ब्रिटिश चिकित्सा क्षेत्रकी अग्रणी तर धेरैले बिर्सेकी महिला र उनको नेपाल साइनो

द रोयल कलेज अफ फिजिसियन एन्ड सर्जन्स अफ ग्लास्गो को सौजन्यमा प्राप्त तस्बिर। सेन उक्त कलेजमा भर्ना भएको पहिलो महिला फेलो हुन्

तस्बिर स्रोत, Courtesy of The Royal College of Physicians and Surgeons of Glasgow

तस्बिरको क्याप्शन, द रोयल कलेज अफ फिजिसियन एन्ड सर्जन्स अफ ग्लास्गोको सौजन्यमा प्राप्त तस्बिर। सेन उक्त कलेजमा भर्ना भएको पहिलो महिला फेलो हुन्
    • Author, सुधा जी तिलक
  • पढ्ने समय: ६ मिनेट

बीसौँ शताब्दीको सुरुआतमा जब चिकित्सा क्षेत्रमा पुरुष बाहुल्य थियो र युरोपेली संस्थाहरूले महिलाका लागि आफ्ना ढोकाहरू बन्द राखेका थिए। ब्रिटिश उपनिवेश अन्तर्गत रहेको समयको भारतको बङ्गालकी एक महिला एक कठिन ढोकाभित्र छिरेकी थिइन्।

सन् १९१२ मा जामिनी सेनलाई रोयल कलेज अफ फिजिसियन एन्ड सर्जन्स अफ ग्लास्गोले एक फेलोको रूपमा पहिलो महिला भर्ना गरेको थियो।

यो संस्था सन् १५९९मा स्थापना भएको थियो र महिलाका लागि त्यसको ढोका लामो समयसम्म बन्द थियो।

तैपनि चिकित्सा शास्त्रका अनेकौँ अग्रजहरूको कथाभन्दा फरक उनको कथा कतै हराउन पुग्यो।

 मिति नलेखिएको तस्बिरमा सेन एक बच्चा हातमा लिएर बसेकी छन्

तस्बिर स्रोत, Courtesy of The Royal College of Physicians and Surgeons of Glasgow

तस्बिरको क्याप्शन, मिति नलेखिएको तस्बिरमा सेन एक बच्चा हातमा लिएर बसेकी छन्

अहिले एक शताब्दीभन्दा पछि सेनको असाधारण जीवन - नेपालका राजदरबारका वार्डदेखि ब्रिटेनका परीक्षा हलसम्म र उपनिवेशकालीन भारतका महामारीग्रस्त शहरसम्मको कथामा - उनकी नातिनी पर्ने दीप्ता रोय चक्रवर्तीले लेखेको नयाँ जीवनी डाक्टराइन जामिनी सेनमा समेटिएको छ। (उत्तर भारतीय भाषाहरूमा महिला डाक्टरलाई डाक्टराइन भन्ने गरिन्छ।)

यो जीवनी सेनले सङ्कलन गरेका चिठी, दैनिकी र जर्नलमा आधारित भएर लेखिएको छ। उनको महिला परिषद् नामको जर्नलमा आएको लेख र उनकी दिदी कामिनीले लेखेको एक लेखमा आधारित छ। यो पुस्तकले भारत स्वतन्त्रता पूर्वको समयमा बङ्गालकी एक तीक्ष्ण बुद्धि र दृढ सङ्कल्प भएकी महिलालाई इतिहासमा पुन:स्थापित गर्छ।

जामिनी सन् १८७१ मा बङ्गालको बरिसालमा एक प्रगतिशील परिवारमा सात दाजुभाइ दिदीबहिनीबीच जन्मिएकी थिइन्। उनको चिकित्सा यात्रा युरोपको चिकित्सा क्षेत्रभन्दा धेरै परको स्थानबाट सुरु भएको थियो।

कलकत्ताको बेथुन कलेजमा पढेकी उनी कलकत्ता मेडिकल कलेजबाट चिकित्सा शास्त्रमा दीक्षित भएपछि सन् १८९७ मा त्यस बेलासम्म सम्पूर्ण रूपमा पुरुष प्रधान र कुनै जाति विशेषमा मात्र सीमित पेसामा प्रवेश गरेकी थिइन्।

सेनले यो तिब्बती चम्चा उनको मेडिकल सेवामा योगदानका लागि प्राप्त गरेकी हुन्

तस्बिर स्रोत, Deepta Roy Chakraverti

तस्बिरको क्याप्शन, सेनले यो तिब्बती चम्चा उनको मेडिकल सेवामा योगदानका लागि प्राप्त गरेकी हुन्

