविद्हरूले हालैका दिनहरूमा अन्तिम अवतरणका बेलाको मौसमी स्थितिको भविष्यवाणी गर्न सहयोग पुगोस् भनेर नवीनतम जानकारी प्राप्त गर्न केही दिनदेखि मौसमको जानकारी दिने बलूनहरू उडाएका थिए।

बेनुको नमुना कस्तो होला
तस्बिरको क्याप्शन, बेनुको नमुना कस्तो होला?

समस्या

सबैभन्दा ठूलो समस्याको रूपमा यस वर्ष मरुभूमिमा भएको वर्षाको मात्रालाई मानिएको थियो। वर्षाका कारण त्यहाँ कतै पानी जमेको वा हिलो छ।

"यसले सवारीसाधनहरू र ग्राउन्ड भिअकल कुदाउन गाह्रो बनाउँछ," अमेरिकी सेनाको डग्वे प्रूभिङ ग्राउन्डका प्रमुख मौसमविद् डन रुथले भने।

"ती साधनहरू हिलोमा गाडिन सक्छन्। तर सकारात्मक रूपमा यसले धुलोलाई थिचेर तल राख्छ त्यसले उपकरणका लागि राम्रो गर्छ।"

रिकभरी टोली हेलिकप्टरमा उक्त क्षेत्रमा गएको थियो। क्याप्स्यूललाई जालमा हालेर र हेलिकप्टरमुनि झुन्ड्याएर अस्थायी ‘क्लीन रूम’मा लगिएको थियो।

नासा

नमुनाको परीक्षण

सफलतापूर्वक उक्त क्याप्स्यूल अवतरण भएपछि अब ती सङ्कलित नमुनालाई सुरक्षित रूपमा नासाको टेक्ससस्थित जोन्सन स्पेस सेन्टरमा विस्तृत विश्लेषणका लागि लगिने छ।

त्यस्ता नमुनालाई पृथ्वीका कुनै पनि पदार्थबाट दूषित हुनबाट जोगाइने गरी योजना बनाइएको छ।

"बेनुलाई हामी कार्बनेशन एस्टरोइड भन्छौँ," ओसिरिस-रेक्स मिशनका डेप्यटी क्यूरेटर क्रिस्टोफर स्नीडले भने। अर्थात् त्यसमा कार्बनको मात्रा धेरै छ।

क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो

"हामीलाई लाग्छ यस्तो प्रकारका चट्टानहरू ग्रहहरू निर्माणका लागि कुनै घर बनाउँदाका इँटाजस्ता हुन् र तिनले हामीलाई सौर्यमण्डलको आरम्भतिर पुर्‍याउँछन्।”

उनले नमुनाको अध्ययनबाट ग्रहहरूको उत्पत्ति र पृथ्वीमा जीवन सुरु गर्ने यौगिकबारे पत्ता लाग्न सक्ने बताए।

उक्त क्याप्स्यूललाई पृथ्वीमा छाडेपछि नासाको प्रोबलाई एपोफिस भनिने अर्को क्षुद्रग्रहमा पठाइने छ। त्यो यान उक्त क्षुद्रग्रहमा सन् २०२९ मा पुग्ने अपेक्षा गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।