नयाँ पोप बन्न चाहिने योग्यता र छान्ने विधि

सन् २००५ मा पोप जन पोल द्वितीयका उत्तराधिकारी छान्ने भेलामा सहभागी हुन सिस्टिन च्यापलमा प्रवेश गर्दै कार्डिनलहरू
तस्बिरको क्याप्शन, सन् २००५ मा पोप जन पोल द्वितीयका उत्तराधिकारी छान्ने भेलामा सहभागी हुन सिस्टिन च्यापलमा प्रवेश गर्दै कार्डिनलहरू
    • Author, जेरमी हावल
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। अब रोमन क्याथोलिक चर्चले नयाँ प्रमुख नियुक्त गर्नुपर्ने छ।

कार्डिनल भनिने वरिष्ठ पादरीहरूले मध्ययुगीन परम्परा अनुसरण गर्दै निकै गोप्य प्रक्रियाबाट नयाँ पोप छान्ने छन्।

पदासीन पोपको मृत्यु भएपछि वा उनले पदत्याग गरेपछि नयाँ पोप छानिन्छ।

को पोप बन्न सक्छ, कसले छान्छ

सन् २००५ मा सेन्ट पिटरस्थित बसिलिकामा पोप छान्नका लागि आयोजित भेलाअघि आयोजित प्रार्थनासभामा कार्डिनलहरू
तस्बिरको क्याप्शन, पोप छान्ने भेलाअघि कार्डिनलहरूले सेन्ट पिटरस्थित बसिलिकामा प्रार्थना गर्छन्

पोप बेनेडिक्ट सोह्रौँले सन् २०१३ मा राजीनामा दिएका थिए। उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि स्वेच्छापूर्वक पदत्याग गर्ने पहिलो पोप थिए।

पोप फ्रान्सिसका उत्तराधिकारी व्यक्ति रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने छन्। उनलाई 'द सूप्रीम पोन्टिफ' अर्थात् 'सर्वोच्च पादरी' भनिन्छ।

विधिवत् 'ब्याप्टिजम' को संस्कार भएका जुनसुकै क्याथोलिक पुरुषलाई पोप बन्न योग्य मानिन्छ।

यद्यपि छनोटको जिम्मेवारी कार्डिनल अर्थात् क्याथोलिक चर्चका वरिष्ठ अधिकारीहरूलाई दिने गरिएको छ।उनीहरूले नै नयाँ पोप छान्छन्।

गत फेब्रुअरी १९ सम्मको तथ्याङ्कअनुसार विश्वभरि २५२ कार्डिनल छन्। उनीहरू 'बिशप' पनि हुन्।

पोपको निर्वाचनमा ८० वर्ष नकटेका कार्डिनलहरूले मात्र मतदान गर्न पाउँँछन्, अरूले पाउँदैनन्।

नयाँ पोप छान्ने प्रक्रियामा प्रायः १२० कार्डिनल मात्रै सहभागी हुन्छन्।

अहिले भएकामध्ये १३५ कार्डिनलको योग्यता नयाँ पोप छान्ने प्रक्रियामा सहभागी हुन पुग्छ।

सन् २०२४ को डिसेम्बरमा पोप फ्रान्सिसले २१ जनालाई कार्डिनल नियुक्त गरेका थिए।

कार्डिनलहरूले नयाँ पोप कसरी छान्छन्

पोप जन पोल द्वितीयको उत्तराधिकारी छान्न सन् २००५ मा सिस्टिन च्यापलमा आयोजित मतदानसभा सहभागी भएका कार्डिनलहरू
तस्बिरको क्याप्शन, सिस्टिन च्यापलमा नयाँ पोप छान्ने क्रममा मतदान हुन्छ

नयाँ पोप छान्नुपर्ने भएपछि सबै कार्डिनलहरूलाई रोमस्थित भ्याटिकन सिटीमा आयोजना हुने एउटा भेलामा बोलाइन्छ। विगत ८०० वर्षदेखि यो प्रक्रिया जस्ताको तस्तै चल्दै आएको छ।

भेलाको पहिलो दिन उनीहरूले सेन्ट पिटर्स बसिलिकामा इसाई परम्पराअनुसार प्रार्थना गर्छन्।

त्यसपछि उनीहरू भ्याटिकनको सिस्टिन च्यापलमा भेला हुन्छन्। त्यसपछि त्यहाँ "एक्स्ट्रा ओम्नेस" भन्ने आदेश दिइन्छ। उक्त ल्याटिन शब्दको अर्थ "सबै जना बाहिर" भन्ने हुन्छ।

त्यसपछि नयाँ पोप छनोट नभएसम्म सबै कार्डिनलहरू भ्याटिकनमै बस्नुपर्छ।

भ्याटिकनको नक्सा

निर्वाचक मण्डलमा भएका कार्डिनलहरूलाई 'कन्क्लेभ' भनिने भेलाको पहिलो दिन नै प्रारम्भिक मतदान गर्ने विकल्प हुन्छ। दोस्रो दिनबाट उनीहरूले प्रत्येक दिन बिहान र अपराह्ण गरेर दुई-दुई पटक मत दिन पाउँछन्। पोपका उम्मेदवार एक जना मात्रै बाँकी नहुँदासम्म यो प्रक्रिया चलिरहन्छ।

त्यहाँ प्रत्येक कार्डिनलले आफ्नो छनोटका उम्मेदवारको नाम लेख्छन्। मतपत्रको गोप्यताका लागि कार्डिनलहरूलाई आफ्नो नियमित हस्तलेखन शैली प्रयोग नगर्न भनिएको हुन्छ।