स्नातक हुने बित्तिकै उनले नेपालमा जागिर गर्ने प्रस्ताव स्वीकार गरिन्। यो नै उनको प्रारम्भिक व्यावसायिक जीवन थियो। उनले नेपालको शाही परिवारमा निजी फिजिसियन तथा काठमाण्डूको महिला अस्पतालको प्रमुखका रूपमा काम गर्ने प्रस्ताव स्वीकार गरिन्।

करिब एक दशक उनले उच्चतम स्तरमा चिकित्सा अभ्यास गरिन्। उनले राजा पृथ्वी वीर विक्रम शाहको विश्वास जित्दै पारम्परिक परिवेशमा आधुनिक निदानको विधि कार्यान्वयन गरिन्।

उनको नेपाल बसाइ नाटकीय पनि थियो।

दरबारमा बढ्दो अशान्ति तथा कू हुने हल्लाबीच उनले अन्ततः नेपाल छोडिन्।

राजाले उनलाई सुनको घडी दिएर सम्मानित गरेका थिए।

पछि राजाको छिटै मृत्यु भयो।

राजाको मृत्यु विष खुवाइएका कारण भएको थियो कि भन्ने आशङ्का गरिएको थियो।

तर महत्त्वाकाङ्क्षाले उनलाई निकै पर पुर्‍यायो।

 नेपालका राजा पृथ्वी वीर बिक्रम शाहले सेनलाई सुनको घडी उपहार दिएका थिए

तस्बिर स्रोत, Deepta Roy Chakraverti

तस्बिरको क्याप्शन, नेपालका राजा पृथ्वी वीर बिक्रम शाहले सेनलाई सुनको घडी उपहार दिएका थिए

सन् १९११ मा लेडी डफरिन फन्डको सहयोगमा उनले ब्रिटेनको यात्रा गरिन्। उनले डबलिनमा मेडिकल लाइसेन्स लिइन्। लन्डनको स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा पढिन् र ग्लास्गोमा भएको फेलोसिपको परीक्षा दिइन्।

द रोयल कलेजले त्यसबेला बल्ल महिलाहरूका लागि परीक्षामा सहभागी हुन पाउने अवसर खुलाएको थियो। सन् १५९९ मा स्थापना भएको उक्त संस्थामा उनी पहिलो महिला फेलो सन् १९१२ मा बनिन्।

तर त्यो जित अपूरो थियो। कलेजको रेकर्डमा सेन "कार्यालयको पद धारण गर्न असफल रहेको लेखिएको छ… त्यसको अर्थ महिला फेलोको रूपमा उनका पुरुष सहकर्मीका तुलनामा उनले पाएका अधिकार सीमित थिए।"

उनीपछि अर्की महिला फेलोको रूपमा सन् १९२३ मा ११ वर्षपछि मार्गरेट होग ग्र्यान्ट भर्ना भएकी थिइन्।

जामिनी त्यसपछि सन् १९१२ मा बर्लिनको यात्रामा गइन्।

त्यसबेला युरोप महादेश ट्रपिकल रोगहरूमाथि अनुसन्धानमा अग्रणी थियो र उनी आफ्नो ज्ञानको दायरा बढाउन त्यसतर्फ लागेकी थिइन्।

ग्लास्गोको रोयल कलेज अफ फिजिसियन्स एन्ड सर्जनको अभिलेखमा उनलाई उद्धृत गर्दै लेखिएको छ "मेरो देशमा मेरा दिदीबहिनीहरूप्रति मेरो ठूलो जिम्मेदारी छ।"

 द रोयल कलेज अफ फिजिसियन एन्ड सर्जन्स अफ ग्लास्गो सन् १५९९ मा स्थापना गरिएको हो

तस्बिर स्रोत, Courtesy of The Royal College of Physicians and Surgeons of Glasgow

तस्बिरको क्याप्शन, द रोयल कलेज अफ फिजिसियन एन्ड सर्जन्स अफ ग्लास्गो सन् १५९९ मा स्थापना गरिएको हो

भारत फर्केपछि उनी द विमिन्स मेडिकल सर्भिसमा आबद्ध भइन् र आग्रा, शिमला र पुरी जस्ता शहरमा काम गरिन्।

आग्रामा स्थानीय तहमा ब्रिटिश डाक्टरहरू लक्षित भएको स्थानीय आन्दोलन भएका बेला उनीसँग त्यहाँको तनाव मत्थर बनाउने कार्यमा सहयोग लिइयो - महिला भारतीय डाक्टरका रूपमा उनको उपस्थितिले महत्त्वपूर्ण भूमिका खेल्यो।

