यौन दुर्व्यवहार: भ्याटिकनका कार्डिनललाई दुई मुद्दा

अष्ट्रेलिया

तस्बिर स्रोत, Getty Images

Published

यौन दुर्व्यवहारको आरोप खेप्ने सबै भन्दा वरिष्ठ रोमन क्याथोलिक कार्डिनल जर्ज पेलविरुद्ध अस्ट्रेलियामा दुई वटाअलग मुद्दा लगाइने भएको छ।

मेलबर्नमा भएको संक्षिप्त सुनुवाइपछि वादी र प्रतिवादी दुवै पक्षले ७६ वर्षीय पेलले सन् १९७० को दशकमा आफू पादरी हुँदा बलाराटमा भएको भनिएको एउटा घटना र त्यसको २० वर्षपछि मेलबर्नमा आर्कबिशप हुँदा लगाइएको अर्को आरोपलाई लिएर मुद्दाको सामना गर्नुपर्नेमा सहमति जनाएका हुन्।

हालसम्म कुनै पनि मुद्दाको पुर्पक्षको समय भने तय भएको छैन।

भ्याटिकनका आर्थिक मामिला व्यवस्थापक रहेका पेलले आफू निर्दोष रहेको बताएका छन्।

अष्ट्रेलिया

तस्बिर स्रोत, Getty Images

तर कार्डिनलको कानुनी टोलीले ती मुद्दाहरूको कारबाही तुरुन्तै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले भनेका छन्, "हाम्रो पक्ष ७६ वर्ष पुगिसक्नुभएको छ र सबै जनाले आफ्नो जीवन अघि बढाउन पाउनुपर्छ।"

बयान

अर्को सुनुवाइ मे १६ का लागि तोकिएको छ जसले मुद्दाहरूमा कारबाही अघि बढाउन मितिको निर्क्योल गर्नसक्ने ठानिएको छ।

गएको जुन महिनामा भिक्टोरियाका प्रहरीहरूले पुराना घटनासँग सम्बन्धित एक भन्दा बढी उजुरी परेको भन्दै कार्डिनल पेल विरुद्ध अभियोग दायर गरेका थिए।

'कमिटल' भनिने प्रारम्भिक अदालती सुनुवाइका क्रममा ३० जना भन्दा बढीले बयान दिएका थिए।

मार्चदेखि चार हप्तासम्म चलेको उक्त यौन दुर्व्यवहारको आरोपबारेको सुनुवाइको कारबाही प्रचलनमा रहेजस्तै सर्वसाधारणका लागि निषेध गरिएको थियो।