यदि दोस्रो दिनसम्म पनि चुनावबाट निर्णय आउन सकेन भने तेस्रो दिन प्रार्थना र चिन्तनका लागि छुट्ट्याइन्छ। त्यस दिन मतदान हुँदैन। चौथो दिनबाट मतदानको प्रक्रिया फेरि सुरु हुन्छ।

पोप बन्नका लागि कुनै एक उम्मेदवारले कम्तीमा दुईतिहाइ मत प्राप्त गर्नुपर्छ। यो प्रक्रियाका लागि कैयौँ दिन र कहिलेकाहीँ हप्तौँ पनि लाग्न सक्छ।

पोप छान्ने भेलामा के हुन्छ

सन् २०१३ मा नयाँ पोपको नाम घोषणाको प्रतीक्षामा सेन्ट पिटर्स स्क्वाएरमा भेला भएका मानिसहरू
तस्बिरको क्याप्शन, सिस्टिन च्यापलमा कार्डिनलहरूको भेला हुँदा उनीहरूले गर्ने निर्णय सुन्न सेन्ट पिटर्स स्क्वाएरमा मानिसहरूको भिड लाग्छ

पोप छनोट गर्ने भेला निकै एकान्तमा हुन्छ। उक्त प्रक्रियामा सहभागी कार्डिनलहरूले रेडिओ सुन्न, टेलिभिजन हेर्न, पत्रपत्रिका पढ्न वा फोन गरेर बाहिरका मानिससँग कुरा गर्न पाउँदैनन्।

कार्डिनलहरू बस्ने आवासमा सरसफाइका कर्मचारी, चिकित्सक र उनीहरूले गर्ने 'कन्फेशन' (अर्थात् इसाई परम्पराअनुसार गरिने पापस्वीकारोक्ति) सुन्ने पादरीहरूबाहेक अरू कोही पनि जान पाउँदैनन्। ती सबै जनाले गोपनीयताको शपथ लिएका हुन्छन्।

मतदान नभएका समयमा मत दिने वा उमेर हदका कारण मत दिन नपाउने दुवै खालका कार्डिनलहरूले पोपका उम्मेदवारका राम्रा पक्षबारे कुराकानी गर्छन्।

कुनै पनि उम्मेदवारले खुलेर आफूलाई मत माग्न पाउँदैनन्। भ्याटिकनका अनुसार कार्डिनलहरू 'पवित्र आत्मा'बाट प्रेरित भएका हुन्छन्। तथापि पोपका उम्मेदवारका पक्षमा समर्थन जुटाउने प्रक्रिया निकै राजनीतिक हुने ठान्ने गरिएको छ।

सन् २०१३ मा कार्डिनलहरूले नयाँ पोपबारे निर्णय गरेपछि त्यसको सङ्केत दिन सिस्टिन च्यापलको छानामा भएको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो
तस्बिरको क्याप्शन, कार्डिनलहरूले नयाँ पोपबारे निर्णय गरेपछि त्यसको सङ्केत दिन सिस्टिन च्यापलको छानामा भएको चिम्नीबाट सेतो धुवाँ निस्किन्छ

प्रत्येक दिन दुई पटक प्रयोग भइसकेका मतपत्रहरू जलाइन्छ र भ्याटिकन बाहिरका मानिसहरूले सिस्टिन च्यापलको चिम्नीबाट बाहिर धुवाँ देख्न सक्छन्।

जलाइने कागजमा कालो वा सेतो रङ्ग लगाइन्छ।

कालो धुवाँले मतदानबाट निर्णय नआएको र सेतो धुवाँले नयाँ पोप छानिएको सङ्केत गर्छन्।

नयाँ पोप छानिएपछि के हुन्छ

सन् २०१३ मा पोप निर्वाचित भएपछि सेन्ट पिटर्स बसिलिकाको बाल्कोनीबाट बाहिर जम्मा भएका मानिसहरूलाई सम्बोधन गर्दै पोप फ्रान्सिस प्रथम
तस्बिरको क्याप्शन, निर्वाचित भएपछि नयाँ पोपले सेन्ट पिटर्स बसिलिकाको बार्दलीबाट बाहिर जम्मा भएका मानिसलाई सम्बोधन गर्ने परम्परा छ

चुनावबाट छानिएका नयाँ पोपलाई "के तपाईँ सूप्रीम पोन्टिफ निर्वाचित भएको स्वीकार गर्नुहुन्छ?" भनेर सोधिन्छ।

त्यसपछि पोपलाई आफ्नो नाम छनोट गर्न भनिन्छ र पोपको परम्परागत पोसाक धारण गराइन्छ।

कार्डिनलहरूले उनीप्रति श्रद्धा व्यक्त गर्दै उनको आज्ञापालन गर्ने वाचा गर्छन्।

नयाँ पोपको घोषणा सेन्ट पिटर्स बसिलिकाको बार्दलीबाट गरिन्छ। ल्याटिन भाषाको "हाबेमुस् पापाम्" अर्थात् "हामीसँग नयाँ पोप आए" भन्ने घोषणा हुँदा बार्दलीको तलपट्टि मानिसहरूको भिड जम्मा भएको हुन्छ।

सुरुमा नयाँ पोपको नाम सार्वजनिक हुन्छ र त्यसपछि पोप आफैँ देखा पर्छन्। उनले सङ्क्षिप्त मन्तव्य दिन्छन् र ल्याटिनमा "उर्बी एट् ओर्बी" भनिने "सहर र विश्वका लागि" परम्परागत आशीर्वाद दिन्छन्।

त्यसपछि प्रत्येक चरणका मतदानको परिणाम पोपलाई देखाइन्छ। त्यसलाई सिलबन्दी गरेर भ्याटिकनको अभिलेखालयमा राखिन्छ। पोपको आदेशमा मात्रै उक्त दस्ताबेज खोल्न मिल्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।