महिलाहरूले विशेषगरी उनलाई खोज्थे, उनीहरूले उनलाई विश्वास गर्थे। बिरामीहरूले स्नेहपूर्वक उनलाई "सारीवाली डक्टराइन साहिबा" भन्थे। त्यसको अर्थ सारी लगाएकी महिला डाक्टर भन्ने हो।

शिमला र पुरीमा उनले प्रकोप र कठिन स्थितिमा - जसमा अरू डाक्टरहरू सहभागी हुँदैनथे - काम गर्थिन्।

त्यतिबेला कैयौँ महिलाहरू बच्चा जन्माएपछि हुने सङ्क्रमणबाट प्रभावित हुन्थे। त्यसको उनले डटेर समाधान खोजिन्। "मातृ स्वास्थ्यमा ठूलो सुधार भएको छ," उनले गर्वसाथ आफ्नो जर्नलमा लेखेकी छन्।

उनले लगाउने लुगामाार्फत् पनि शान्त रूपमा आधुनिकतालाई प्रवर्धन गर्ने गरेकी थिइन्।

सेनले व्यावहारिक प्रकारको कार्यशैली अपनाएकी थिइन्। एउटा सारी र कलर भएको लामबाउले ब्लाउज जुन पुरानो भारतीय महिलाहरूको पहिरनभन्दा फरक थियो र त्यो बैठक कोठामा बस्दा लगाइनेभन्दा अस्पतालका लागि उपयुक्त थियो - उनको पहिरन हुने गर्थ्यो।

सेनको व्यक्तिगत जीवनका आफ्नै समस्या पनि थिए।

नेपालमा एक शिशु भुटुलाई उनले धर्मपुत्री बनाइन्। भुटुकी आमाले बच्चा जन्माउने क्रममा ज्यान गुमाउन पुगेकी थिइन्। उनले महिलाहरूप्रति असहिष्णु समयमा र परम्परागत बङ्गाली समाजको सीमाभित्र पेशागत जिम्मेदारी र निजी कर्तव्यबीच सन्तुलन कायम राखिन्। तर पछि कलकत्तामा एक गम्भीर बिमारले बालिकाको मृत्यु भयो जुन उनका लागि ठूलो व्यक्तिगत नोक्सानी थियो।

उनका जीवनी लेखकले संरक्षण गरेर राखेका सेनको जीवनका केही वस्तु अझ पनि छन्।

तीमध्ये नेपालका राजाले दिएको घडी एक हो जसलाई उनले आफ्नो सारीमा टाँसेर लगाउँथिन्। एक तिब्बती त्सोग चम्चा जुन उनको चिकित्सा सेवाको सम्मानस्वरूप उपहार दिइएको थियो।

उनका दुई धमिला श्यामश्वेत तस्बिर मात्र बचेका छन् जसलाई अहिले ग्लास्गो कलेजको अभिलेखालयमा बुझाइएको छ।

चक्रवर्तीले लेखेको जीवनी एक त्यस्ती महिलाको हो जसको व्यक्तित्व महत्त्वाकाङ्क्षा र सङ्घर्षले बनाएको थियो।

एक चिकित्सकले स्वतन्त्रतापूर्वको भारतमा जातिवाद र ब्रिटेनमा लिङ्गभेद सामना गर्नुपर्‍यो तर पनि उनी आफ्नो पेशामा अडिग रहिन्।

"डा. जामिनी सेनलाई सम्मान गर्दा" चक्रवर्ती लेख्छिन् "हामीले एक जना डाक्टरलाई मात्र सम्मान गरेको नभएर एक पथप्रदर्शकलाई पनि सम्मान गरेका छौँ जसको साहसले भारत, ब्रिटेन र अन्य स्थानमा महिलाको विभिन्न पुस्तालाई आधार तयार गरिदिएको थियो।"

सेन सन् १९३२ मा दिवङ्गत भइन्। दशकौँसम्म उनको नाम गुमनाम रह्यो। सन् २०२४ मा उनले पाएको ऐतिहासिक फेलोसिपपछि उनको तस्बिर ग्लास्गोमा अनावरण गरियो - त्यो खासमा एउटा प्रतीकको पुन: स्थापना थियो जसले इतिहासको दिशा बदलेको थियो।

उनको कथाले हामीलाई आधुनिक चिकित्साको निर्माण केवल युरोपेली कथा वा पुरुषको मात्र कथा होइन भन्ने देखाउँछ, सम्झाउँछ।

त्यो कथा सारीमा सजिएका महिलादेखि, राजदरबारको वार्ड, प्रकोपका केन्द्रहरू र परीक्षा हलहरूमा पनि लेखिएको थियो जहाँ एक दृढप्रतिज्ञ बङ्गाली महिलाले पछाडि हट्न इन्कार गरेकी थिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।